काठमाडौं, १० साउन । नेपाली कांग्रेस प्रतिपक्षमा रहँदा केपी ओली नेतृत्वको सरकारमाथि उसले लगाउने एउटा प्रमुख आरोप निर्मला पन्त हत्या प्रकरणमा सरकारको अक्षमता थियो । त्यतिवेला यो विषयलाई लिएर सरकारको चर्को आलोचना गर्ने कांग्रेस आफैँ सरकारमा पुगेको पनि एक वर्षभन्दा धेरै भइसकेको छ । तर, ऊ पनि निर्मला प्रकरण सुल्झाउन सकेको छैन ।
मंगलबार निर्मला हत्याको चार वर्ष पुग्दा अनुसन्धान जारी छ भन्नेबाहेक सरकार तथा प्रहरीसँग अरू कुनै जवाफ छैन । चार वर्ष निरन्तर अनुसन्धान गर्दा पनि प्रहरीले सफलता पाउन सकेको छैन ।
सिआइबीका प्रमुख एआइजी उत्तमराज सुवेदी भन्छन् ‘अनुसन्धानको नतिजा आउन ढिलाइ भइरहेकै हो, तर हामी छिटै अभियुक्त पत्ता लगाउने गरी काम गरिरहेका छौँ’
‘अनुसन्धानको नतिजा आउन ढिलाइ भइरहेकै हो, तर हामी छिटै अभियुक्त पत्ता लगाउने गरी काम गरिरहेका छौँ,’ सिआइबी प्रमुख एआइजी उत्तमराज सुवेदीले भने । घटनाको अनुसन्धानमा प्रदेश र जिल्लाको टोलीबाहेक अपराध अनुसन्धानमा दक्ष सिआइबीका एक इन्स्पेक्टर नेतृत्वको टोलीले अनुसन्धानमा विकसित भएका सूचनाहरू पुष्टि गर्ने काम गरिरहेको छ ।
नेपाल प्रहरीले यति धेरै साधन स्रोत र जनशक्ति खर्च गरेर निरन्तर चार वर्षसम्म यसरी अनुसन्धान गरेको पहिलो घटना भएको प्रहरी अधिकारीहरू बताउँछन् । १० साउन ०७५ मा महेन्द्रनगर, उल्टाखामकी १३ वर्षीया बालिका पन्तको बलात्कारपछि हत्या भएको थियो । भोलिपल्ट अर्धनग्न अवस्था उखुबारीमा उनको शव भेटिएको थियो ।
बलात्कारपछि घाँटी थिचेर उनको हत्या भएको मेडिकल रिपोर्टबाट पुष्टि भइसकेको छ । अनुसन्धानमा प्रहरीले लापरवाही गरेको भन्दै घटनाको भोलिपल्टैदेखि प्रहरीमाथि पीडित परिवार र सर्वसाधारणको अविश्वास बढेकोमा अनुसन्धान सफल नहुँदा प्रहरीले अझै त्यो विश्वास फर्काउन सकेको छैन । नयाँ पत्रिका दैनिकमा समाचार प्रकाशित छ ।