१६ लाख तिर्न नसकेपछि आफ्नै साथीको जंगलमा लगेर हत्या

1069
तस्विर सामाजिक सञ्जालबाट ।

बुटबल, १६ साउन । अर्घाखाँचीको पाणिनि २ हाल हाल रुपन्देहीको सैनामैना ६ कलौनी निवासी ४३ वर्षीय कुलचन्द्र गौतम दीपक र अर्घाखाँचीको मालारानी १ हाल बुटवल १५ बेलबास बस्ने ४४ वर्षीय विष्णु पाण्डे केही वर्षयता नजिकका साथी बनेका थिए ।

यही विश्वासमा पाण्डे आफैले चलाएको ट्रक १६ लाख मूल्याङ्कन गरी पछि रकम दिने गरी गौतमलाई पास दिएर उनको पहाड घरमा रकम लिन साउन ९ गते दुवै जना अर्घाखाँची गएका थिए ।

तर गौतमले पाण्डेलाई रकम दिन होइन सुनियोजित रुपमा हत्या गर्नका लागि अर्घाखाँची पुराएको एक सातामै पुष्टि भएको छ । यति घनिष्ठ सम्बन्ध भएका गौतमले पाण्डेलाई दिनुपर्ने १६ लाख नदिनका लागि विभिन्न योजना बनाएर हत्या गरेको सुन्दा उनीहरू दुवैलाई नजिकबाट चिनेकाहरू आश्चर्यमा परेका छन् ।

घटना विवरण अनुसार मृतक विष्णु पाण्डेको नाममा रहेको लु१ख ७७८१ नं को ट्रक १६ लाखमा गौतमलाई पास दिएपछि उक्त रकम गौतमले यहाँ दिन नसकेकोले पुर्ख्यौली घरमा पुगेर बुवा आमासँग मागेर दिने भन्दै साउन ९ गते गाडी रिजर्भ गरेर अर्घाखाँचीस्थित घरमा लगेका थिए । घरमा गएको भोलिपल्ट घर नजिकैको जंगलमा कालिज मार्न भनी पाण्डेलाई लगेर टाउकोमा फलामको रडले प्रहार गरी भीरबाट खसालेपछि गौतम बुटवलमा आएका थिए ।

उनी बुटवलमा आएपछि र पाण्डेले लगेको मोबाइलमा उनी गएको अर्को दिनपछि सम्पर्क नभएपछि पाण्डेको परिवारले गौतमलाई फोन गरेर खोजतलास गरे पनि आफूलाई जानकारी नभएको जवाफ दिएका थिए ।

मृतकका परिवारको तर्फबाट प्रहरीमा उजुरी दिने संकेत पाएपछि गौतमले आफ्नो परिवारलाई लगाएर उल्टै बेपत्ता भएको निवेदन प्रहरीमा दिए । त्यति बेलासम्म प्रहरीमा पाण्डेका परिवारले ठाडो उजुरी दिएका थिए, गौतमविरुद्ध । प्रहरीले यसैलाई आधार मानेर उनीहरुबीच कारोबार भएको ट्रक छोपेर अनुसन्धान थालेपछि गौतम सम्पर्कविहीन भएका थिए ।

१४ गते शनिवार दिउँसो पाण्डे अर्घाखाँचीको पाणिनि २ डाँडाकटेरीको सिद्ध सामुदायिक बनमा मृत अवस्थामा भेटिएका छन् । उता उनको शव भेटिएसँग भागेर भारत पुगेका गौतमलाई पनि प्रहरीले पक्राउ गरी आइतबार बिहान बुटवलमा ल्याएको छ ।

यति लामो समय बलियो साथीको सम्बन्ध बनाएका गौतमले हत्या गरेको धेरैलाई पत्यार नलागे पनि आइतबार उनी आफैले ऋण तिर्न नसकेपछि आवेशमा आएर हत्या गरेको बताएका छन् ।

गौतमले प्रहरीलाई दिएको बयान अनुसार रुपन्देहीको सैनामैनाको कलौनीमा घर बनाउँदा ऋणमा डुबेका थिए । बुटवलको मैनाबगरमा सञ्चालन गर्दै आएको मोटर पार्ट्स पसल समेत घाटा भएपछि साथीको ट्रक सित्तैमा हत्याउने र ट्रकबाट आम्दानी गरेर ऋण तिर्ने उद्देश्यले हत्याको योजना बनाएका थिए ।

मृतक पाण्डेका दाई तेजबहादुर पाण्डेले प्रहरी कार्यालय बुटवलमा किटानीसहित जोहेरी दिएका छन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।