‘नेपालको पर्यटन विकासमा युवाको भूमिका महत्वपूर्ण छ’

138

काठमाडौँ ।  नेपालको पर्यटन विकासमा युवाको भूमिका महत्वपूर्ण रहेको बताइएको छ । विश्व युवा दिवसका अवसरमा ठमेल युनेस्को क्लबले आज शान्ति विद्यागृह लैनचौरमा आयोजना गरेको कार्यक्रममा नेपालका युवालाई पर्यटन क्षेत्रमा लगाउन सकेमात्र देशको विकास हुने बताएका हुन् ।

कार्यक्रममा काठमाडौँ महानगरपालिका–२६ का वडाध्यक्ष ख्यामराज तिवारीले नेपालको पर्यटन क्षेत्रका बारेमा विश्वमाझ चिनाउन नेपाली युवाको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । “नेपाल आउने ८० प्रतिशत पर्यटक ठमेल आउने गरेका छन्, पर्यटकको सहयोगीका रूपमा युवाले नेपालको पर्यटन क्षेत्रका बारेमा विदेशीलाई जानकारी दिनसके युवाको आयआर्जनमा समेत सहयोग पुग्नेछ”, उहाँले भन्नुभयो । नेपालको पर्यटन क्षेत्रमा अथाह सम्भावना रहेको उहाँको भनाइ थियो । ठमेल पर्यटन विकास परिषद्का पूर्वध्यक्ष एवं पर्यटन व्यवसायी डा रामशरण थपलियाले पछिल्लो समय पर्यटन क्षेत्रमा युवा सहभागिता बढ्दै गएको बताउनुभयो । “पछिल्लो समय होटल व्यवस्थापन पढाउने कलेज र नाथमले पर्यटन शिक्षा सुरु गरेका छन्, यसले नेपालको पर्यटन क्षेत्रलाई सहयोग पुग्ने विश्वास हामीले लिएका छौँ”, उहाँले भन्नुभयो । डा थपलियाले देशको पर्यटन क्षेत्रको विकास गर्नका लागि आन्तरिक पर्यटकलाई प्रवद्र्धन गर्नुपर्ने उल्लेख गर्नुभयो ।

पर्यटन व्यवसायी रमेश त्रिपाठीले कोरोनाले थलिएको नेपालको पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्नका लागि युवाको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । शान्ति विद्यागृह माध्यमिक विद्यालयकी प्राचार्य शिवकुमारी बराल घिमिरेले देशको अर्थतन्त्रको विकासमा पर्यटन क्षेत्रको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो । ठमेल युनेस्को क्लबका अध्यक्ष अनिल सिलवालले युवाले पर्यटन क्षेत्रको विकासमा अग्रणी भूमिका खेल्नसक्ने भएकाले युवालाई पर्यटन क्षेत्रमा अगाडि बढाउनुपर्ने धारणा राख्नुभएको थियो । कार्यक्रममा युनेस्को अफिस काठमाडौका युवा बिभाग प्रमुख श्री सबिन लामिछाने, युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगका सचिवालय सचिब श्री गोबिन्द प्रसाद अर्याल लगायतले पनि मनत्ब्य ब्यक्त गर्नु भएको थियो।

कार्यक्रम संचालन युनेस्को महासंघका महासचिव श्री युबराज न्यौपाने ज्युले गर्नु भएको थियो। उहाँ युनेस्कोको बिज्ञ पनि हुनुहुन्छ। कार्यक्रममा सोहि स्कुलका उप प्राचार्य श्री कमल काफ्ले, युनेस्को महासंघकी सह-कोषाध्यक्ष श्री कुमुदा नेपाल, द पावर न्युजका निर्देशक श्री दिपक न्यौपाने, पर्यटन ब्यवसायी श्री बिष्णु पाण्डे, युनेस्कोकर्मी श्री अनिरुद्र गैरे लगायतको पनि उपस्थिती थियो।