प्रचण्ड र बाबुरामको मिलन, हँसिया हथौडा चिन्हसहित चुनावमा लड्ने सहमती

138

काठमाडौं, २९ साउन । प्रचण्ड र बाबुरामको मिलन, हँसिया हथौडा चिन्हसहित चुनावमा लड्ने सहमती भएको छ । नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीका शीर्ष नेताहरू एउटै चुनाव चिह्नमा प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा भाग लिन तयार भएका छन् ।

माओवादी अध्यक्ष प्रचण्ड र समाजवादी पार्टीका अध्यक्षद्वय डा. बाबुराम भट्टराई र महेन्द्र राय यादवबीच भएको भेटवार्तामा एउटै (हँसिया हथौडा) चुनाव चिह्न लिएर चुनावमा भाग लिन तयार भएको माओवादी नेता वर्षमान पुनले बताए ।

दुई दलका शीर्ष नेताहरूबीच गठबन्धन बनाउन लगातार छलफल भइरहेको छ । यसबारेमा आ–आफ्नो दलमा छलफल गरेर निर्णय गर्ने सहमती भएको नेपाल समाजवादी पार्टीका अध्यक्ष यादवले जानकारी दिए ।

भेटवार्तामा नेसपाका नेताहरूले प्रतिनिधि सभामा केही सिट निश्चित गर्नुपर्ने बताएका छन् । एउटै चिह्न लिएर चुनावमा जाने र चुनावपछि पार्टी एकता गर्ने विषयमा पनि प्रचण्ड र बाबुराम सहमत हुनुभएको यादवको भनाइ छ ।