काँग्रेस लुम्बिनीका प्रभावशाली नेताः कस्तो छ चुनावको तयारी ?

611

घनश्याम पौडेल
बुटबल, ३० साउन । नेपाली काँग्रेसका लुम्बिनी प्रदेशका प्रभावशाली नेता निर्वाचनको तयारीमा लागेका छन् । निर्वाचनको मिती नजिकिएसँगै काँग्रेस लुम्बिनी प्रदेशका नेता चुनावको दौडधुपमा छन् । जिल्ला जिल्लामा निर्वाचनको लागी कार्यकर्ता भेटघाटमा व्यस्त छन् । कतिपय नेताहरु गठबन्धनको सिट पार्नका लागी लविङमा छन् ।

बालकृष्ण खाँण
रूपन्देहीको क्षेत्र ३ नम्बरबाट काँग्रेसका केन्द्रीय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाँणको निर्वाचन क्षेत्र हो । गत निर्वाचनमा राप्रपाका नेता दीपक बोहोरालाई छोडेर समानुपातिकमा बसेका गृहमन्त्री बालकृष्ण खाणले यसपटक प्रत्यक्ष निर्वाचन लड्ने गृहकार्यसहित तयारी गरेका छन् । गठबन्धनका कारण गृहमन्त्री खाँणलाई जित्न सहज छ ।

 

चन्द्र भण्डारीगुल्मीको क्षेत्र नम्बर १ बाट सधै चुनाव लड्दै आएका चन्द्र भण्डारीको चर्चा गुल्मीमा नै छ । २०७० सालमा संविधान सभा सदस्यमा निर्वाचित भण्डारी २०७४ सालको निर्वाचनमा एमाले नेता प्रदिप ज्ञवालीसँग पराजित भए । ७४ मा ज्ञवालीले ३७८१४ मत ल्याउँदा भण्डारी ३०२५६ मा ल्याएका थिए थिए ।

स्थानीय तहको निर्वाचनमा वडागत मतमा गठबन्धन दल बलियो छ। चन्द्र भण्डारी प्रभावशाली नेता भएकाले गठबन्धन जित सहज भएको काँग्रेस नेता दाबी गर्छन् । गुल्मी छोडेर बुटबलमा चुनाव लड्ने चर्चा आएपनि भण्डारी गुल्मीबाटै निर्वाचन लड्ने चर्चा छ ।

डा. गोविन्दराज पोख्रेल
नेपाली काँग्रेसका प्रभावशाली युवानेता डा. गोविन्दराज पोख्रेलको निर्वाचन क्षेत्र प्यूठान हो । मसालका महामन्त्री मोहनविक्रम सिंहको गृहजिल्ला हो। प्यूठानबाट सिंह पत्नी राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल वाम गठबन्धनबाट २०७४ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी थिइन्। अहिले पनि प्यूठानबाटै प्रतिनिधिसभा सदस्यको उम्मेदवार दाबी गरिरहेकी छन्। एउटा निर्वाचन क्षेत्र रहेको प्यूठानबाटै कांग्रेस केन्द्रीय सदस्य एवं राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा.गोविन्द पोखरेलले उम्मेदवारीको आकांक्षा देखाएका छन्।

२०७४ को चुनावमा पौडेल १६ हजार २२८ मतान्तरले विजयी भएकी थिइन्। उनले ४१ हजार ५१४ र निकटतम प्रतिस्पर्धी पोखरेलले ३१ हजार २८६ मत पाएका थिए। प्यूठानमा वडा अध्यक्षले पाएको मतलाई आधार मान्ने हो भने एमाले सबैभन्दा ठूलो दल देखिन्छ। दोस्रोमा कांग्रेस र तेस्रोमा माओवादी छ। गठबन्धनमा रहेका दलमध्ये सबैभन्दा बढी भोट भएको भन्दै कांग्रेसले प्यूठान छाड्न नहुने अडानमा नेताहरू देखिन्छन्।

दिपक गिरी
नेपाली काँग्रेसका नेता दिपक गिरी दाङको क्षेत्र नम्बर ३ बाट उम्मेदवार बन्ने तयारीमा छन् । दाङमा ३ निर्वाचन क्षेत्र छन् । जसमा गठबन्धन हुदाँ माओवादी नेता कृष्णबहादुर महरा, नेकपा एसका शहरी विकास मन्त्री मेटमणि चौधरी छन् । उनीहरुको क्षेत्र १, २ हो । नेकपा एसकै स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीले दाङको क्षेत्र नम्बर ३ बाट पुनः उम्मेदवारीको आकांक्षा राखेका छन्। तर केसीले आकक्षा राखेपनि महरा र चौधरीले गठबन्धनबाट सिट पाउँदा दाङमा एसको कमजोर भएकाले दुई क्षेत्र पाउँने सम्भावना छैन ।

दीपक गिरीको बलियो दाबेदारीका कारण दाङ–३ को सिट पाउँने देखिन्छ । २०७४ मा केसी ६ हजार ५५७ मतान्तरले विजयी भएका थिए। केसीले ४० हजार २८७ र गिरीले ३३ हजार ७३० मत प्राप्त गरेका थिए। यो निर्वाचन क्षेत्रमा एमालेको ३८ हजार ६५८, कांग्रेसको ३० हजार ९८९, माओवादीको १२ हजार ८८० र नेकपा एसको १ हजार ९३८ भोट देखिन्छ।

अम्मरसिंह पुन
रोल्पामा पनि गठबन्धनमा आबद्ध कांग्रेस र माओवादीका दुई पुनबीच सिट कसले हात पार्ने भन्नेमा टकराव छ। रोल्पामा कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन र माओवादी नेता वर्षमान पुन दुवै आउँदो निर्वाचनमा उम्मेदवार बन्ने रस्साकस्सीमा लागेका छन्। काँग्रेस सभापति पुन अहिले गठबन्धन गर्नेगरी तयारीमा लागेका छन् । अमरसिंह २०७४ मा वर्षामानसँग पराजित भएका थिए। माओवादीको सबैभन्दा सुरक्षित मानिने यो क्षेत्रमा स्थानीय तह चुनावमा समेत ऊसँग तालमेल नगरी कांग्रेसले एमालेसँग तालमेल गरेको थियो।

२०७४ मा वर्षामानले ४२ हजार ८४ मत ल्याउँदा अमरसिंहले २० हजार ३३७ मत पाएका थिए। स्थानीय तह चुनावको नतिजाअनुसार माओवादीलाई पराजित गर्न बाँकी सबै दल एकै ठाउँ हुनुपर्ने अवस्था छ। स्थानीय तह चुनावमा माओवादीको ४० हजार ७९१, कांग्रेसको २४ हजार ६६४, एमालेको १५ हजार ३०१, राप्रपाको १ हजार २१८ र नेकपा एसको ९५० भोट देखिन्छ।

किशोरसिंह राठौर
नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर साविकको निर्वाचन क्षेत्र बर्दिया–२ छाडेर छाडेर बाँके आउने चर्चा छ ।

बर्दियाको राजापुर क्षेत्र छाडेर राठौर अहिले बाँकेको क्षेत्र नम्बर ३ मा आउने चर्चा चर्चा चुलिएको हो । बाँके–३ का सभापति नक्की खाँले राठौरको यो क्षेत्रमा आउने तयारी भएको बताए ।

राठौर २०७४ सालको निर्वाचनमा समानुपातिकबाट सासंद बनेका थिए । देउवाँका नजिकका पात्र भएकाले बाँके–३ मा राठौरले क्षेत्र पाउँने सम्भावना छ ।

पुष्पा भुसाल
उपसभामुख पुष्पा भुसाल प्रत्यक्ष निर्वाचनको तयारीमा छन् । अर्घाखाँचीबाट २०६४ सालमा संविधान सभा सदस्य निर्वाचित भुसाल २०७४ सालको निर्वाचनमा समानुपातिक सासंद हुन ।
२०६४, २०७०, २०७४ सालसम्म निरन्तर अर्घाखाँचीबाट निर्वाचित एमालेका सचिव टोपबहादुर रायमाझीसँग निर्वाचन लड्नुपर्ने हुन्छ ।


२०७४ मा बामगठबन्धन हुदाँ रायमाझीले ५०८३७ मत ल्याउँदा प्रतिस्पर्धी काँग्रेसका रामबहादुर बिसीले ३२५४४ मत ल्याएका थिए । वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा एमाले ४८२६०, कांग्रेस ३७९२५ माओवादी ७७९०, राजमो ४२९४, एसका वडाध्यक्षका उम्मेदवारले ३७६३ मत पाएका छन् । स्थानीय तहको मतका आधारमा गठबन्धनको मत बढी छ । तर अर्घाखाँचीबाट प्रतिनिधीसभामा धेरै आकाक्षीं छन् । भुसाल उपसभामुख भएका कारण जिल्लामा आएर चुनावको तयारी भने गरेकी छैनन् ।

देवेन्द्रराज कंडेल
नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्व गृहराज्य मन्त्री देवेन्द्रराज कँडेल २०७४ सालमा बामगठबन्धन हुदाँ पनि विजयी उम्मेदवार हुन ।

नबलपरासी पश्चिमबाट विजयी कंडेल निकटतम प्रतिद्वन्द्वी बाम गबठन्धनका उम्मदेवार एवं माओबादी केन्द्रको पोलिटब्युरो सदस्य घनश्याम यादवलाई १० हजार २ सय ३२ मतले पराजित गरेका हुन् । कंडेलसँग प्रतिनिधी सभामा नेपाली काँग्रेस लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनालले निर्वाचन लड्ने तयारी गरेपनि कंडेल बलिया नेता हुन ।

सञ्जय गौतम
२०७४ सालको निर्वाचनमा सबैभन्दा चर्चामा आएका काँग्रेस नेता सञ्जय गौतम । देशभर बामगठबन्धनले जित हात पार्दा गौतमले नेकपा एमालेका प्रभावशाली नेता बामदेव गौतमलाई पराजित गरेर चर्चामा आए । बर्दिया–१ बाट नेपाली काँग्रेसका उम्मेदवार सञ्जय गौतमले वाम गठबन्धनका सुत्रधार एमाले उपाध्यक्ष गौतमलाई गौतम विजयी भएका हुन्।

काँग्रेसका गौतमले ४४ हजार ८ सय २९ ल्याएर विजयी भए। उपाध्यक्ष गौतमले ४४ हजार ७६ मत प्राप्त गरेका छन्।
काँग्रेसका उम्मेदवारले ल्याएको मत एमाले उपाध्यक्ष गौतमको भन्दा ७ सय ५३ बढी थियो । बामदेवलाई पराजित गरेका गौतम अहिलेपनि बर्दिया–१ बट निर्वाचन लड्ने तयारीमा छन् ।