– विष्णुप्रसाद पन्थी
“संसार नाट्यशालामा खेला जन्म र मृत्युको ।
देखाएर लुकी बस्ने सूत्राधार कहाँ छ त्यो ? ।। ”
उपर्युक्त पङ्तिका रचनाकार कवि वेणीमाधव ढकाल हुनुहुन्छ । प्रस्तुत पद्य वहाँँको शोककाव्य “अर्जुन”बाट समुद्धृत गरिएको हो । २०८१ साल वैशाख १८ गते मङ्गलबारका दिन ७७ वर्षको उमेरमा ढकालज्यूको निधनको लीला देखाएर त्यो सूत्रधार यतिखेर पनि लुकी बसेको छ । यसबाट सिंगो देश शोकविह्वल र भावविह्वल बनेको छ । कवि, प्राध्यापक एवं विशिष्ट अनुसन्धाता प्रा.डा.वेणीमाधव ढकालज्यूको जन्म वि.सं. २००४÷०९÷११गते पश्चिम नेपालको पाल्पा पोरकनीमा एक सुसंस्कृत पण्डित परिवारमा भएको थियो । वास्तवमा सरस्वतीका वरदपुत्रकै रूपमा यस धर्तीमा अवतरित ढकाल आफ्नो जीवनको सार्थकता सिद्ध गर्न सफल हुनुभएको छ । ११ वर्षको कलिलो उमेरमा नै विद्याको तीर्थ मानिने बनारसमा गएर अध्ययन प्रारम्भ गर्नुभई हरिद्वार र हृषिकेशमा समेत गई अध्ययन गर्नु भएका र विद्यार्थी जीवनमा उत्कृष्ट नै बन्नुभई भारतका विभिन्न विश्वविद्यालयमा औपचारिक रूपमा संस्कृत साहित्यविषय प्राध्यापन गर्नुभएको पाइन्छ । योगी नरहरिनाथ तथा डाक्टर स्वामी प्रपन्नाचार्यज्यूको सान्निध्यमा रहेर वहाँले सरयू संस्कृत विश्वविद्यालय उत्तराखण्डमा साहित्य विभागको अध्यक्ष बनी प्राध्यापन गर्नुभएको र पछि भारतको शंकराचार्य नगरको स्नातकोत्तर संस्कृत विश्वविद्यालयमा विशिष्ट विद्वान् रामचन्द्र मालवीय तथा आचार्य पूर्णचन्द्र ढुंगेलसँगै प्राध्यापन गरेको इतिहास छ ।
२०३२ सालपछि आफ्नै जन्मभूमि नेपालमा आई सेवा गर्ने मौका ढकाल ज्यूलाई मिलेको थियो । काठमाडौं स्थित गृह मन्त्रालयको अनुसन्धान अधिकृतका रूपमा करिब एकवर्ष काम गर्नुभएको र पछि २०३४ साल भदौ १ गतेबाट त्रिभुवन विश्वविद्यालयको वाल्मीकि विद्यापीठमा संस्कृत–साहित्य विषय प्राध्यापनार्थ प्रवेश गर्नुभई प्राध्यापन सेवामा ३५ वर्षभन्दा बढी योगदान गर्नुभएको देखिन्छ । नेपाल संस्कृत विश्वविद्यालयको सेवा आयोगको अध्यक्ष पदमा लगातार दुई कार्यकाल व्यतीत गर्नुभएका ढकालले नेपाल संस्कृत विश्वविद्यालयको अनुसन्धान केन्द्रको निर्देशक र विश्वविद्यालयबाट प्रकाशित हुने अनुसन्धानात्मक पत्रिका “ऋतम्भरा” को लगातार दश वर्षभन्दा बढी सम्पादकको रूपमा कार्य गर्नुभयो र विश्वविद्यालयबाट प्रकाशित दर्जनौं पुस्तकको सम्पादन समेत गर्नुभयो । यी त भए एक व्यक्ति वा प्राध्यापकले आपूm काम गर्ने संस्थामा बसेर संस्थागत रूपमा गरेका प्राज्ञिक कर्महरू । यसका अतिरिक्त वहाँले आफ्नो फुर्सदको समयमा व्यक्तिगत प्रयत्न र प्रचुर प्राज्ञिक क्षमता तथा अपार स्पूmर्ति र जागरणका कारण संस्कृत एवं नेपाली वाङ्मयका निम्ति तिर्नै नसक्ने गरी ऋण बोकाएर जानुभएको छ । यसबाट सिंगो राष्ट्र वहाँप्रति सदैव नतमस्तक हुनै पर्दछ । विशिष्ट अनुसन्धाता ढकालज्यूको व्यक्तित्व स्रष्टा, द्रष्टा र व्याख्याता, यी तीनवटै दृष्टिले विशिष्ट रहेको देखिन्छ ।
स्रष्टा व्यक्तित्व
स्रष्टा अर्थात् लक्ष्य ग्रन्थका रचनाकार कवि साहित्यकारका रूपमा वहाँको विशिष्ट योगदान रहेको छ । संस्कृत र नेपाली दुवै भाषामा वहाँका दर्जनौं कृतिहरू प्रकाशित भएका छन् र केही अप्रकाशित कृतिहरू छन् । वहाँका काव्यहरूमाथि विश्वविद्यालय तहमा शोध प्रबन्धहरू पनि लेखिएका छन् । वहाँ स्थापित साहित्यिक गुणसम्पन्न काव्य रचनाकार हुनुहुन्छ । कोमल–कान्त सुललित पदावली विन्यास गरेर काव्य–रचना गर्नमा माहिर महाकवि वेणीमाधव ढकालका पृथूदयमहाकाव्य, मार्गभ्रष्टः, चेतरामचरितम् संस्कृत भाषामा रचना गरिएका काव्यहरू हुन् । शैलेश, जय ज्योतिष्मती मुमा, अर्जुन, दिव्यलक्ष्मी, सौता, त्रिशूल, कुलो, जानकी, उपराग, टुहुरो, ऐन, रश्मिप्रभास जस्ता काव्यहरू नेपाली भाषामा रचना गरिएका छन् । केही प्रकाशित र केही अप्रकाशित समेत छन् । पाँचवटा महाकाव्य र ११ वटा खण्डकाव्यहरूका अतिरिक्त लघुतम संस्कृत पद्यहरू र फुटकर कविताहरू नेपाली हिन्दी एवं संस्कृत तिनै भाषामा रचिएका छन् र विभिन्न पत्रपत्रिकाहरूमा समेत प्रकाशित भएका देख्न पाइन्छन् ।
कवि ढकाल कविता रचनाका अतिरिक्त उपन्यास लेखनमा सशक्त हस्ताक्षर हुनुहुन्छ । वहाँका उपन्यास भने हालसम्म अप्रकाशित नै छन् । वहाँले नेपालीमा दक्षिणा र पद्मिनी तथा संस्कृतमा मनस्विनी उपन्यासको रचना गर्नु भएको छ । साहित्यकार ढकालको साहित्यिक विशिष्ट पाटो भनेको नाटक विधा हो । वहाँका मौलिक नाटक रचनाहरूमध्ये अतृप्ति, अन्तरात्माको आवाज, माटाको पुकारनामक कृतिहरू अप्रकाशित नै छन् । वहाँले संस्कृत नाटक लेखन तथा निर्देशन आदि कार्य गरी ख्याति कमाउनु भएको थियो । “काव्येषु नाटकं रम्यम्” भन्ने उक्ति दोहो¥याई रहने कवि तथा नाटककार वेणीमाधव ढकालको नाट्य–साहित्यमा अतिरिक्त दख्खल थियो । हिन्दी भाषामा लेखिएका त्रिशक्ति माताजी की जीवनी, योगदान और विलक्षण लीला र स्वर्गद्वारी के महाप्रभु यी दुई जीवनी नेपाल र भारतमा समेत बहुचर्चित छन् ।
द्रष्टा व्यक्तित्व ः
प्रा.डा. ढकालको दृष्टिशक्ति उच्चस्तरीय छ । वहाँ काव्यहरूको समीक्षा र सम्पादनको क्षेत्रमा निर्वाध रूपमा गतिशील देखिनुभएको छ । लिच्छविकालिकानामभिलेखानां साहित्यिकमनुशीलनम् शीर्षकमा अनुसन्धान गरी संस्कृत भाषामा शोधप्रबन्ध तयार गरी विद्यावारिधि उपाधि प्राप्त गर्नुभएका ढकालले त्यसबेलाका अभिलेखहरूको सफल समीक्षण गर्नुभएको छ । यस कार्यको भारतीय विशिष्ट विद्वान्हरूले समेत मुक्तकण्ठले प्रशंसा गरेका छन् । यसलाई अत्युत्कृष्ट शोध प्रबन्धको रूपमा चर्चा गरेका छन् । त्यसरी नै प्रा.डा. ढकालले संस्कृतका थुप्रै काव्यहरूको टीका, टिप्पणी र व्याख्या लेख्नुभएको छ । हरिकेलिमहाकाव्यको सम्पादन, कार्तवीेर्योदय महाकाव्य समीक्षण तथा केही सर्गहरूको व्याख्या र टिप्पणी समेत गर्नुभएको संस्कृत–नेपाली काव्य परम्पराका यी दुई महाकाव्यको सम्पादन गरी संस्कृत काव्याकाशमा महनीय योगदान पु¥याउनु भएको छ । संस्कृतका महाकवि सुकृतिदत्त पन्तद्वारा रचना गरिएको कार्तवीेर्योदय महाकाव्यको प्रारम्भिक सम्पादन डा.स्वामी प्रपन्नाचार्यले गर्नुभएको थियो भने त्यसमा थप योगदान प्रा.डा. ढकालले पु¥याउनु भएको छ । अर्का नेपाली कवि वंशमणि झाद्वारा संस्कृत भाषामा रचना गरिएको हरिकेलिमहाकाव्यको विशद विश्लेषण र टिप्पणी गरी संस्कृत साहित्य क्षेत्रमा योगदान पु¥याउनुभएका अनुसन्धाता प्राध्यापक ढकालले आफ्नो व्यक्तित्व यसमा उजागर गर्नुभएको छ ।
प्रा.डा.ढकालले सनातन धर्म र संस्कृतिले अनुप्राणित नेपाली समाजका आस्थाका केन्द्र मानिने तथा वैदिक वाङ्मयका व्याख्याका रूपमा रहेका प्रचलित महापुराणहरू र विशिष्ट धर्मग्रन्थहरूको खोजमूलक विस्तृत भूमिकासहित अनुवाद गरी नेपाली समाजलाई कहिल्यै नबिर्सने गुन लगाउनुभएको छ । वहाँको यो अतुलनीय स्तुत्य कर्मको जति नै प्रशंसा गरेपनि पुग्दैन । लामो अनुसन्धानात्मक भूमिका सहित गणेश पुराणको नेपाली अनुवादले सनातन नेपाली समाजलाई विनायक उपासनाका लागि सार्थक योगदान दिएको छ । नेपालका विभिन्न भागमा भएका गणेश मन्दिरहरू, तिनको ऐतिहासिकता, पूजा परम्परा आदि विषयको गहिरो खोज अनुसन्धान गरी भूमिका तयार गर्नुभएका ढकालले नेपाली समाजको अर्को त्यस्तै महापुराण देवीभागवतको समेत अनुसन्धानमूलक विपुल भूमिका सहित नेपाली अनुवाद नेपाली समाजका निम्ति पस्कनु भएको छ । “कलौ कालिविनायकौ” भन्ने युगसापेक्षित उपासना कर्ममा निरत धर्मपरायण सनातनीहरूका निमित्त यो भन्दा अर्को ठूलो गुन केही हुन सक्दैन ।
प्रा.डा. ढकाल भगवान् गणेशका भक्त एवं देवीका उपासक हुनुहुन्थ्यो । सनातन धर्मप्रति आस्थावान् संस्कृतविद्या–शिरोमणि ढकालले जीवनको उत्तराद्र्धमा आपूmले नै अनुवाद गर्नुभएको नेपाली समाजमा जनजनमा लोकप्रिय रहेको “कलौ केशव कीर्तनम्” लाई सार्थक तुल्याउने श्रीमद्भागवत महापुराणको नियमपूर्वक श्रवण गर्नुभई महाराज परीक्षितले जस्तै मुक्तिको इच्छा गर्नुभएका ढकालको परलोक तत्कालै तय हुनुमा वहाँलाई दृढ भक्तिशक्ति र मुक्तियात्राको सोपान पहिल्याउने सिद्धपुरुषका रूपमा लिन सकिन्छ । वहाँले धर्मशास्त्रीय निर्णयका निमित्त प्रचलित पुस्तक निर्णय सिन्धुको समेत लामो भूमिका सहित अनुवाद गर्नुभएको छ । नेपालको पौराणिक महिमा प्रकट हुने हिमवत्खण्ड, शिवमहापुराण, आह्निक सूत्रावलीजस्ता भीमकाय ग्रन्थहरूको अनुसन्धानात्मक भूमिका खण्ड सहित नेपाली अनुवाद गर्नु भएको छ । खप्तड स्वामीद्वारा रचित धर्म–विज्ञानका चारै भागका सम्पादक समूह मार्फत् नेपाली भाषानुवाद गर्नुभएको छ । विवाह पद्दतिको नेपाली भाषानुवादसँगै चन्द्रसम्भव महाकाव्यको सम्पादन, हरिहर प्रार्थना पुष्पाञ्जलीको सम्पादन, स्तुति–कुसुमाञ्जलीको सम्पादन लगायतका अन्य थुप्रै ग्रन्थहरूको सम्पादन गर्नुभएको छ ।
विभिन्न संघ संस्थाद्वारा प्रकाशित विभिन्न पत्रपत्रिकाहरूको सम्पादक भएर वहाँले छात्र जीवनदेखि नै काम गर्नुभएकाले वहाँ काव्य सम्पादन कलामा समेत निपुण भएको पाइन्छ । विभिन्न ग्रन्थका पाण्डुलिपि सम्पादन समेत गरी नेपालको प्राज्ञिक, पुरातात्त्विक क्षेत्रमा ठूलो योगदान प्रा.डा. ढकालले पु¥याउनुभएको छ ।
विद्यावारिधिका पचासौँ शोधकर्ताको निर्देशक र विशेषज्ञ भई अनुसन्धानात्मक निर्देशन दिनुभएका प्रा.डा. ढकालले अनौपचारिक रूपमा सयौंलाई प्राज्ञिक र अनुसन्धानको दिशानिर्देश गर्नु भएको छ । विद्यालय तहदेखि विश्वविद्यालय स्तरसम्मका प्रायः सबै कक्षाका संस्कृत भाषा एवं साहित्यका पाठ्यक्रम निर्माणदेखि पाठ्यपुस्तक लेखनसम्मका काम कुशलतापूर्वक सम्पन्न गर्नुभएका ढकालको लेखन कुशलतासँगै जाँगर र सक्रियता आश्चर्यजनक देखिन्छ । व्यक्तिगत तहबाट यस्ता गहन र महनीय अनुुसन्धानमूलक कार्य गर्नु दैवी शक्तिका कारण मात्र सम्भव हुनसक्छ भन्ने कुरामा कुनै सन्देह छैन ।
व्याख्याता व्यक्तित्वः–
एउटा सफल प्राध्यापकमा हुनुपर्ने गुण भनेको व्याख्यात्मकता अथवा व्याख्या– क्षमता हो । प्राध्यापक ढकालमा विषयवस्तुको व्याख्या गर्ने एक विशिष्ट र अद्वितीय क्षमता देखिन्छ । काव्यदीपिका लक्षणग्रन्थको संस्कृत एवं नेपाली व्याख्या, कार्तवीर्योदय मकरन्दको व्याख्यात्मक शैली, विभिन्न अनूदित ग्रन्थहरूमा गरिएका व्याख्या र टिप्पणीहरू कोमलबुद्धि भएका जो कोही पाठकलाई सरल र सरस ढंगले बुझ्न सक्नेगरी प्रस्तुत गरिएका छन् । संस्कृत साहित्यका लक्षणग्रन्थ र लक्ष्य ग्रन्थहरूको व्याख्या र टीका लेखनमा प्राध्यापक ढकालको चामत्कारिक क्षमता देखिन्छ । संस्कृतको सामान्य ज्ञान समेत नभएका मानिसहरू समेत वहाँका टीका र व्याख्या पढेर विषयबोध गर्न सक्षम हुन्छन् । समीक्षा र व्याख्या नितान्त फरक विषय हुन् । विषयवस्तुको व्याख्याले मात्रै कृतिको गहिराईसम्म पुग्न सघाउ पु¥याउँछ र त्यसको निष्कर्ष निकाल्न पाठक वा अनुसन्धातालाई सहयोग पु¥याउँछ । एक सफल प्राध्यापकले पाठ्य विषयलाई बुझ्ने गरी व्याख्या गर्न सक्नुपर्दछ । संस्कृत तथा नेपाली व्याख्याका निम्ति विभिन्न नाममा टीका लेखेर विषय–वस्तुलाई स्पष्ट पार्न प्रा.डा. ढकालले भगीरथ प्रयत्न गर्नुभएको देखिन्छ । विविध काव्य र काव्यशास्त्रका चूडामणि–टीका, मीठा–टीका, दिव्यलक्ष्मी–टीका, त्रिशक्ति–टीका आदि अनेक टीका यसका ज्वलन्त प्रमाण हुन् ।
अन्त्यमा
“स्वदेशे पूज्यते राजा विद्वान् सर्वत्र पूज्यते” भन्ने उक्तिलाई सार्थक तुल्याउने कवि, अनुसन्धाता एवं प्राध्यापक वेणीमाधव ढकालले आफ्ना रचना र अनुसन्धान मार्फत् नेपाललाई विश्वप्राज्ञिक जगत्मा परिचित बनाउनुभएको छ । अन्तर्राष्ट्रिय विद्वान् निज ढकालका कृतिहरूका कारण न केवल वहाँको कीर्ति फैलिएको छ, अपितु यसले सिंगो नेपालको यशलाई समेत व्यापक बनाएको छ । यसर्थमा प्रा.डा. वेणीमाधव ढकाल नेपाल आमाका एक सच्चा सुपुत्र हुनुहुन्छ ।
(लेखक नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठका उपप्राध्यापक हुनुहुन्छ ।)