गणेश लम्साल । समय बलवान् छ । जे हुन्छ समयकै कारणले हुन्छ । समयको अधीनमा छौँ हामी । हिजोको अवस्था आज छैन, आजको भोलि हुँदैन । परिवर्तन समयको माग हो । समयले विभिन्न परिवर्तनको महसुस गराउँछ । परिवर्तन हुन उपयुक्त समयको खाँचो पर्दछ । समय भएपछि हरेक चिजमा परिवर्तन देखा पर्छ । वाल्मीकि विद्यापीठको पनि समय आएछ । धेरैलाई जीवन दिएको वाल्मीकि विद्यापीठले अहिले आफैले पुनर्जीवन पाएको छ । अहिले विद्यापीठले दिन दुगुना रात चौगुना भनेझैँ परिवर्तन महसुस गरिरहेको छ । विद्यापीठमा भएका परिवर्तन आँखै अघिका कुरा हुन् । अहिले विद्यापीठ उज्यालिएको छ । विद्यापीठ मुस्कुराएको छ ।
वाल्मीकि विद्यापीठको भौतिक संरचनमा परिवर्तन भएको छ । विद्यापीठका बाहिरी पर्खाल रङ्गिएका छ्न् । ती पर्खाल काठमाडौँका प्राचीन,धार्मिक एवम् सांस्कृतिक सभ्यता झल्काउने मठमन्दिर, पोखरी, दरबारलगायतका चित्रले सजिएका छन् । विद्यापीठको मूलद्वारको डिजिटल बोर्डले प्राचीन सभ्यता, संस्कृति र दर्शनको संरक्षण गर्ने थलो भइकन पनि आधुनिकतातिर लम्कदै छ है भन्न खोजेको बुझिन्छ । प्रवेशपछि देखिने सम्मुख र दाँयातिरको फूलबारीले आँखा तानिहाल्छ । दायाँतर्फ नै बगैँचा निर्माण गरी दुबो रोपिएको छ । विद्यापीठको वातावरणमा प्राकृतिक स्वच्छता भेटिन्छ । बाँयातर्फको भित्तामा शैक्षणिक र प्रशासनिक भवनबाट उपलब्ध हुने सेवासम्बन्धी जानकारी दिने गरी सूचना राखिएको छ । अलिक अगाडि बनाइएका गणेश, व्यास, सरस्वती , बुद्ध र सप्तर्षिलगायतका तस्बिरले संस्कृतको थलो हो है भन्ने जनाइरहेका छन् । भित्तामा मानवजीवनकै परम लक्ष्यको रूपमा वेदव्यासविरचित अठार पुराणको सार लेखिएको छ –
अष्टादशपुराणेषु व्यासस्य वचनद्वयम् ।परोपकार: पुण्याय पापाय परपीडनम् ।। परोपकारको पाठ पढाउने केन्द्र हो विद्यापीठ ।अशान्त विश्वलाई शान्त बनाउने केन्द्र हो विद्यापीठ । म हैन हामी भन्ने भावनाको विकास गराउने केन्द्र हो विद्यापीठ । त्यहाँका तस्बिरले बोलका छन्,“ यो संस्कारको थलो । यो संस्कृतिको थलो हो । यो सभ्यता संरक्षणको थलो हो । यो त संस्कृतको थलो पो हो । यो त जीवन दर्शनको थलो हो । यहाँ वेद घन्किन्छ । वेदान्तलगायतका दर्शनको चर्चा हुन्छ । पुराणका कथाले मन अह्लादित बन्छ । ज्योतिषको गहिराइमा पुगेर ब्रह्माण्ड चहारिन्छ । साहित्यमा कालीदासहरूको सामीप्यता भेटिन्छ । धर्मशास्त्रीका चिन्तनमा धर्मको मूल भेटिन्छ । यो पौरस्त्य दर्शनको केन्द्र हो । यहाँ जीवन जिउने कला सिकाइन्छ । ´´ विद्यापीठको अगाडिपट्टि माता सरस्वतीको प्रतिमा प्रतिष्ठित छ । सरस्वती न: सुभगा मयस्करत् अर्थात् माता सरस्वती हामीलाई ऐश्वर्यप्रदान गर्ने होऊन् । यो हाम्रो आदर्श वाक्य नै हो । माताको अनुकम्पा विना हाम्रो गति छैन । सरस्वती मातालाई दाहिने पारेर शैक्षणिक भवन प्रवेश गर्न सकिन्छ । वर्षौँदेखि उजाडिएको यो शैक्षणिक भवन अहिले रङ्गिएको छ । यसका झ्याल ढोका र छानो मर्मत गरिएको छ । कक्षाकोठाहरू सफा छन् । कक्षाकोठा व्यवस्थित बनेका छन् , बन्दै पनि छन् । दुई तलाको यस भवनमा लेखिएका वेद, उपनिषद् ,योग, नीतिशास्त्रलगायतका आदर्श वाक्यहरूले विद्यार्थीलाई आफ्नो कर्म,आचारण र ज्ञानआर्जनप्रति अभिप्रेरित गरिराखेको आभास हुन्छ । यहाँ लेखिएको छ – सङ्घर्षद्वारे हि श्रिय: फलन्ति अर्थात् सङ्घर्षको ढोकामा नै ऐश्वर्य फल्दछन् । यस्ता वाक्यहरूले विद्यार्थीलाई घच्घचाइरहेछ्न् , जगाइरहेछन् ।
शैक्षणिक भवनको केन्द्रभागमा महर्षि वाल्मीकिको प्रतिमा छ । वाल्मीकि स्वयम् नै शास्त्र हुन् । उनकै नामबाट सञ्चालित यस विद्यापीठमा उनलाई पढ्न र बुझ्न सक्नु विद्यार्थीको कुरा हो । एवम् क्रमले यस भवनको माथिल्लो तलमा विषयअनुसारका विभाग छुट्ट्याइएको छ । केही विभाग तल्लो तलामा पनि छन् । विद्यार्थीको सहजताका लागि प्रत्येक विभागमा विषय शिक्षक र कक्षाको समयतालिका राखिएको छ । कोरोनाकालमा यस भवनको एउटा कक्षालाई स्मार्ट कक्षा पनि बनाइएको छ । माथिल्लो तल्लामै वेधशाला पनि छ तर हाल यो सञ्चालनमा छैन । वि सं २०७२ को भूकम्पले पुस्तकालय भवनमा क्षति पुगेकाले यस भवनकै एउटा कोठमा पुस्तकालय सेवा उपलब्ध गराइएको छ । शौचालयको राम्रो व्यवस्था छ । शैचालयको सरसफाइमा ध्यान दिइएको छ । खानेपानीको व्यवस्था पनि छ । हिलाम्मे र धुलाम्मे हुने विद्यापीठको अग्रभागमा ब्लक बिच्छाइएको छ । चउरमा बास्केटबल खेल्नका लागि ठाउँ बनाइएको छ । सवारी साधनका निम्ति पार्किङस्थल पनि बनेको छ । छेउछाउमा अम्बा, अनारलगायतका विभिन्न फलफूलका बिरुवाहरू रोपिएका छन् । अम्बा र अनार त फलेकै छन् । विभन्न जातका फूलहरू फुलेका छन् । अरू बिरुवाहरू बढ्ने क्रममा छन् । यसरी विद्यापीठले परिवर्तन चाखिरहेको छ । विद्यापीठको परिवर्तनमा धेरै सङ्घसंस्थाहरूले हातेमालो गरेका छन् । नेपाल संस्कृत विश्वविद्यालय, वाल्मीकि विद्यापीठ, काठमाडौँ महानगर, काठमाडौँ महानगरका २८ लगायतका वडा, विभिन्न सरकारी एवम् गैरसरकारी सङ्घ संस्थाहरूले विद्यापीठको भौतिक उन्नयनमा हातमा हात मिलाएका छन् ।
यी सबै कार्यको संयोजक र नेतृत्वकर्ता हुनुहुन्छ विद्यापीठका प्राचार्य प्रा. डा. भागवत ढकाल । उहाँको नेतृत्वमा विद्यापीठको मुहार फेरिएको छ । विद्यापीठमा दिनानुदिन काम भइरहेकै देखिन्छ, जसले विद्यापीठको मुहार उज्यालिएको छ । काठमाडौँका मेयर बालेन शाह बन्नु अघिसम्म विद्यापीठको बाहिरी भागमा थुप्रिने फोहोरको गन्ध कक्षासम्म आइपुग्थ्यो । फोहोरले टुकुचाको पुलदेखि विद्यापीठको प्रवेशद्वारसम्मको भाग ढाकेको हुन्थ्यो । हरेक दिन फोहोर ढङ्गुर हेरेर विद्यापीठ प्रवेश गर्नुपर्ने हुन्थ्यो । विद्यापीठमा प्रवेश गर्नै नमिल्ने गरि पनि फोहोर फालिएको हुन्थ्यो । फोहोर हप्तौँ थुप्रिने समस्या थियो । अति भएर एक पटक आन्दोलनमै उत्रिन परेको पनि थियो ।
आन्दोलनमा हल्काफुल्का भाटा पनि खाइयो तर समस्या भने समाधान हुन सकेन । केही दिनपछि फोहोरको डङ्गुर उस्तै थुप्रिन थाल्यो । समस्या जहाँको त्यहीँ रह्यो । नेतृत्व फेरियो समस्याको पनि समाधान भयो । अहिले त्यहाँ फोहोर फाल्न छाडिएको छ । फुटपाथ हिँड्न लायक बनेको छ । नालीको उचित व्यवस्थापनले विद्यापीठको अगाडिपट्टि पानी जम्ने समस्या समाधान भएको छ । यसका लागि काठमाडौँ महानगर, त्यसका वडा कार्यालयहरू र महानगर प्रमुख बालेन शाहलाई विशेष धन्यवाद छ, जसले गर्दा विद्यापीठको वातावरण स्वच्छ बनेको छ । ( लेखक वाल्मीकि विद्यापीठका विद्यार्थी हुन् । )