बुटवल । सनातन ज्ञान प्रवर्द्धन गर्ने उद्देश्यसहित बुटवलमा गीता प्रेस पुस्तक बिक्री केन्द्र सञ्चालनमा आएको छ । बुधबारदेखि बुटवलको जेसिज चोकमा वैदिक सनातनदेखिका सबै धार्मिक पुस्तक बिक्री गर्ने गरी गीता प्रेस पुस्तक बिक्री केन्द्र सञ्चालनमा आउन लागेको हो ।
विस.२०८० मा भारतको गोरखपुरमा स्थापना भएको गीताप्रेस धार्मिक पुस्तक उत्पादन गर्ने पुरानो र विश्वासिलो छापा हो । आध्यात्मिक ज्ञानको संरक्षण, सम्बद्र्धन र विश्वव्यापी प्रचार–प्रसार गर्ने लक्ष्यका साथ पोखरापछि बुटवल गीताप्रेस भित्र्याइएको विश्व हिन्दू महासंघका वरिष्ठ उपाध्यक्ष शंकर खरालले बताए । ‘हिन्दू धर्मालम्बीले भागवत गीता पढ्नैपर्छ । हरेक घर घरमा पुस्तक हुनुपर्छ । ज्ञानलाई व्यवसायिक लाभभन्दा माथि राख्ने गरी बिक्री केन्द्र शुरू गरिएको हो ।’
श्रीमद् भागवत गीता, महाभारत, १८ पुराण, उपनिषददेखि सबैजसो हिन्दू धर्मका महत्वपूर्ण पुस्तक नेपाली, अंग्रेजी, हिन्दी र संस्कृत भाषामा उपलब्ध हुनेछन् । गीता प्रेसको ५ वर्ष अघि काठमाडौंमा पहिलो शाखा स्थापना भएको थियो ।
बुटवल शाखाले नेपालमा बढदै गएको धर्मान्तरण, नैतिक समाजको स्खलन, धर्मको नाममा मौलाएको विकृति र शास्त्र अभावमा अडि्कएको अस्पष्टतालाई मेट्न महत्वपूर्ण भूमिका खेल्ने हरे कृषि पूजा सामग्री केन्द्रका सञ्चालक कृष्णप्रसाद खरालले बताए ।
ज्योतिषी जनार्दन न्यौपानेले पूर्वीय सनातन धर्मको गीताप्रेस अमूल्य उपहार रहेको बताए । भारतीय तथा नेपाली समाजमा नैतिक, सांस्कृतिक र आध्यात्मिक चेतनाको जागरणमा गीताप्रेसको महत्वपूर्ण योगदान रहेको अर्का ज्योतिषी सुन्दर भण्डारीले बताए ।














