काठमाडौं । वाल्मीकि विद्यापीठमा बैशाख १५ गतेदेखि देखि नेपाली युनिकोड टाइपिङ सम्बन्धी ३ दिने प्रशिक्षण कार्यक्रम प्रारम्भ भएको छ । प्राध्यापक सुमोदवर्धन कौण्डिन्न्यायन (विद्यावारिधि) ले तयार गर्नुभएको नेपाली युनिकोडको कीबोर्ड परम्परागत नेपाली टाइपिङसँग मेल खाने भएको हुँदा परम्परागत कीबोर्डमा (प्रीति, सुमोद, आचार्य इत्यादिमा) अभ्यस्त भएका व्यक्तिका निम्ति अति नै सरल हुने देखिएको छ ।
परम्परागत कीबोर्डमा जस्तै अ +अां.आ । अाेंं.ओ । अांंै.औ । ष्ां.ष । क्ष्ां.क्ष, ण्ां.ण । ष्ंि.षि । ष्ें.षे । एें.ऐ । र्इं.ई । काेंं.को । कांंै.कौ । इत्यादि रूपमा टाइप गर्न सकिने कुरा प्रशिक्षणका क्रममा जानकारी गराइएको थियो । कीबोर्ड निर्माता स्वयंले प्रशिक्षण दिनुभएको हुँदा प्रशिक्षार्थीका सबै जिज्ञासा समाधान हुँदै जानेछन् भन्ने अपेक्षा गरिएको छ । प्रशिक्षणको प्रारम्भमा प्रशिक्षकले वर्तमान समयमा नेपाली युनिकोडको टाइपिङको ज्ञान हुनु अत्यावश्यक रहेको कुरा उदाहरणसहित स्पष्ट पार्नुभएको थियो ।
३ दिने प्रशिक्षणमा युनिकोड टाइपिङका साथै केही अन्य प्राविधिक ज्ञान पनि दिइने कुरा प्रशिक्षकद्वारा जानकारी गराइएको थियो । प्रशिक्षणमा प्रशिक्षार्थीहरूको अत्यन्त उत्साहपूर्ण उपस्थिति रहेको छ ।














