ओमप्रकाश खरेल, रुपन्देही ।।
ब्रह्मलीन स्वामीज्यूमा शब्दपुष्पाञ्जली।🙏🕉️🌼
परमानन्दका सिन्धु सत्यका मार्गदर्शक।
शिवका छविले पूर्ण विवेक!ज्ञानदायक।।१
बागलुङधरा हाँस्यो दिव्य सूर्य उदाँउदा।
गुल्मी रमाउँदै नाच्यो तेजस्वी सन्त पाउँदा।।
तिलोत्तमा बगिन् खेल्दै स्वामीजी भेट्न पाउँदा।
नयाँमिल बन्यो स्वर्ग धर्मरक्षक आउँदा।।२
हजारौँ भक्तका भित्र सजिलै ज्ञान छर्नु भो।
विद्यार्थी सबमा ज्योति बनी अज्ञान हर्नु भो।।
शिक्षा,संस्कार बाँडेर गर्दै वेदान्त चिन्तन।
जीव-ब्रह्म बुझाएर सकियो पूर्णजीवन ।।३
सुनेर गुरुका वाणी मनमा हर्ष छाउँथ्यो।
तिम्रै सामीप्यले गर्दा दुःख पीडा हराउँथ्यो।।
जसको मौनताभित्रै खुल्थ्यो अध्यात्मदर्शन।
छहारी मेटियो त्यस्तो सम्हालौँ कसरी मन।।४
थियो जो ब्रह्मको तेज ब्रह्ममा नै विलीन भो।
गुरुसान्निध्य छुट्दामा देश सन्तविहीन भो।।
रोयो आकाश हेरेर,चलेको वायु बन्द भो।
समाधिस्थ हुँदा स्वामी,बलेको दीप मन्द भो।।५
यो शरीर विनाशी हो,आत्मा चैतन्य केवल।
बुझे तापनि सम्झेर रोकिनन् आँशुका भल।।
गुरुकै पाउमा राखी मैले हर्दम यो मन।
भिजेका नेत्रले गर्छु श्रद्धाञ्जली समर्पण।।६
(यश कविताका रचयिता ब्रह्मलीन श्री १००८ स्वामी विवेकानन्द सरस्वती महाराजका शिष्य एवम् दुर्गा वैदिक संस्कृत विद्यापीठ नयाँमिल रुपन्देहीका पुर्व विद्यार्थी हुन् )














