
- गुरु मञ्जरीले पूजा सामग्रीको शुद्धता र स्वदेशी उत्पादनलाई बढावा दिन नयाँ अभियान सुरु गरेको छ।
- भक्तपुरमा आयोजित पण्डित सम्मेलनमार्फत धार्मिक सामग्री र पुरोहित सेवाको आधुनिकीकरणमा जोड दिइएको छ।
- संस्थाले मोबाइल एपमार्फत स्वदेशी पूजा सामग्री र पुरोहित सेवा सहजै उपलब्ध गराउने व्यवस्था मिलाएको छ।
काठमाडौं, ५ मंसिर । धार्मिक तथा कर्मकाण्डका लागि आवश्यक पूजा सामग्री नेपालमै उत्पादन र बजारीकरण गर्ने उद्देश्यले गुरु मञ्जरीले अभियान थालेको छ।
अभियानबारे जानकारी गराउन संस्थाले मंसिर २ गते भक्तपुरको गठ्ठाघरस्थित जर्मन होम्स होटलमा पण्डित सम्मेलन आयोजना गरेको थियो। सम्मेलनमा काठमाडौं उपत्यकाका करिब १ हजार १०० पण्डित तथा पुरोहित सहभागी थिए।
अभियानका परिकल्पनाकार तथा संस्थापक पं. प्रकाश ढोडारीले पूजा सामग्रीको शुद्धता कायम राख्दै स्वदेशी उत्पादन र आर्थिक स्वावलम्बनलाई प्रोत्साहन गर्न अभियान सुरु गरिएको बताए।
कार्यक्रममा विश्व हिन्दु महासंघका राष्ट्रिय सभापति अरुणकुमार पाण्डे, नायब बडागुरु प्राध्यापक डा. माधव भट्टराईलगायत धार्मिक क्षेत्रका अगुवाले पनि धारणा राखेका थिए।
उनीहरूले पूजा सामग्रीको शुद्धता, स्वदेशमै उत्पादन र पण्डित पुरोहितको आर्थिक सशक्तीकरणमा जोड दिएका थिए।
गुरु मञ्जरीले मोबाइल एपमार्फत पूजा सामग्री र पुरोहित सेवा उपलब्ध गराउने जनाएको छ। संस्थाले सन् २०१८ देखि अस्ट्रेलिया, क्यानडा, अमेरिका र बेलायतलगायत देशमा धार्मिक सामग्री उपलब्ध गराउँदै आएको छ।















