
- आज बडादसैँको मुख्य दिन मान्यजनको हातबाट रातो टीका र जमरा लगाइँदै छ।
- टीका ग्रहणका लागि आज बिहान १०:२६ बजेको साइत उत्तम रहेको छ।
- असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा यो पर्व धार्मिक विधिपूर्वक मनाइन्छ।
काठमाडौंँ । बडादसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ।
दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको देवीको प्रसाद आज मान्यजनबाट लगाइन्छ। टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चांग निर्णायक विकास समितिले आज बिहान १०:२६ बजेको साइत उत्तम रहेको जनाएको छ।
आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रूपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीक मानी लगाउने गरिन्छ। जमराले विभिन्न रोग व्याधमा औषधीको काम गर्ने तथ्य वैज्ञानिक रूपमा समेत पुष्टि भइसकेको छ।
घटस्थापनाका दिन स्थापना गरिएको पूर्ण कलशको जलबाट अभिषेक गरेपछि वर्षभर शान्ति हुने भएकाले आज मान्यजनबाट टीका र प्रसाद लगाउनुअघि अभिषेक गर्ने गरिएको हो।
असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइने विजयादशमी बडा दसैँकै सबैभन्दा महत्त्वपूर्ण दिन हो। त्रेता युगमा आजैका दिन भगवान् रामले असत्यको प्रतीक बनेका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन सुरु गरिएको धार्मिक विश्वास छ।















