अर्घाखाँची, १८ मंसिर । जिल्ला समन्वय समिती अर्घाखाँचीका प्रमुख जिवनारायण कोईरालाले सहकारी क्षेत्रमा देखिएको समस्या समाधानका लागि नियमन निकायले ध्यान दिनुपर्नेमा जोड दिएका छन् । जिल्ला सहकारी संघ अर्घाखाँचीले सन्धिखर्कमा आयोजना गरेको २ दिने ऋण व्यवस्थापन तालिमको उद्घाटन गर्दै कोईरालाले सहकारी संघसंस्थाहरुले ऋण परिचालन गर्दा ध्यान दिनुपर्ने बताए । उनले ‘सहकारी संस्थाबाट ऋण लिएपछि संस्थाको नियमअनुसार तिर्नुपर्छ, ऋण लिएपछि तिदैँनौ भन्ने हुदैँन्, अनिवार्य तिर्नुपर्छ ।
सहकारी संस्थाहरुको सदस्यहरुको हितअनुसार काम गर्नमा आग्रह गर्दै साथी बहुउद्देश्यले सञ्चालन गरेको सहकारी बजारले स्थानिय स्तरमा उत्पादन भएको सामाग्रीले बजार पाउँने आशाको केन्द्र भएको कोईरालाले बताए । कार्यक्रममा जिल्ला बचत तथा ऋण संघका अध्यक्ष अध्यक्ष द्रोणप्रसाद भुसाल, साथी बहुउद्देश्यीय संस्थाका अध्यक्ष कृष्ण भुसालले शुभकामना मन्तव्य राख्दै तालिमले सहकारी संस्थाहरुलाई बलियो बनाउँनमा टेवा पुग्ने बताए ।
अर्घाखाँची जिल्ला ऋण लगानी र असुलीमा धेरै समस्या नदेखिएतापनि ऋण व्यवस्थापन तालिमले सहकारी संस्थाहरुलाई मजवुद बनाउँनमा सहयोग पुग्ने जिल्ला सहकारी संघका अध्यक्ष प्रकाश भुसालले बताए ।
जिल्लामा सहकारी संस्थाहरुले ऋण लगानी र असुलीमात्रै नभएर अब आर्थिक उन्नतीमा लाग्नुपर्ने बताउँदै उत्पादनमा केन्द्रीत हुन सहकारी संस्थाहरुलाई आग्रह गरे । जिल्लामा उत्पादन भएको अर्गानिक खाद्यान्नहरु एकैठाउँमा पाउँनेगरी सहकारी बजार सन्धिखर्कमा साथी बहुउद्देश्यले सुरुवात गरेको बताउँदै सबै संघसंस्थाहरुसँग सहकार्य गरी अगाडी बढ्ने बताए ।
२ दिनसम्म सञ्चालन हुने तालिममा राष्ट्रिय सहकारी बैंक बुटबलका प्रमुख नारायण बेल्वासे र ऋण सहायक शुशिल भट्टराईले प्रशिक्षण दिने आयोजकले जनाएको छ । तालिमको उद्घाटन सत्र जिल्ला सहकारी संघका अध्यक्ष प्रकाश भुसालको अध्यक्षता, उपाध्यक्ष लक्ष्मण कंडेलको स्वागत र सचिव घनश्याम पौडेलको सञ्चालनमा सम्पन्न भएको हो ।














