डा. उमेश घिमिरे । गुरुपूर्णिमाको पूर्वसन्ध्यामा आज मिति २०८१/४/५ गतेका दिन शङ्कराचार्य मठ पशुपतिमा सामूहिक विष्णुसहस्रनाम पाठ समारोह सम्पन्न भयो। घरघरमा गुरुकुल अभियान अन्तर्गत त्रिशक्ति एकादशी संस्कृति समाजद्वारा अष्टोत्तरशत श्रीविष्णुसहस्त्रनामस्तोत्र पाठ तथा साधक सम्मान कार्यक्रम आयोजना गरिएको थियो । ५०० भन्दा बढी मातृशक्तिहरूको सहभागितामा आयोजित उक्त समारोहको सभाध्यक्षता त्रिशक्ति एकादशी संस्कृति समाजकी केन्द्रीय अध्यक्ष श्रीमती रिता पाण्डेज्यूले गर्नुभएको थियो भने महेश सन्यास आश्रमका पीठाधीश श्री १००८ स्वामी रमणानन्द गिरीज्यूले प्रमुख आतिथ्य ग्रहण गर्नुभएको थियो । त्यसैगरी पौरस्त्य वेदान्त दर्शनका विशिष्ट साधक एवं कुशल प्रवक्ता र शताधिक ग्रन्थका लेखक प्राध्यापक शिवगोपाल रिसालज्यू र वेदान्त दर्शनका प्रवक्ता तथा आध्यात्मिक साधक प्रा.भवानीप्रसाद खतिवडा, गुरुकुल प्रवर्धन समाजका अध्यक्ष तथा स्थापित पुराणवाचक आचार्य श्रीकपिलदेव सुवेदीज्यूको विशिष्टातिथ्य रहेको थियो भने नेपाल सरकारका पूर्वसचिव तथा सामाजिक अभियन्ता भीमप्रसाद उपाध्याय, वरिष्ठ समाजसेवी एवं गुरुकुल अभियन्ता श्रीरामप्रसाद सुवेदी, महेश संस्कृत विद्यापीठका प्राचार्य कमल सुवेदी ,पौरस्त्य दर्शनशास्त्रका विशिष्ट अनुसन्धाता डा.विश्वनाथ धिताल , वाल्मीकि विद्यापीठका न्याय विभागका उपप्रा. डा. वैकुण्ठ घिमिरे, वाल्मीकि विद्यापीठका उपप्राध्यापक तथा महेश छात्रपरिषद्का संस्थापक अध्यक्ष डा.उमेशप्रसाद घिमिरे, नेपाल संस्कृत विश्वविद्यालयका उपप्राध्यापक शिवराज लामिछाने, भजन संगीत क्षेत्रकी सुप्रसिद्ध गायिका एवं अध्यात्म साधिका शान्ति सुवेदी, धार्मिक जागरण अभियन्ता पं.मधुसुदन सुवेदी, त्रिशक्ति एकादशी संस्कृति समाज काठमाडौँका सम्पूर्ण पदाधिकारी, त्रिशक्ति एकादशी समूह हेटौँडाका अध्यक्ष रविन्द्रप्रसाद अधिकारी, त्रिशक्ति एकादशी समूह चितवनकी अध्यक्ष गीता अर्यालज्यू लगायतको विशेष आतिथ्य रहेको थियो ।
प्रमुख अतिथि पूज्य गुरुवर रमणानन्द गिरिज्यूद्वारा दीप प्रज्वलन तथा सामूहिक वैदिक मङ्गलाचरणपूर्वक समारोहको औपचारिक आरम्भ भएको थियो । समुपस्थित समस्त अतिथिगण तथा सहभागी मातृशक्तिप्रति गुरुकुल प्रवर्धन समाजका संस्थापक अध्यक्ष एवं घरघरमा गुरुकुल अभियानका संयोजक आचार्यप्रखर कपिलदेव सुवेदीज्यूले स्वागत मन्तव्य राख्नुभएको थियो। उहाँले स्वागत मन्तव्यका क्रममा डा. स्वामी रामानन्द गिरिज्यूद्वारा स्थापित महेश संस्कृत गुरुकुलको संवर्धनका लागि गुरुकुल प्रवर्द्धन समाजको गठन भएको अनि त्यसै समाजअन्तर्गत कोरोना कालमा प्राविधिक रुपमा घरघरमा गुरुकुल अभियान सुरुवात गरिएको र त्यस अभियानमा प्रत्येक गृहिणीलाई अध्यात्म प्रशिक्षण दिनका लागि त्रिशक्ति एकादशी संस्कृति समाज गठन गरिएको भन्दै सो समाज गठनको आवश्यकता र ओैचित्यमाथि प्रकाश पार्नु भएको थियो ।
समारोहका विशिष्टातिथि प्राध्यापक शिवगोपाल रिसालज्यूले झण्डै डेढसयको सङ्ख्यामा सहभागी मातृशक्तिद्वारा भएको विष्णुसहस्रनामस्तोत्र पाठ सुन्न पाउँदा आफू अत्यन्त गद्गद भएको उल्लेख गर्दै वास्तवमा संस्कृत नपढेको मान्छे मान्छे हुनै सक्दैन, त्यसैले मानवजीवनको सार्थकताका लागि, वरत्र र परत्र सुधारका लागि , स्वस्वरूपको साक्षात्कार गरी परमानन्द प्राप्तिका लागि संस्कृ पढ्नै पर्छ भन्ने विचार राख्नु भएको थियो।
प्रा.रिसालज्यूले घर, गाडी आदि सुखसुविधाका भौतिक सामग्री जुटाउनु धनी होइन, जसले आफूलाई चिन्दछ त्यो धनी हो भन्दै योग्य सन्तान बनाई अध्यात्मतर्फ रुचि जगाइदिनु प्रत्येक बाउआमाको कर्तव्य भएकाले अब तपाईँले सिकेको ज्ञानलाई आफ्ना घरपरिवारका सदस्य, स्वसन्तति , छरछिमेकी, आफन्त सबैलाई सिकाउनुहोस् र घरघरमा टोलटोलमा श्रीमद्भगवद्गीता, दुर्गासप्तशती, चण्डी, श्रीमद्भागवत जस्ता ग्रन्थहरु पाठ गर्ने सामर्थ्य विकास गरी अध्यात्म विद्यालाई फैलाउनुहोस् “अध्यात्मविद्या विद्यानाम्” भनेर श्रीमद्भगवद्गीतामा भगवान् श्रीकृष्णले यही आत्मविद्यालाई सबै प्रकारका विद्याभन्दा श्रेष्ठ विद्या हो भन्ने उद्घोष गर्नुभएको छ। अतः अध्यात्म विद्याका शिरोमणि ब्रह्मलीन डा. स्वामी रामानन्द गिरिजी महाराजको सातौं स्मृति महोत्सवका अवसरमा मातृशक्तिद्वारा अष्टोत्तर शत विष्णुसहस्त्रनामस्तोत्र पाठ गरी जुन महनीय तथा ऐतिहासिक समारोह आयोजना गर्नुभएको छ त्यसप्रति त्रिशक्ति एकादशी संस्कृति समाजप्रति हृदयत: साधुवाद व्यक्त गर्दछु भन्ने विचार प्राध्यापक रिसालज्यूले राख्नुभएको थियो।
त्यसैगरी अर्का विशिष्ट अतिथि प्राध्यापक भवानीप्रसाद खतिवडाज्यूले आफ्नो शुभभाव अभिव्यक्तिका क्रममा अन्य भगवत स्तोत्रहरूमा विभिन्न पुण्यात्मा ऋषिमहर्षीहरूको श्राप परेको तर विष्णुसहस्त्रनामस्तोत्रमा कुनै पनि वि, पुण्यात्मा तपस्वी, मातृशक्तिहरू सहभागी भएर पाशुपत क्षेत्रमा विष्णु सहस्र नाम स्तोत्रको जुन शुद्ध पाठ सुन्न महर्षीको कुनै पनि श्राप नपरेको तथ्य जस्ता स्वामी महाराजहरुबाट आफूले सुनेको तथ्य प्रकट गर्दै १२० भन्दा बढी मातृशक्तिहरू सहभागी भएर पाशुपतक्षेत्रमा विष्णुसहस्त्रनामस्तोत्रको जुन शुद्ध पाठ सुन्न पाउँदा हाम्रो हृदय अत्यन्त पावन भएको अनुभव भएको छ भन्दै यस्तो महनीय कार्यक्रम गर्न सफल मातृशक्तिलाई यस्तै यस्तै पुण्यदायक कर्मतर्फ प्रवृत्त भइरहने प्रेरणा अन्तरहृदयवासी परमात्माले प्रदान गरुन् भन्ने प्रार्थना पूर्वक ब्रह्मस्वरूप, चिन्मयविग्रह परमपूज्य गुरुदेव डा.स्वामी रामानन्द गिरिजीमहराजप्रति श्रद्धासुमन समर्पण गर्नुभएको थियो।
समाजसेवी आध्यात्मिक उद्बोधक रामप्रसाद सुवेदीज्यूले घरघरमा गुरुकुल अभियान अन्तर्गत संगठित त्रिशक्ति एकादशी संस्कृति समाजद्वारा आयोजित यस विशिष्ट समारोहमा गुरुदेव रमणानन्द गिरिज्यूका करकमलबाट जुन आशीर्वाद प्राप्त गर्ने अवसर जुटाइदिनु भयो यसका लागि आयोजक मातृशक्ति र विशेष गरी गुरुकुल प्रवर्धन समाजका अध्यक्ष कपिलदेव सुवेदीज्यूप्रति सादर आभार प्रकट गर्नुभएको थियो। मन्तव्यका क्रममा आफू डा.स्वामी रामानन्द गिरीज्यूसँग सँगै बाल्यकालमा हुर्किने अवसर प्राप्त गरेको सम्झँदै गुरुज्यू देवघाट धाममा महेश संस्कृत गुरुकुल स्थापना गरी राष्ट्रकै सेवा गर्नुभएको आध्यात्मिक जागरण ल्याउन र संस्कृतको विकास गर्न उल्लेखनीय महान यज्ञ प्रारम्भ गर्नुभयो र उहाँको सदिक्षामा सञ्चालित ज्ञान महायज्ञमा चरु हवन गर्नका लागि आफूले तपाईँहरु जस्ता श्रद्धालु महामन्त्रदाता महानुभावसँग हात जोडी चामल, पैसा, दाल, चिनी आदि खाद्य पदार्थ वि.सं २०५४ सालदेखि बर्सेनी गुरुकुल स्थापना दिवस रामनवमीका अवसरमा पुर्याउँदै आएको तर आफ्नो रोगग्रस्त शरीर र वृद्धावस्थाले त्यो गुरुजीले सुम्पनु भएको जिम्मेवारी बहन गर्न नसक्ने हुँ कि भन्ने चिन्ता लागेको बताउँदै अत्यन्त भावुक र स्तब्ध बन्नुभएको थियो र सबैलाई महेश गुरुकुललाई यथाशक्य सहयोग गर्न प्रार्थना गर्दै आफ्नो मन्तव्य टुङ्ग्याउनु भएको थियो । महेश संस्कृत विद्यापीठका प्राचार्य कमल सुवेदीज्यूले आजको समारोह भव्य, सभ्य, र दिव्य बनाउन कायेन, वाचा, मनसा सहयोग पुर्याउनु हुने प्रमुखातिथि, विशिष्टातिथि र आतिथ्य ग्रहण गरिदिनु हुने पूज्य गुरुजन, विद्वान्, प्राध्यापक, कुशल प्रशासक, न्यायाधीश, धार्मिक-अभियन्ता, गुरुकुल-अभियन्ता, मातृशक्ति भक्तजन र शिष्यगण सबैप्रति आभार तथा धन्यवाद ज्ञापन गर्नुभएको थियो।
समारोहका प्रमुख अतिथि तथा महेश आश्रमका पीठाधीश पूज्यपाद रमणानन्द स्वामीज्यूले समुपस्थित सभालाई शुभाशंसा एवं शुभाशीेर्वाद दिनुभएको थियो । शुभाशीर्वाद मन्तव्यका क्रममा उहाँले आफ्ना गुरुदेवको सातौं स्मृति महोत्सवका अवसरमा आयोजित विष्णुसहस्त्रनामस्तोत्र पाठ कार्यक्रमको उच्च प्रशंसा गर्दै यस्ता कार्यक्रमको निरन्तरताको शुभकामना दिनुभएको थियो। विशेष उद्बोधनका क्रममा उहाँले हामीलाई विधर्मीहरूले मूर्तिपुजक भनी आलोचना गर्छन् तर तिनीहरु पनि आफूले अंगीकार गरेका विचारका प्रतिपादकहरुको सालिक बनाउँछन् , स्मृति दिवस र जयन्ती मनाउँछन् र शव गाडिएको स्थलमा गई स्मृति कार्यक्रम आयोजना गर्छन् भने तिनीहरूले हामीलाई आलोचना गर्नु हास्यास्पद छ भन्दै कटाक्षसमेत प्रकट गर्नुभएको थियो । हो ,हामी मूर्तिपुजक हौँ, वास्तवमा भगवान् द्वारा नै प्राकृतिक अष्टमूर्ति यस संसारमा खडा भएको छ तिनमा पञ्चमहाभूत (१. पृथ्वी, २.अप,३.तेज,४.वायु,५.आकाश) ६.सूर्य , ७.चन्द्र र ८.जीव हुन् । मूल प्राकृतिक यी अष्टमूर्ति शाश्वत हुन्, सनातन हुन् ,तर पछि गएर तिनै अष्टमूर्तिका पनि विविध रूपको परिकल्पना गर्दै आफ्नो रुचि र प्रवृत्ति अनुसार अनेक मूर्तिहरू बनाइँदै गयो, अतः यो मूर्तिको निर्माण तथा मूर्तिपूजा हामी सनातनीको मूल विशेषता हो । वस्तुत: प्रत्येक जीवनै परमात्माको मूर्ति हो भन्ने हाम्रो मान्यता छ भने गुरुलाई परमात्मा स्वरूप मान्न के आपत्ति? त्यो हेराइमा भर पर्दछ, श्रद्धा, विश्वास हुनुपर्दछ। हामीले राम,कृष्णसँग खेल्न डुल्न पाएनौं होला तर हाम्रो जीवनकालका भगवानसँग खेल्न पायौं, डुल्न पायौं, अध्ययन गर्न पायौं भन्दै गुरु तत्त्व र भगवत्तत्त्वमा अभेद सम्बन्ध रहेको आध्यात्मिक विचार प्रकट गर्नुभएको थियो। भौतिक शरीर छुट्दा संसारी व्यक्ति दु:खी हुन्छ, शोक मनाउँछ तर ज्ञानी व्यक्ति भने त्यो घोचिरहने शरीरबाट छोड्दा रमाउँछ, प्रारब्धवशात् त्यो शरीरमा रहनु ज्ञानीको बाध्यता हो । जब शरीर छोड्छ तब ऊ व्यापक ब्रह्मस्वरूपमा लिन हुन्छ । शरीररुपी सानो घेरालाई छाडेर सर्वव्यापक बनी हामी सबै शिष्यको अन्तरहृदयमा विराजमान पूज्य गुरुदेवको स्मृति सामान्य नभएर विशिष्ट भएकाले महोत्सव भनिएको हो भनी प्रकाश पार्नुभएको थियो । आधुनिक गुरुकुलका उन्नायक एवं संस्कृतका जागरणकर्ता पूज्य गुरुदेवको सातौं स्मृति महोत्सव स्वामीजीले शरीर त्यागेको शङ्कराचार्य मठ पशुपतिमा दुई दिवसीय समारोह र गुरुदेवले खडा गरेको महेश सन्यास आश्रम तथा महेश गुरुकुल देवघाटधाममा त्रिदिवसीय समारोह आयोजना गरी गुरुगाथाको विमर्श चलाइएको धारणा राख्दै शिवस्वरूप गुरुतत्त्वप्रति श्रद्धार्पणपूर्वक आफ्नो प्रवचन टुङ्ग्याउनु भएको थियो।
समारोहको अन्त्यमा सभाकी सभाध्यक्ष एवं त्रिशक्ति एकादशी संस्कृति समाजकी केन्द्रीय अध्यक्ष श्रीमती रिता पाण्डेज्यूले प्रमुख अतिथि गुरुदेवको आशीर्वादात्मक उद्बोधनप्रति विशेष आभार प्रकट गर्दै आमन्त्रित विशिष्ट अतिथि अतिथिगण एवं समुपस्थित समस्त श्रद्धालु महानुभावप्रति धन्यवाद ज्ञापन गर्दै सभाको विसर्जन गर्नुभएको थियो । उक्त समारोह महेश संस्कृत गुरुकुलका पूर्व छात्र, गुरुकुलका आचार्य तथा महेश छात्रपरिषद्का सदस्य कवि पर्वतराज घिमिरे नगाधिराजज्यूले सञ्चालन गर्नुभएको थियो ।
परमवन्दनीय नित्यानन्द स्वरूप ब्रह्मलीन गुरुदेव डा. स्वामी रामानन्द गिरिजी महाराजको सातौँ निर्वाण महोत्सवका अवसरमा राष्ट्रदेव पशुपतिनाथको सान्निध्यमा रहेको आद्यगुरु शंकराचार्य मठमा ‘घर घरमा गुरुकुल अभियान’ अन्तर्गत सञ्चालित ‘त्रिशक्ति एकादशी संस्कृति समाजले ‘ नेपालका विभिन्न जिल्लाबाट श्रद्धालु प्रशिक्षार्थी मातृशक्तिलाई जुटाएर जुन अष्टोत्तरशत विष्णुसहस्रनाम स्तोत्र पाठ समारोह साँच्चै ऐतिहासिक, अविस्मरणीय तथा आध्यात्मिक बनेको छ। महेश संस्कृत गुरुकुल, गुरुकुल प्रवर्धन समाज, घरघरमा गुरुकुल अभियान, त्रिशक्ति एकादशी संस्कृति समाजमा आबद्ध भएर आर्थिक सहयोग उपलब्ध गराउने दातामहानुभावलाई सम्मान गरी अन्य श्रद्धालुलाई समेत सहयोग गर्न घच्घच्याउन समेत यस समारोह सफल रहेको लेखकीय निष्कर्ष छ
गुरुदेव ब्रह्मलीन भएपश्चात् महेश संस्कृत गुरुकुलको संरक्षणार्थ गुरुकुल प्रवर्धन समाज गठन गर्ने श्रद्धेय गुरुवर आचार्य कपिलदेव सुवेदीज्यूको सत्प्रयास सर्वदैव स्मरणीय, वन्दनीय र अनुसरणीय छ। अतः ब्रह्मलीन पूज्य गुरुदेवको आशीर्वाद उहाँ लगायत हामी सबैमा बर्सिरहोस् भन्ने प्रार्थना गर्दै यो सानो आलेख गुरुदेवमै समर्पण गर्दछु ।
।।सदगुरुं तं नमामि।।
(डा. उमेश घिमिरे महेश छात्रपरिषदका अध्यक्ष हुनुहुन्छ ।)
जयतु गुरुकुलम्!!