काठमाडौँ । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष एवं पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले अध्यात्मबिनाको आधुनिक विज्ञान अपुरो रहने बताएका छन् । अतिरुद्र विश्वकल्याण विराट महायज्ञका दौरान भृकुटीमण्डपमा आयोजित वैदिक विज्ञान र आधुनिक विज्ञान महासम्मेलनमा बोल्दै रेग्मीले वैदिक विज्ञानको जगमा मात्रै आधुनिक विज्ञानको भविष्य सुनिश्चित हुने बताए ।
वैदिक विज्ञानको उत्पत्ति नेपालमा भएको भन्दै रेग्मीले वैदिक विज्ञानको विकासले नेपालको विकासमा योगदान हुने उल्लेख गरे । ‘हिमालयको र मानसरोवरको सम्मुखमा रहेको नेपाल वैदिक विज्ञानको पवित्र विज्ञानको पवित्र भूमि हो । वैदिक विज्ञान आजको विश्वका लागि अपरिहार्य छ । वैदिक विज्ञानको प्रचार र प्रवर्द्धनसँग नेपालको विकास पनि जोडिएको छ’, उनले भने ।
वेदमा आधारित भएर विश्वमा आधुनिक विकासले समेत फड्को मारेको उल्लेख गर्दै उनले विश्वशान्ति, विकास र समृद्धिका लागि अध्यात्मसहितको वैज्ञानिक चेतना आवश्यक रहेकोमा जोड दिए । ‘विश्वशान्ति, विकास । समृद्धिका लागि अध्यात्मसहितको वैज्ञानिक चेतना चाहिन्छ । अध्यात्मबिना विज्ञान अपुरोध रहन्छ । वेद, धर्म र सत्यको प्रचार हामीले विश्वभर गराउन सक्नुपर्छ’, उनले भने ।
नेपाल महर्षि वैदिक फाउण्डेसनले आयोजना गरेको अतिरुद्र विश्वकल्याण विराट महायज्ञ कात्तिक २५ गतेसम्म जारी रहनेछ ।