अर्घाखाँची, ३ असार। शाइन रेशुङ्गा डेभलपमेण्ट बैंक लिमिटेड, सन्धिखर्क शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत विपन्न वर्ग तथा अपाङ्ग विद्यार्थीहरूलाई स्वास्थ्यसँग सम्बन्धित पौष्टिक आहार एवं सरसफाइ सामग्री वितरण गरेको छ।
सन्धिखर्क-१ मा रहेकाे निर्मल नवज्योति सुस्त मनःस्थिति विद्यालयमा आयोजित कार्यक्रममा करिब ५० हजार रुपैयाँ बराबरका पौष्टिक खाद्य सामग्री तथा सरसफाइका सामग्री वितरण गरिएको बैंकले जनाएको छ। विद्यार्थीहरूको स्वास्थ्य, पोषण तथा सरसफाइमा सकारात्मक योगदान पुर्याउने उद्देश्यले उक्त सहयोग प्रदान गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि सन्धिखर्क नगरपालिका वडा नं. १ का वडा अध्यक्ष माधव श्रेष्ठले बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत गरेको सहयोग प्रशंसनीय रहेको बताउँदै यस्ता कार्यक्रमले विद्यार्थीहरूको मनोबल वृद्धि गर्ने धारणा व्यक्त गरे । 
कार्यक्रमको अध्यक्षता शाइन रेशुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडका क्षेत्रीय प्रबन्धक कृष्णहरी भण्डारीले गरे । त्यसैगरी, निर्मल नवज्योति सुस्त मनःस्थिति विद्यालयकी व्यवस्थापक एवं शिक्षिका कमला भुसाल तथा बैंकका सन्धिखर्क शाखाका शाखा प्रबन्धक प्रकाश श्रेष्ठ विशिष्ट अतिथिका रूपमा रहेका थिए ।

कार्यक्रमको सञ्चालन जनार्दन भट्टराईले गरेकाे कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीय सरोकारवालाहरूको सहभागिता रहेको थियो।














