
- अर्घाखाँचीको भूमिकास्थान नगरपालिका-७ मा १५ शैयाको आधारभूत अस्पताल सञ्चालनमा आएको छ।
- नगर प्रमुखले उद्घाटन गरेको उक्त अस्पतालमा प्रयोगशाला र एक्स-रे लगायतका स्वास्थ्य सेवा उपलब्ध छन्।
- स्थानीयवासीलाई गाउँमै उपचार सुविधा मिल्दा सदरमुकाम धाउनुपर्ने बाध्यता र खर्चको समस्या हट्ने भएको छ।
अर्घाखाँची, २३ साउन । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–७ चिदीचौरमा १५ शैयाको आधारभूत अस्पताल सञ्चालनमा आएको छ। संघीय सरकारको ‘एक पालिका, एक अस्पताल’ नीति अन्तर्गत निर्माण गरिएको अस्पताल सञ्चालनमा आएपछि स्थानीयवासीलाई गाउँमै स्वास्थ्य सेवा पाउने बाटो खुलेको छ।
नगर प्रमुख झविलाल थापाले शुक्रबार अस्पतालको उद्घाटन गरेसँगै अस्पतालबाट औपचारिक रूपमा स्वास्थ्य सेवा सुरु गरिएको हो। उद्घाटनपछि अस्पतालका मेडिकल अधिकृत डा. भोजबहादुर भण्डारीले बिरामी जाँच गर्दै सेवा प्रारम्भ गरेका थिए।
नगरपालिका स्वास्थ्य शाखा प्रमुख सुरेशप्रसाद गैरेका अनुसार अस्पतालमा एक जना मेडिकल अधिकृत, तीन जना नर्स, एक–एक जना अहेव र हेल्थ असिस्टेन्ट, एक जना ल्याब कर्मचारी तथा तीन जना कार्यालय सहयोगी कार्यरत छन्। अस्पतालमा सामान्य उपचारसँगै प्रयोगशाला (ल्याब) सेवा, एक्स–रेलगायतका स्वास्थ्य सुविधा उपलब्ध गराइएको छ।
अस्पताल सञ्चालनका लागि चालु आर्थिक वर्षमा भूमिकास्थान नगरपालिकाले २५ लाख रुपैयाँ र संघीय सरकारले ८४ लाख रुपैयाँ बजेट विनियोजन गरेको स्वास्थ्य शाखा प्रमुख गैरेले जानकारी दिए।
अस्पताल सञ्चालनमा आएपछि भूमिकास्थानका खिल्जी, असुरकोट, नुवाकोट, धारापानी, ढाकावाङ, लगायतका गाउँका स्थानीयवासी प्रत्यक्ष लाभान्वित हुने नगर प्रमुख थापाले बताए। सामान्य स्वास्थ्य समस्या लिएर उपचारका लागि सदरमुकाम सन्धिखर्क धाउनुपर्ने बाध्यता अब हट्ने उनको भनाइ छ।
स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यअनुसार अस्पताल सञ्चालनमा ल्याइएको भन्दै नगर प्रमुख थापाले आगामी दिनमा अस्पतालको सेवा क्रमशः विस्तार गर्दै थप विशेषज्ञ तथा आवश्यक स्वास्थ्य सुविधा उपलब्ध गराउने प्रतिबद्धता जनाए।
गाउँमै अस्पताल सञ्चालनमा आएपछि स्थानीयवासीलाई सामान्यदेखि आवश्यक स्वास्थ्य परीक्षण तथा उपचारका लागि टाढा जानुपर्ने समय र खर्च दुवै घट्ने अपेक्षा गरिएको छ। अस्पतालले ग्रामीण क्षेत्रका नागरिकको स्वास्थ्य सेवामा पहुँच बढाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।















