
- सन्धिखर्क नगरपालिकाले विपद् व्यवस्थापन कोषबाट ५ लाख ५५ हजार ५५५ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने निर्णय गरेको छ।
- नगरपालिकाका जनप्रतिनिधिहरूले आफ्नो सेवा सुविधा बापतको रकम कट्टा गरी राहत कोषमा जम्मा गर्ने भएका छन्।
- पाणिनी गाउँपालिकाका कर्मचारीहरूले पनि आफ्नो ५ दिनको तलब बराबरको रकम विपद् प्रभावितका लागि सहयोग गर्ने निर्णय गरेका छन्।
अर्घाखाँची, १७ भदौ । रसुवालगायतका जिल्लामा आएको बाढीपहिरो तथा विपद्का कारण ठूलो जनधनको क्षति भएपछि अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले विपद् प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग गर्ने निर्णय गरेको छ ।
नगरपालिकाले विपद् व्यवस्थापन कोषबाट रु. ५ लाख ५५ हजार ५५५ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराउने निर्णय गरेको नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले बताए ।
जनप्रतिनिधिले पनि सेवा–सुविधाको रकमबाट सहयोग गर्ने सन्धिखर्क नगरपालिकाका जनप्रतिनिधिहरूले समेत आफ्नो सेवा–सुविधाबाट रकम कट्टा गरी विपद् प्रभावितका लागि सहयोग गर्ने निर्णय गरेका छन्।
निर्णयअनुसार नगरपालिकाका नगर प्रमुखले रु. २१ हजार, नगर उपप्रमुखले रु. १५ हजार, प्रत्येक वडा अध्यक्षले रु. १२ हजार, कार्यपालिका सदस्यले रु ७ हजार र वडा सदस्यले रु। २ हजार का दरले प्राप्त गर्ने सेवा–सुविधाको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराउने निर्णय गरिएको छ।
नगरपालिकाको निर्णयमा विपद्का कारण प्रभावित तथा पीडित परिवारलाई राहत र पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले सम्पूर्ण जनप्रतिनिधिका तर्फबाट उक्त रकम उपलब्ध गराउने उल्लेख छ।
नगरपालिकाको बैठकले विपद्का कारण तटीय क्षेत्रमा भएको अकल्पनीय मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ। साथै, विपद्बाट प्रभावित नागरिकको शीघ्र उद्धार, राहत, स्वास्थ्य उपचार तथा पुनःस्थापनामा आवश्यक सहयोग गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ।
त्यस्तै पाणिनी गाउँपालिकाका कर्मचारीहरूले आफ्नो पाँच दिन बराबरको तलब सहयोग गर्ने भएका छन्। पाणिनी गाउँपालिकाका कर्मचारीहरूको आकस्मिक बैठकले विपद्का बेला मानवीय सहयोगमा हातेमालो गर्ने निर्णय गर्दै सबै राष्ट्रसेवक कर्मचारीको मासिक तलबबाट पाँच दिन बराबरको रकम कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत सुवर्ण खनालले बताएका छन्।
गाउँपालिकाको प्रशासनिक कार्यालय, वडा र मातहतकाल झन्डै १ सय ४० कर्मचारीले ५ दिन बराबरको रकम सहयोग गर्ने निर्णय गरेको गाउँपालिकाका लेखापाल मोहन खनालले बताएका छन् । सबैको ५ दिनको तलब झन्डै ९ लाखको हाराहारीमा हुनेछ ।
विपद्का कारण ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्दै घाइते तथा प्रभावित नागरिकको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। साथै बाढीका कारण घरबारविहीन तथा प्रभावित नागरिकको खोज, उद्धार, राहत र पुनः स्थापनाको काममा कुनै ढिलाइ नगर्न नेपाल सरकारसँग आग्रह गरेका छन्।
गत साउन १० गते भोटेकोसी र त्रिशूली नदीमा आएको अप्रत्याशित तथा आकस्मिक बाढीका कारण भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै गाउँपालिकाका कर्मचारीहरूले आफ्नो तर्फबाट पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन्।
बैठकको निर्णयअनुसार गाउँपालिकाको कार्यालय तथा मातहतका कार्यालयमा कार्यरत सम्पूर्ण राष्ट्रसेवक कर्मचारीको मासिक तलबबाट प्रतिकर्मचारी पाँच दिन बराबरको रकम कट्टा गरिनेछ। उक्त रकम एकमुष्ट रूपमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने गाउँपालिकाले जनाएको छ।















