पाणिनिको तपोभूमिलाई विश्व ज्ञानको केन्द्र बनाउन आग्रह

रुपन्देही । नेपाली भाषाका अन्वेषक तथा संस्कृत व्याकरणका विद्वान् महर्षि पाणिनिको योगदानलाई जोगाउन र भाषा विज्ञानको विकासमा पाणिनिले पुर्‍याएको योगदान विश्व बौद्धिक इतिहासमा कायम राख्न यससँग सरोकार राख्ने १६ जना विद्वानहरुको कार्यपत्रमाथि छलफल भएको छ ।

करिब अढाई हजार वर्षअघि पाणिनिले प्रतिपादन गरेको व्याकरणिक प्रणाली आज पनि भाषा विज्ञान, संस्कृत अध्ययन र आधुनिक कम्प्युटर प्रविधिसँग जोडिएर अध्ययन भइरहे पनि जनस्तरमा पुग्न नसकेको भन्दै उनीहरूले ऐतिहासिक तथा बौद्धिक सम्पदासँग जोडिएको पाणिनि तपोभूमिको संरक्षण, अनुसन्धान र प्रवर्द्धन गर्न जरुरी रहेको सुझाए ।

महर्षि पाणिनिको योगदान, पाणिनि तपोभूमिको ऐतिहासिक तथा सांस्कृतिक महत्त्व र संस्कृत भाषाको संरक्षण एवं प्रवर्द्धनका विषयमा बुटवलमा आयोजित महर्षि पाणिनि तपोभूमि बृहत् ज्ञान महोत्सव २०८३ आयोजना गरिएको हो ।

महोत्सवमा विभिन्न क्षेत्रका १६ जना विज्ञहरूले पाणिनिको योगदान, अष्टाध्यायी व्याकरण, संस्कृत भाषा, पाणिनि तपोभूमिको ऐतिहासिक तथा पुरातात्त्विक महत्त्व, पर्यटन विकास र पाणिनि सर्किटलगायतका विषयमा विज्ञ तथा अनुसन्धानकर्ताले कार्यपत्र प्रस्तुत गरेका थिए ।

महोत्सवलाई सम्बोधन गर्दै श्री १००८ स्वामी लोकानन्दले महर्षि पाणिनिको योगदान र तपोभूमिको विकासका लागि ‘पाणिनि विकास कोष’ निर्माण गर्नुपर्ने माग गरे ।

पाणिनिसँग जोडिएको ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र विकासका लागि राज्यको प्राथमिकता आवश्यक रहेको बताउँदै उनले छुट्टै विकास कोष निर्माण गरेर योजनाबद्ध रूपमा काम गर्नुपर्नेमा जोड दिए ।

उनले पाणिनिको योगदान केवल संस्कृत व्याकरणमा मात्र सीमित नरहेको उल्लेख गर्दै भाषा, ज्ञान, दर्शन र विश्व बौद्धिक परम्परामा पाणिनिको योगदानलाई नयाँ पुस्तासम्म पुर्‍याउनुपर्ने बताए ।

लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरले लुम्बिनी प्रतिष्ठानसम्बन्धी विधेयक आगामी प्रदेशसभा अधिवेशनमा प्रस्तुत गरी कार्यान्वयनतर्फ अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । प्रदेशका ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्त्विक सम्पदाको संरक्षण र प्रवर्द्धनका लागि कानुनी तथा संस्थागत आधार आवश्यक रहेको उनले बताए ।

सभामुख घर्तीले पाणिनि तपोभूमिसहित प्रदेशका महत्त्वपूर्ण सम्पदालाई व्यवस्थित ढङ्गले संरक्षण गर्दै भावी पुस्तासम्म हस्तान्तरण गर्नुपर्नेमा जोड दिए । यस्ता विषयमा प्रदेश सरकार, स्थानीय तह, विज्ञ तथा सरोकारवालाबीच सहकार्य आवश्यक रहेको उनको भनाइ थियो ।

प्रदेशका सामाजिक विकासमन्त्री रामजीप्रसाद घिमिरेले अर्घाखाँची धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्त्वपूर्ण क्षेत्र रहेको बताए । पाणिनिसँग सम्बन्धित ऐतिहासिक तथ्य र योगदानबारे अझै धेरै मानिसलाई जानकारी गराउन आवश्यक रहेको उल्लेख गर्दै उनले पाणिनिको नाम र योगदानलाई व्यापक रूपमा स्थापित गर्न ज्ञान महोत्सवजस्ता कार्यक्रम फलदायी हुने बताए ।

उनले पाणिनि तपोभूमि र त्यससँग जोडिएका धार्मिक तथा सांस्कृतिक क्षेत्रको विकाससँगै प्रचारप्रसार गर्न सके आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने धारणा राखे । पाणिनिको योगदानलाई शैक्षिक, सांस्कृतिक र पर्यटन क्षेत्रसँग जोडेर अघि बढाउनुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा वरिष्ठ पत्रकार तथा अधिवक्ता डा. बालकृष्ण चापागाईँले ‘पाणिनि संस्कृत व्याकरण र भाषिक सञ्चारका प्रणेता’ तथा दर्शनाचार्य मुकुन्दराज पोखरेलले ‘पाणिनि अष्टाध्यायदेखि आधुनिक कम्प्युटरसम्म’ विषयमा आफ्ना धारणा राखे । त्यसैगरी शिक्षाविद् उत्तरकुमार पराजुलीले ‘पाणिनि यज्ञवल्क्य शिक्षामा प्रकृतिसँगको तादात्म्य र लिनुपर्ने शिक्षा’ विषयमा कार्यपत्र प्रस्तुत गरे ।

लुम्बिनी वाङ्मय प्रतिष्ठानका अध्यक्ष ऋषिराम आचार्य ‘आजाद’ले ‘पाणिनि तपोभूमि र सांस्कृतिक राष्ट्रवाद’ विषयमा धारणा राखे । संस्कृत रत्न कृष्णप्रसाद कोइरालाले ‘पाणिनिको काव्यिक वैशिष्ट्य’ तथा नेपाल संस्कृत विश्वविद्यालयका अष्टाध्यायी व्याकरणविद् कृष्णप्रसाद भण्डारीले ‘पाणिनि विरचित अष्टाध्यायी र त्यसको महत्त्व’ विषयमा कार्यपत्र प्रस्तुत गरे ।

पूर्ववरिष्ठ अधिकृत टोपलाल शर्माले ‘पाणिनि र पणेना अन्तरसम्बन्धको विश्लेषण’ विषयमा प्रस्तुति दिँदै पाणिनिसँग जोडिएका स्थान र ऐतिहासिक सम्बन्धबारे चर्चा गरे । वरिष्ठ पत्रकार तथा पर्यटनविद् डी.आर. घिमिरेले ‘पाणिनि तपोभूमिः ऐतिहासिक आधार, अनुसन्धान र भावी सम्भावना’ विषयमा कार्यपत्र प्रस्तुत गरे ।

वन विज्ञ धनञ्जय पौडेल र सागर बेल्वासेले ‘बृहत् पाणिनि सर्किट अवधारणा : दिगो विकासका आधारहरू’ विषयमा प्रस्तुति दिए । नेपाल नाट्य प्रतिष्ठान लुम्बिनी प्रदेशका अध्यक्ष डा। नारायणप्रसाद पन्थले ‘वैयाकरण महर्षि पाणिनिको योगदानको रूप रेखाङ्कन’ विषयमा कार्यपत्र प्रस्तुत गरे ।

त्यसैगरी प्रा.डा. मोहनप्रसाद पन्थीले पाणिनि तपोभूमि वरपरका सुनगाभा तथा महत्त्वपूर्ण रूख र औषधी’, संस्कृतिविद् राजेन्द्रकुमार आचार्यले ‘व्यक्तित्व कृतित्वको आलोकमा पाणिनि’ तथा पुरातत्त्वविद् रामप्रसाद भट्टराईले ‘पाणिनि तपोभूमि पुरातात्त्विक संरक्षणको सम्भावना’ विषयमा कार्यपत्र प्रस्तुत गरे ।

सह–प्राध्यापक लीलबहादुर केसीले ‘अष्टाध्यायीको प्रत्याहार सूत्र र बीजगणितीय अल्गोरिदम’, पुरातत्त्व विभागका शाखा अधिकृत विष्णु घर्तीले ‘पाणिनिको ज्ञान दर्शनको आलोकमा नेपाली बहुजातीय समाज र राजनीति’ तथा डा. श्यामप्रसाद न्यौपानेले ‘अष्टाध्यायीमा महिलाको सामाजिक अवस्था’ विषयमा प्रस्तुति दिए । महोत्सवकै अवसरमा संस्कृतिविद् राजेन्द्रकुमार आचार्यको ‘हाम्रा अमूर्त सांस्कृतिक सम्पदा’ र संस्कृत भाषा रत्न कृष्णप्रसाद कोइरालाको ‘संस्कृत–संस्कृति’ कृतिको लोकार्पणसमेत गरिएको थियो ।

स्वामी लोकानन्द महाराज, बाबा योगीराजजी तथा कार्यक्रममा उपस्थित अतिथिहरूले दुवै कृतिको लोकार्पण गरेका थिए । कृतिले नेपाली समाजका अमूर्त सांस्कृतिक सम्पदा तथा संस्कृत भाषा र संस्कृतिसम्बन्धी विषयलाई अध्ययन र बहसका लागि थप सामग्री उपलब्ध गराउने विश्वास व्यक्त गरिएको थियो । #nepalpress

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img