काठमाडौं । वैशाख ११ देखि तय भएको कक्षा १२ को परीक्षा स्थगित गरिएको छ ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार अहिलेलाई वैशाख ११ को परीक्षा सार्ने निर्णय भएको हो ।
उनले नेपाल प्रेससँग भने, ‘परीक्षा अहिलेलाई सार्ने निर्णय भएको छ । हामी अहिले बैठक बसेर नयाँ मिति तोक्नेछौं । ‘
आज बिहानमात्र परीक्षा बोर्डको बैठकले शिक्षक आन्दोलनका बाबजुद परीक्षा पूर्वनिर्धारित मितिमै सञ्चालन गर्ने बताएको थियो । शिक्षकहरू कक्षाकोठामा नफर्किएको अवस्थामा निजामती कर्मचारी परिचालन गरेर परीक्षा सञ्चालन गर्ने विकल्पमा पनि सरकारको तयारी थियो ।
२१ दिनदेखि शिक्षक र विद्यालयका कर्मचारीको आन्दोलनको दबाब झेल्न नसकेर शिक्षामन्त्री विद्या भट्टराईले हिजोमात्र राजीनामा दिएकी छन् ।