डा.उमेशप्रसाद घिमिरे ´प्रविधिसँग वैदिक वाङ्मय` भन्ने मूलमन्त्र जप्दै ज्ञान विज्ञानको समन्वयबाटै समाज समृद्ध बन्न सक्छ भन्ने सद्विचार बोकी तन्मन्त्रलाई नित्यनिरन्तर ठोस कार्यान्वयन गर्न तल्लीन डा. केएन स्वामी पछिल्लो समय नेपाली समाजमा एक उत्साही कर्मयोगी सन्न्यासीका रूपमा प्रतिष्ठित हुनु हुन्छ । आधुनिक गुरुकुलका समुन्नायक डा. स्वामी रामानन्द गिरिका योग्यतम शिष्य श्रीकेशवानन्द गिरि वैदिक अनुसन्धान गुठीका संस्थापक अध्यक्ष हुनुहुन्छ । डा. रामानन्द गिरिद्वारा स्थापना गरिएको महेश संस्कृत गुरुकुलमा बसी गुरुकुलीय प्राच्य शिक्षा ग्रहण गर्नु भएका स्वामी केशवानन्द विद्यार्थी अवस्थादेखि नै प्रविधिसँग अत्यन्त जानकार र विशेष दख्खल राख्ने प्रविधिज्ञ व्यक्ति हुनुहुन्थ्यो । वैदिक ज्ञानविज्ञानका स्रोतलाई आधुनिक समाजसापेक्ष प्रविधिमैत्री बनाई जनमानसमा पस्कनु पर्छ भन्ने लक्ष्य लिएर अघि बढ्नु भएका स्वामीज्यूले यस अघि नै संस्कृत-नेपाली- शब्दकोशको मोवाइल एप निर्माण गरी संस्कृत तथा नेपाली भाषाभाषीका लागि अद्वितीय योगदान पु-याइ सक्नु भएको छ । अक्षय तृतीयाका अवसरमा धर्मकर्म-वेबसाइड तथा मोवाइल एप सञ्चालनमा ल्याएर पौरस्त्य धर्म-दर्शनका क्षेत्रमा अक्षय्य अवदान दिनु भएको छ । वैदिक शास्त्रको रक्षाका लागि गुरुकुल अपरिहार्य छ तर नेपालमा जनसमुदायको दानदातव्यबाट चलेका थोरै गुरुकुल र ती गुरुकुलबाट उत्पादित सीमित जनशक्तिद्वारा मात्र आजको विशाल विश्व-समाजलाई लाभान्वित गर्न सहज नहुने भएकाले विज्ञानले विकास गरेका नयाँनयाँ प्रविधिको सदुपयोग गरी वैदिक ज्ञानलाई विश्वभरका जिज्ञासुमा सहजरूपमा पहुँचयोग्य बनाउनु पर्ने स्वामीजीको विचार अत्यन्त स्तुत्य र अनुसरणीय रहेको छ । स्वामीज्यूले केवल विचार प्रदान तथा प्रवचन मात्र नगरेर कार्यान्वयन समेत गरेर विश्वभरका वैदिक-अनुयायी तथा समस्त जिज्ञासु, अनुसन्धाता तथा अध्येताका लागि अतुलनीय योगदान पुर्याउनु भएको छ । आजको विज्ञान र प्रविधिको युगमा विज्ञानलाई गाली गरेर होइन, विज्ञानका उपलब्धिलाई सही सदुपयोग गरेर पौरस्त्य संस्कृत-वाङ्मयमा निहित ज्ञानविज्ञान तथा आचारविचारलाई सर्वसुलभ बनाउनु पर्ने चेतनालाई कार्यान्वयन गर्दै अघि बढ्नु भएका डा. केएन स्वामी ज्ञान र विज्ञानलाई एकसाथ अघि बढाउन सफल आधुनिक जोगी हुनु हुन्छ ।
शिक्षा केवल ज्ञानार्जनमात्र नभएर चरित्रनिर्माण पनि हो भन्ने मूलमन्त्र र समाजलाई अनुशासित, मर्यादित र शिष्ट बनाउनका लागि भोलिका देशका कर्णाधारका रूपमा रहेका सबै नेपाली समाजका बालबालिकालाई आज नै शिष्ट र संस्कारी बनाउनु पर्छ भन्ने ध्येयका साथ विगत वर्षहरूदेखि नै काठमाडौं, गौरीघाटस्थित स्वकीय वाग्-आश्रम र जाउलाखेलस्थित सत्सङ्ग भवनमा ६ वर्षदेखि १५ वर्षसम्मका आधुनिक (बोर्डिङ्-स्कुल) विद्यालयमा अध्ययनरत सयौँ बालबालिकाहरूलाई उहाँले संस्कारशिक्षा प्रदान गर्दै आउनु भएको छ । स्वयमेव संस्कार शिक्षाका माध्यमले बालबालिकालाई नेपाल राष्ट्रको धर्म, संस्कृति, चाडपर्व, रीतिरिवाज, जीवनपद्धति, नीतिशिक्षा सिकाउँदै आउनु भएका स्वामीजी अहिलेको समाजले अपेक्षा गरेको आवश्यकतालाई परिपूर्ति गर्न दत्तचित्त, कर्मठ, युगबोधी तथा दूरदर्शी कर्मयोगी हुनुहुन्छ । संस्कारशिक्षाको पाठ्यक्रमसहित पाठ्यपुस्तक निर्माण गरी बालबालिकामा पौरस्त्य ज्ञानविज्ञान तथा नेपाली संस्कार संस्कृतिको गहिरो छाप तथा संस्कार आधान गर्दै आउनु भएका स्वामीजीद्वारा निर्माण गरिएको संस्कार शिक्षाको पाठ्यक्रम काठमाडौं, भक्तपुर र ललितपुर लगायत उपत्यका बाहिर सञ्चालित दर्जनौँ निजी तथा सामुदायिक विद्यालयहरूले लागू गरिसकेका छन् र लागू गर्ने क्रम निरन्तररूपमा बढिरहेको छ । संस्कार शिक्षा-१ लाई समाज र विद्यालयहरूले अति नै रुचाएपछि लाभग्राहीको अपेक्षा अनुरूप पुन: संस्कार शिक्षाको भाग-२ पाठ्यपुस्तक निर्माण गरी विशिष्ट समारोहका बीच पुन: डा. केएन स्वामीद्वारा गौरीघाट, पशुपतिमा लोकार्पण भएको छ ।
संस्कृत वाङ्मयमा निहित ज्ञानविज्ञानलाई वर्तमान समाजको रूचि र प्रवृत्तिलाई सम्बोधन गर्नका लागि दृश्य-श्रव्य (भिडियो) सामग्रीको निर्माण तथा प्रकाशनका लागि वाग्-स्टुडियो समेत आश्रमद्वारा सञ्चालनमा आएको छ ।
संस्कारशिक्षा, वेद, रुद्री, व्याकरण आदि शास्त्रीय ग्रन्थहरूको स्वाध्याय, प्रवचन, सम्पादन तथा लेखन-प्रकाशन गर्दै आउनुभएका स्वामीज्यू विगत २/३ वर्षदेखि नै ‘महाभारत’ जस्तो विशालकाय ग्रन्थको अनुवाद गर्न व्यस्त हुनु हुन्छ । यस गुरुतम कार्यले शीघ्रातिशीघ्र पूर्णता पाओस् र नेपाली समाज महाभारतीय ज्ञान ग्रहणका लागि सफल बनोस्-यही नै शुभेच्छुक हामी सबैको शुभभाव छ । आफ्नो उमेरको अत्यन्त छोटो समयमा नै एकपछि अर्को नयाँ-नयाँ समाजोपयोगी बौद्धिक कार्य सम्पन्न गर्न सफल डा. केएन स्वामीजी नेपाली समाजमा राष्ट्रिय चेतना जगाउने सच्चा राष्ट्रवादी व्यक्तित्वका रूपमा समेत स्थापित हुनुहुन्छ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति, नेपाली पहिचान, नेपाली प्राकृतिक, सांस्कृतिक सम्पदाका बारेमा देशविदेशमा आयोजित दर्जनौँ सभा-समारोह, विद्यालय-महाविद्यालयका कार्यक्रम, नेपालका मुख्य मिडिया-माध्यम आदि क्षेत्रमा स्वामीज्यूका ज्ञानवर्धक तथा उत्साहमूलक प्रवचनहरू मुटु नै हल्लाउने गरी गर्जिरहेका छन् । समाज र राष्ट्रका सबै तह र तप्काका लागि स्पष्ट मार्गदर्शक सिद्धान्तका रूपमा उहाँका प्रवचन श्रवणीय र अनुसरणीय छन् ।
लेखन सम्पादन, स्वाध्याय, प्रवचन, प्रकाशन आदिका माध्यमले पौरस्त्य ज्ञानविज्ञानको प्रवर्धनका लागि जीवन समर्पण गर्न होमिनु भएका डा. केएन स्वामीमा विद्यमान जोस, जाँगर, कार्यकौशल तथा उत्साहलाई अभिवृद्धि गर्नु समस्त पौरस्त्य धर्मदर्शनका अनुयायी, ज्ञानपिपासु सम्पूर्ण नेपालीको प्रमुख दायित्व हो, अतः ज्ञानज्योति फिजाउँने उद्देश्यद्वारा स्वामीज्यूबाट प्रज्वलित वैदिक अनुसन्धात गुठी (वाग्) रूपी दीपमा घिउ-तेल थपी त्यो ज्योतिद्वारा आफू र आफ्ना सन्तति वा राष्ट्र र समाजलाई सर्वदैव आलोकित बनाउने सत्प्रेरणा बाबा पशुपतिनाथ र माता गुह्येश्वरीले हामी सबैलाई प्रदान गरून् भन्ने प्रार्थनापूर्वक सच्चा कर्मयोगी डा. स्वामी केशवानन्दज्यूप्रति शतशः नमन ! जयतु संस्कृतम्!! जयतु वाग्!!