बुटवल । नेपालमा हरेक वर्ष करोडौँ जनै खपत भए पनि यसको ठूलो हिस्सा भारत र चीनबाट आयात हुने गरेको छ। अब यस निर्भरता घटाउने लक्ष्यका साथ बुटवलमा सञ्चालित संस्कार जनै उद्योगले स्वदेशमै उत्पादन विस्तार गर्दै निर्यातसम्मको यात्रा सुरु गरेको छ।

हरि ऊँ पूजा सामग्री उद्योगले सञ्चालन गर्ने यस उद्योगमा शास्त्रीय विधिअनुसार पूर्ण सरा र शिखासहितको ५४ सरे जनै तथा रक्षाबन्धन उत्पादन हुन्छ। पण्डित जनार्दन न्यौपानेका अनुसार, विदेशी जनैको आयात रोक्ने, धर्मसंस्कृतिको संरक्षण गर्ने र स्वदेशमै रोजगारी सिर्जना गर्ने उद्देश्यका साथ उद्योग सञ्चालनमा ल्याइएको हो।
जनै लगाउँदा संस्कार समेत झल्किनुपर्छ भन्ने मान्यताका साथमा उद्योग स्थापना गरिएको उनले बताए । जनैपूर्णिमामा मात्र नभएर पितृ कार्य र अन्य पूजाआजामा समेत जनैको माग अत्यधिक हुने भएकाले नेपाली बजारको माग पूरा गर्न कठिन रहेको पनि न्यौपानेको भनाई छ ।
चार वर्षअघि २५ लाखको लगानीमा सुरु भएको उद्योगले वार्षिक १५ लाख भन्दा बढी जनै उत्पादन गर्छ। नेपालमा मात्रै नभई युरोप, अमेरिका लगायतका मुलुकमा रहेका नेपाली समुदायका लागि पनि जनै निर्यात हुँदै आएको छ।
उद्योगका व्यवस्थापक लोकनाथ काफ्लेका अनुसार, अहिले १२५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन्। उनले जनै उत्पादनका लागि केही कच्चा पदार्थ भारतबाट ल्याए पनि उत्पादन र गुणस्तर भने पूर्ण रूपमा नेपाली संस्कारअनुसार भएको बताए। अर्का सञ्चालक सुन्दर भण्डारीका अनुसार, बाहिरबाट आउने जनैमा नेपालमा पालन हुने विधि र संस्कारको अभाव हुन्छ, त्यसैले स्वदेशी जनैको प्रयोग आवश्यक छ।

नेपालमा वार्षिक करिब ५ करोड जनैको माग भए पनि अहिले स्वदेशमा केवल १ करोड मात्र उत्पादन हुने तथ्याङ्क छ। उद्योगका सञ्चालकहरूका अनुसार, यदि सबै नेपालीले नेपाली जनै प्रयोग गर्न सुरु गरे भने यस क्षेत्रमा पूर्ण आत्मनिर्भरता हासिल गर्न सकिन्छ र ठूलो मात्रामा वैदेशिक मुद्रा बचत हुनेछ।













