घनश्याम पौडेल
अर्घाखाँची, १६ भदौ । अर्घाखाँचीका नेवार समुदायको पहिचानका रुपमा नाचिने भैरव नाच नाच्न सुरु भएको छ । भैरव नाच अर्घाखाँचीका नेवार समुदायको मौलिक नाचका रुपमा रहेको छ ।
भैरव नाच श्रीकृष्ण जन्माष्टमीको दिन शुरू गरी कार्तिक औंशीसम्म नाचिन्छ (देउसी, भैलीको मादल बज्नु अगाडि यस नाचलाई विसर्जन गर्नुपर्छ भन्ने स्थानीय मान्यता छ ।) त्रान्त्रिक विधिबाट सुरु गरिने यो नाच रातको समयमा विशेषगरी सूर्य अस्ताएपछि सूर्योदयअघिसम्म स्थानीय चलनअनुसार विहान भाले बास्नु अघिसम्म नाच्ने गरिन्छ ।
कथंमकदाचित नाच्दै गर्दा उज्यालो भयो, खोला तरेर अन्यत्र गाउँमा गइ नाच्नुप¥यो भने बोकाको बली दिनुपर्छ भन्ने मान्यता रहेको छ । यो नाच अर्घाखाँचीका नेवार समुदायको मौलिक नाचका रूपमा प्रचलित छ। यसमा काल भैरव मुख्य मानिन्छन् भने श्वेत भैरव र रातो भैरव सहायक हुन्छ। साथमा डंकिनी पनि हुन्छ। भैरवको स्वरूपमा हुने यस नाचका नर्तकलाई भगवान्को प्रतीकका रूपमा पूजा गरिन्छ। डंकिनीलाई नारी स्वरूपको रूपमा पूजा गरिन्छ।
तीनवटै भैरव आफ्नो भूमिका अनुसारका रङमा खप्पर, कपडा, चौंरी गाईको पुच्छर, मालासहित शृंगार गरी भगवान्को आकृतिमा सजिएका हुन्छन्। पुरुष नर्तक महिलाको भेषमा शृंगार गरेको हुन्छ, जसलाई डंकिनी भनिन्छ। डंकिनीको भूमिका नखुले पनि भैरव नाचको अभिन्न अंगका रूपमा रहँदै आएको छ।
भैरव नाच सात तालसम्म नाचिन्छ। सामान्यतया एउटा ताल २० मिनेटको हुन्छ। सातवटै ताल (पटक) को लय फरकफरक हुन्छ। नाचलाई थप रोचक बनाउन लाठी नाच, घोडा नाच, चरा नाच, लाहुरे लाहुरेनी नाच, भालु नाच, भुच्याङलगायत हास्यव्यङय विधा मिसाएर नाचलाई थप रोचक र रमाइलो बनाइने अभियान्ता राजकुमार श्रेष्ठले बताए ।
यसवर्षको भैरव नाच सन्धिखर्क नगरपालिका वडा नं. १२ डिर्भना झेडीमा भैरव नाचँ संरक्षण समितीले झेडी बजारबाट शुभारम्भ गरिएको बसन्त श्रेष्ठले बताए । ‘श्रीकृष्ण जन्माष्टमीको दिनदेखि सुरु हुन्छ,’ उनले भने, ‘तिहारको मादल बज्नुअघि यसलाई विसर्जन गर्नुपर्छ।’
रातमा मात्र नाचिने यो नाँच हेर्न हजारौं दर्शकको उपस्थिति रहेको थियो। भैरव नाच नेवार समुदायमा मात्र नभई अन्य समुदायमा पनि लोकप्रिय छ। अर्घाखाँचीको भैरव नाँच छिमेकी जिल्ला गुल्मी, प्युठान, पाल्पा, कपिलवस्तु, रूपन्देहीलगायत काठमाडौंमा समेत लोकप्रिय छ। विभिन्न सम्पर्क समाजको आयोजनामा बाहिरी जिल्लामा पनि भैरव नाच देखाउने गरिएको छ। भारतको नयाँदिल्लीमा पनी यो नाच पुगेको छ ।
अर्घाखाँचीको डिभर्ना, पटुवाथुम, लात्तेबाज र नुवाकोटबाट यो नाच निकालिँदै आएको छ। प्छिल्लो समय युवा पुस्तामा पनि यो नाँच विस्तार हुदैँ गएको छ। ‘तान्त्रिक विधिसहित नाचिने यस नाच नेवार बाहुल्य समाजमा प्रचलित रहँदै आएको छ । भिन्न परिवेश र भिन्न रहन सहनमा हुर्किएका नेवार समुदायबीच नाचको शैली पनि भिन्न प्रकारको देखिने गरेको छ । तर, पछिल्लो समयमा बढ्दो बसाइसराइँ र आफ्नो थातथलो छोड्ने प्रवृत्तिका कारण यो नाच लोप हुने स्थितिमा रहेको छ ।’
नेवार समुदायको मौलिक नाचका रुपमा रहेको यो नाच अर्घाखाँचीमा कहिलेदेखि सुरु भयो त्यसको एकिन तथ्य नभए पनि पुस्तौदेखि यो नाच नाच्ने क्रम रहेको सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले बताए । नेवार समुदायको नाच भए पनि यस नाचमा विभिन्न जातिका मानिसको सहभगिता रहने भएकाले यसले एक किसिमको जातीय सद्भावसमेत कायम गर्दै आएको श्रेष्ठले बताए ।
धार्मिक आस्था एवम् रोचक भए पनि नयाँ पुस्ताको चासो घट्दै जाँदा यो नाच लोप हुने स्थितिमा रहेको छ । अघिल्लो पुस्ताको तुलनामा अहिलेको पुस्तासम्म आइपुग्दा यसको सौन्दर्य एवम् तालको मिठासमा कमी आइरहेको सन्दर्भमा यसको संरक्षण र प्रवद्र्धन नभए आउँदो पुस्ताका निम्ति यो नाच कथाजस्तै हुने अभियान्ता समेत रहेका नगरप्रमुख श्रेष्ठको भनाइ छ ।
नेवार समुदायका विभिन्न प्रचलित एवम् ऐतिहासिक नाचहरु मध्येको एक भैरव (भैरम) नाच यस समुदायभित्र मात्रै होइन अन्य समुदायका बीचमा पनि लोकप्रिय छ ।तान्त्रिक विधिसहित नाचिने यस नाच नेवार बाहुल्य समाजमा प्रचलित रहँदै आएको छ ।
रहन सहन, जीवनशैली, तान्त्रिक ज्ञानको कमी वा अन्य समुदायको प्रभावले पनि हुनसक्छ यस नाचको शैली स्थान विशेष फरक पाइन्छ । नाचको शैली र बाजाको ताल भिन्न भए पनि यसप्रतिको जनआस्था, धार्मिक मान्यता र जनविश्वास भने उत्तिकै रहेको डिर्भना झेडी भैरम नाच संरक्षण समितीका अध्यक्ष चन्दलाल श्रेष्ठले बताए ।
यसको विशिष्ट प्रकारको बाजाको ताल, नर्तकहरुमा उजागर हुने एक किसिमको ऊर्जाले (अलौकिक शक्तिको आभास) समेत प्रदान गर्छ । जसका कारण यस समुदायका व्यक्तिको धार्मिक आस्था त छँदै छ अन्य समुदायका व्यक्तिलाई पनि मोहित भैरव नाचले पार्ने गरेको छ ।













