२८ माघ २०८२, बुधबार
२८ माघ २०८२, बुधबार
spot_img

बृहत्-पाशुपतपरिक्रमा-विमर्श

डा. उमेशप्रसाद घिमिरे ।  पशुपतिक्षेत्र शङ्कराचार्यमठमा मिति २०८२ माघ २० गतेका दिन ‘बृहत्-पाशुपत-परिक्रमा’ सम्बन्धमा विमर्शसभा सम्पन्न भयो । महेश संन्यास आश्रमका पीठाधीश रमणानन्द गिरिको सभाध्यक्षतामा सम्पन्न विद्वगोष्ठीमा डा.रुद्रानन्द स्वामी, संस्कृतिविद् प्रा.डा. जगमान गुरुङ, प्राध्यापक भवानीप्रसाद खतिवडा लगायतका विशिष्ट विद्वानहरूको समुपस्थिति रहेको थियो । समारोह‌मा प्राध्यापक भवानीप्रसाद खतिवडाज्यूले स्वामी रमणानन्दज्यूको सत्सङ्कल्पका रूपमा आयोजना गर्न लागिएको पाशुपत-परिक्रमा तथा ६४ ज्योतिर्लिङ्गदर्शन कार्यक्रमलाई भव्यतापूर्वक सफल बनाउन समस्त अध्यात्मप्राण धर्मानुरागीलाई विशेष आह्वान गर्नु भयो । त्यस उपक्रम मन्तव्यका क्रममा चौसट्ठी लिङ्ग रहेका विभिन्न जिल्लाका स्थानहरूमा स्थानीयलाई सहभागी गराउनका लागि विभिन्न स्वागत-समिति तथा सह‌योग व्यवस्थापन उपसमिति गठन गर्नुपर्ने जसले गर्दा स्थानीय जनसमुदाय जागरूक र अध्यात्मप्रति अभिप्रेरित हुने धारणा राख्नु भएको थियो । उक्त परामर्श गोष्ठीमा श्रीपशुपति अर्चना सुव्यवस्था प्रतिष्ठानका महासचिव श्रीप्रमोद मिश्रज्यूले लिङ्ग‌यात्रा शास्त्र सम्मत रहेको र यो २०२३ सालसम्म निरन्तर चलि आएको तर पछिल्लो समय राजनीतिक दुष्प्रभावले गर्दा सो परम्परा टुटेको र पुनः स्वामी रमणानन्दज्यूको सदिच्छामा प्रारम्भ हुन लागेकोमा हर्षोद्‌गार प्रकट गर्नु भएको थियो । हिमवत्खण्ड लगायतका पौराणिक ग्रन्थमा विक्षिप्त विरुपाक्षलाई पापमोचनका लागि नेमुनिले ६४ ज्योतिर्लिङ्गको दर्शन गराएको प्रसङ्ग उल्लेख गर्दै लिङ्ग-दर्शन-यात्रा शास्त्रसम्मत रहेको पुष्टि मिश्रले गर्नु भएको थियो ।No photo description available.
पाशुपतक्षेत्रको ६४ शिवलिङ्गका बारेमा अध्ययन, अनुसन्धान दर्शन तथा अनुष्ठान गर्दै आउनुभएका अध्यात्मसाधक तथा युवविद्वान् श्याम सुवेदीज्यूले पशुपतिको आसपास १० जिल्ला (काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली, धादिङ, दोलखा, नुवाकोट, मकवानपुर) मा रहेका ६४ ‌लिङ्ग‌हरूको स्थानगत पहिचान, नामगत किटान र उपासनाको स्वरूप र फल आदिका बारेमा शास्त्रीय प्रमाण र सामाजिक जनश्रुति उपस्थापनपूर्वक महत्त्वपूर्व एवम् अनुसन्धानमूलक जानकारी दिलाउनु भएको थियो । स्वर्गद्वारी आश्रमका उत्तराधिकारी डा. स्वामी रूद्रानन्द गुरुवरले पशुपतितत्त्वका बारेमा प्रकाश पार्दै पशुपतिक्षेत्रको लघुपरिक्रमा, मध्यम परिक्रमा र बृहत् परिक्रमाका बारेमा उल्लेख गर्दै सन्तको सत्सङ्कल्पमा आयोजना हुन लागेको यो पाशुपत परिक्रमा शास्त्रसम्मत रहेको र यसको आयोजनाबाट नेपाली समाजलाई तीर्थमहिमाको बोध हुने, यात्रामा सहभागिताले स्वकल्याणका साथै समाज कल्याण तथा राष्ट्र‌कल्याण हुने शुभाशंसा प्रकट गर्नु भएको थियो । यस यात्राले धर्मजागरण गराउनुका साथै तीर्थक्षेत्रको संरक्षण र सम्वर्धनका लागि स्थानीय जनसमुदाय तथा सरकारलाई सचेत बनाउने विचार स्वामीज्यूले व्यक्त गर्नुभएको थियो । सभाका विशिष्ट अतिथि प्राज्ञ तथा संस्कृतिविद् प्रा.डा. जगमान गुरुङज्यूले नेपाल-देश शिवधाम तथा पशुपतिरक्षित पुण्यभूमि रहेको उल्लेख गर्दै बृहत् पाशुपत पद‌यात्राले सुसुप्त अवस्थामा रहेका समस्त नेपालीलाई स्वधर्म, स्वसंस्कृति, स्वास्तित्व र स्वपहिचानप्रति गौरव गर्नका लागि जागरण ल्याउने विश्वास प्रकट गर्नु भएको थियो । उचित संरक्षण र सम्वर्धनको अभावमा नेपालका विभिन्न स्थलमा शिवलिङ्गहरू क्षतविक्षत हुनुका साथै कोल्टिएका छन् । राष्ट्रदेवको लिङ्ग कोल्टिउन्जेल राष्ट्र‌को ऊर्ध्वगति नहुने, अधोगति भइरहने हुँदा पाशुपतक्षेत्रको महिमा बुझाएर जनतालाई जागरूक बनाउँदै धर्मराष्ट्रका रूपमा नेपाललाई पुनःस्थापित गर्न यस किसिमको आध्यात्मिक पद‌यात्रा तथा तीर्थभ्रमणले महत्त्वपूर्ण भूमिका खेल्न सकोस् भन्ने शुभेच्छासमेत प्रा.डा. गुरुङले व्यक्त गर्नु भएको थियो । सबै ६४ शिवलिङ्गको दर्शन गर्न असमर्थ रहेपनि पायक पर्ने स्थलमा आफू पनि सहभागी हुने भन्दै सम्पूर्ण धर्मप्राण नेपालीहरूलाई यस राष्ट्रिय महायज्ञमा समाहित हुन उहाँले विशेष आग्रह गर्नु भएको थियो ।May be an image of yoga, temple and text that says 'Hmera HONOR 90 200M Matrix 200MPMatrixCamera Camera'
बृहत् पाशुपत पदयात्राका परिकल्पनाकार तथा विद्वद्‌गोष्ठीका सभाध्यक्ष स्वामी रमणानन्द गिरिज्यूले चैत्र-नवरात्रपश्चात् अर्थात् रामनवमीलगत्तै चैत-वैशाख मासभित्र सकिने गरी पाशुपतयात्रा गर्न लागिएको जानकारी सभासमझ प्रस्तुत गर्दै ६४ सिद्धलिङ्ग‌को दर्शनको अवसरलाई सदुपयोग गर्न समस्त अध्यात्मानुरागी तथा धर्मप्राण महानुभावलाई विशेष आग्रह गर्नु भयो । पशुपतिनाथ राष्ट्रदेव भएकाले अनि पशुपतिसमक्ष जनताका तर्फबाट क्षमायाचनासहित राष्ट्र‌कल्याणको पवित्र उद्देश्यले आयोजना हुने यस पदयात्रामा नेपाल तथा भारतमा रहेका सबैजसो सम्प्रदायका आचार्य, साधुसन्त, गुरुहरू तथा भक्तसमुदायको विशेष सहभागिता रहने गिरिज्यूले विश्वास व्यक्त गर्नु भएको थियो । यस पद‌यात्रालाई राष्ट्रिय महोत्सवका रूपमा सबैले लिनु पर्ने, स्थानीयजनसमुदायले यसलाई भव्य बनाउनका लागि प्राष्णिग्राहको भूमिका निर्वाह गरी भरथेग गर्नु पर्ने, सवै सम्प्रदाय र पन्थको प्रतिनिधित्व हुनु पर्ने, राष्ट्र‌देवको आराधना तथा राष्ट्र‌को रक्षाका लागि कुनै सम्प्रदायको भेद हुन नहुने, राष्ट्रदेवको अर्चनाले एकसाथ देवऋण तथा मातृभूमिऋण चुक्ता हुने विचार रमणानन्द स्वामीज्यूले व्यक्त गर्नु भएको थियो । राष्ट्र‌देव पशुपतिनाथको महिमागान तथा भजनकीर्तन गर्दै अघि बढेका साधुसन्त तथा भक्तसमुदायको स्वागत तथा सत्कारका लागि ६४ लिङ्गका आसपासमा रहेका स्थानीय जनसमुदायलाई आजैबाट गुन्द्रुक, मस्यौरा, तामा बनाउन, मकै-भटमास भुट्न, शुद्ध गाईको घिउ तथा तथा महको जोहो गर्न समेत आह्वान गर्नु भए‌को थियो ।May be an image of flute and temple
विभिन्न विशिष्ट विद्वान्‌हरूको पशुपति-तत्त्व विमर्शसहित बृहत्-पद‌यात्राका सम्बन्धमा अत्यन्त ज्ञानवर्धक प्रवचन तथा उद्बोधन भएको उक्त समारोहको सहजीकरण तथा उद्घोषण महेश छात्र-परिषद्‌का अध्यक्ष डा.उमेशप्रसाद घिमिरेले गर्नुभएको थियो । उद्घोषणका क्रममा घिमिरेले राष्ट्रदेव पशुपतिनाथको उपासना तथा सेवाका लागि अनि वैदिक सनातन धर्मको संरक्षणका लागि सन्तसङ्कल्पमा समायोजित ‘बृहत्-पाशुपत-पदयात्रा’ मा कायेन, वाचा, मनसा सहभागी भई आफ्नो र राष्ट्र‌को कल्याणमा योगदान पुर्याउन समस्त धर्मप्राण जनसमुदाय, स्थानीय सरकार तथा समस्त सज्जनवृन्द‌मा सादर आह्वान गर्नु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img