बुटबल । लुम्बिनी प्रदेशमा एमाले–कांग्रेसको नयाँ गठबन्धन बनेसँगै आज नयाँ सरकार बन्ने भएको छ । काँग्रेस र एमालेको तर्फबाट नयाँ मुख्यमन्त्रीको लागि एमाले संसदीय दलका नेता लिला गिरीले मुख्यमन्त्रीमा दावी पेश गर्ने भएका छन् ।
अल्पमतमा परेका मुख्यमन्त्री जोखबहादुर महराले आइतबार प्रदेश सभामा सम्बोधन गर्दै राजीनामा दिएर साँझ नै त्यो पत्र प्रदेश प्रमुख अमिक शेरचनलाई बुझाएका हुन । प्रदेश प्रमुख शेरचनले आइतबार राती नै शेरचनले नयाँ सरकार गठनका लागि संविधानको धारा १६८ को उपधारा २ बमोजिमको नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन ।
सोमबार साँझ साढे ६ बजेसम्मको समय तोकिएकाले सोमबार नै एमालेबाट नयाँ मुख्यमन्त्री नियुक्त हुनेछन् । एमाले–कांग्रेसले सोमबार दिउँसो १ बजे नै दाबी पेश गर्न बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा जाने योजना बनाइसकेका छन् । यही योजनाअनुसार सांसदहरूलाई तयारी रहन खबर गरिएको छ ।
कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले पनि पहिलो चरणमै सरकारलाई पूर्णता दिएर अगाडि बढ्ने सहमति गरिएको बताए । मुख्यमन्त्रीसहित सरकारमा सहभागी हुने मन्त्रीहरूको शपथ एक चरणमा गर्ने गरी तयारी थालिएको चौधरीले बताए ।













