काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज भैरहवा लगिदैछ । शुक्रबार राति निवासबाटै पक्राउ परेका लामिछानेलाई प्रहरीले आज भैरहवा लैजान लागेको हो ।
शुक्रबार राति उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौंकै हिरासतमा राखिएको थियो । प्रहरी स्रोतका अनुसार उनलाई विमानबाट भैरहवा लिन लागिएको छ ।
संगठित रुपमा सहकारी ठगी गरेको आरोप खेपिरहेका रास्वपा सभापति रवि लामिछानेलाई तुलसीपुर उच्च अदालतको बुटवल इजलासले शुक्रबार थुनामा पठाउन आदेश दिएको थियो । त्यसपछि राति प्रहरीले बूढानीलकण्ठस्थित निवासबाटै उनलाई नियन्त्रणमा लिएको थियो ।
न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीले सो आदेश गरेका हुन् । जिल्ला अदालत रुपन्देहीले उनलाई १ करोड धरौटीमा छाड्ने आदेश बदर भएको छ । उच्चको आदेशसँगै लामिछाने पक्राउ परेका थिए ।














