दशै सकियोः अर्घाखाँचीका शक्तिपीठहरुमा ‘सराएँ नाच’

घनश्याम पौडेल
अर्घाखाँची, २२ असौज । बडादसैँको दिन देखी अर्घाखाँचीमा सराएँ नाच सुरु भएको छ । कोजाग्रत पूर्णिमासम्म जिल्लाका कोट तथा शक्तिपीठहरुमा ‘सराएँ नाच’ हुन्छ । सराएँ नाच अर्घाखाँचीको मौलिक नाच हो । यस नाचमा महिला र पुरुषहरु हातमा तरबार, खुँडा, खुकुरी आदि लिएर ‘वाखै भाइ हो ह..’ भन्दै सराएँ नाच्ने गर्दछन् ।

हिन्दु सांस्कृतिक परम्पराको जगेर्ना साथै सबै समुदायबिच धार्मिक र जातीय सद्भाव कायम गरी भाइचाराको सम्बन्ध विस्तार गर्न सराएँ नाच नाच्ने गरिन्छ । सराएँ महिला, पुरुष मात्र नभई सबै जातजाति एकै ठाउँ भएर नाचिने नाच हो । विजयादशमीको दशमीदेखी पूर्णिमासम्म जिल्लाका अधिकांश कोट तथा शक्ति पीठहरुमा नाचिने सराएँ नाच चैते दसैँमा पनि केही ठाउँमा नाचिने गरिन्छ ।

हिन्दुहरूको महान् पर्व बडादसैँमा नाचिने सराएँ नाच विजयादशमीको दिन पाणिनीको धातिवाङ्ग स्थित कालिका मन्दिर माईकास्थान, पटौटी सहित एकादशीको दिन सन्धिखर्क, द्वादशीको दिन शितगंगा नगरपालिकाको ठाडा दह, भुमिकास्थान नगरपालिकाको ढिकुरा, त्रयोदशीको दिन सन्धिखर्क नगरपालिकाको खाँचीकोट, भुमिकास्थान नगरपालिका नुवाकोटको ताराखसे, भुमिकास्थानकै पाकु, पाणिनी गाउँपालिकाको मैदान मालिका, चतुर्दशीको दिन मालारानी गाउँपालिकाको हंसपुर राँगामारे, पूर्णिमाको दिन पाणिनीको मैदान स्थित आलामदेवी मन्दिर, खिदिम स्थित मालिकादेवी मन्दिर, अडगुरीको मालिका मन्दिर, सन्धिखर्कको अर्घादरबार, भुमिकास्थानको सुवर्णखाल लगाएतका ठाउँमा नाचिने गरिन्छ।

पुर्णिमाको दिन नाचिने सराएँ नाच, पूर्णिमा मेला सहित फूलपाती विसर्जन गरेपछि यस वर्षको दसैँ समापन हुने धर्मविद पण्डीत चन्द्रमणि घिमिरेले बताए । तरबार, खुँडा, खुकुरी लगायतका हतियार लिएर पञ्चेबाजाको तालमा नाचिने यस नाचमा देवीहरुको प्रतीक आलमलाई समेत लिएर नाच्ने गरिन्छ। हथियार प्रदर्शन सहित नाचिने यो नाचले देवी खुसी हुने जनविश्वास छ ।

अर्घाखाँचीबाट बसाइसराइ गरी रुपन्देही र कपिलवस्तु गएकाहरुले पनि सराएँ नाच निकाल्ने गर्दछन् । अर्घाखाँचीको विभिन्न क्षेत्रबाट बसाई सरेर गएका बासिन्दाले सराएँ नाचको विस्तार गरिरहेका छन्। पाणिनीको धातिवाङ्गबाट कपिलवस्तुको मुर्मीमा बस्ने कुशमाखर पौडेलले कपिलवस्तुमा पनि सराएँ नाचको विस्तार सँगै द्वादशीको दिन नाचँ भएको बताए ।
सराएँ नाच अर्घाखाँची आसपासका जिल्लामा बढी प्रचलित छ । किम्बदन्ती अनुसार देवीले राक्षस महिषासुर र शुम्भको बध गरेको खुसीयालीमा सराएँ नाच्न थालिएको हो।

खाँचीकोट दरबारका राजा दलजित शाहकी छोरी चन्द्र प्रभावतीको गोरखाका राजा नरभूपाल शाहसँग विवाह भएको थियो । त्यसबेलादेखि खाँचीकोट दरबारलाई विशेष महत्वको रुपमा हेर्न थालिएको थियो । चन्द्रावतीले माइतीघरमा आएका पृथ्वीनारायण शाहलाई राजकीय विधि, शासन पद्धति, हतियार सञ्चालन र एकीकरणसम्बन्धी शिक्षा दिएपछि नेपालको एकीकरण भएको मान्यता रहेको स्थानीय समाजसेवी प्रीतम थापाले बताए । यसैका कारण खाँचीकोट दरबारलाई महत्वको रुपमा लिइने र त्रयोदशीका दिन सराएँ नाच विशेष हुने उनले बताए ।

दानवसँगको लडाइँमा भगवतीले जितेको उपलक्ष्यमा विजयोत्सव स्वरूप सराएँ जात्रा गरिँदै आइएको छ। अर्घाखाँचीको अर्घादरबारमा यस क्षेत्रकै ऐतिहासिक सराएँ जात्रा नै लाग्छ । यहाँ पूर्णिमाको दिन सराएँ नाच हुन्छ । अर्घा भगवती मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सरोज भुसालका अनुसार सराय नाचको छुट्टै महत्व र इतिहास रहेको छ।

कोतहरूमा पशुबली पनि दिने गरिन्छ । सराएँ नाच्न कहिले देखी सुरु गरियो भन्ने यकिन नभए पनी सयौं वर्षदेखि देवीलाई खुसी पार्न यो नाच नाच्ने प्रचलन रहिआएको र आफूहरूले परम्परालाई पच्छाएको सरोकावालाहरुको भनाई छ ।
कोजाग्रत पूर्णिमामा सराएँ विसर्जन गरेपछि औपचारिक रुपमा दसैँ सकिएको मान्यता रहँदै आएको छ । यसवर्षको कोजाग्रत पुर्णिमाको मेला अर्घाखाँचीमा मंगलबार लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img