अर्घाखाँची, २४ बैशाख । अर्घाखाँचीको पाणिनी गाउँपालिका–६ धातिबाङमा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट ३ सयभन्दा बढी स्थानीयले प्रत्यक्ष लाभ लिएका छन्। वैशाख २० गते सम्पन्न शिविरमा ३१८ जना सेवाग्राहीले स्वास्थ्य परीक्षणसँगै आवश्यक औषधि निःशुल्क प्राप्त गरेका हुन्।
धातिबाङ रूपन्देही सम्पर्क समाजको पहल, वडा कार्यालयको सहकार्य तथा इलाइट हेल्थ क्लिनिकको प्राविधिक सहयोगमा सम्पन्न शिविरमा विशेषज्ञ चिकित्सकको टोली गाउँमै पुगेर सेवा दिएको थियो। शिविरमा सामान्य चेकजाँचदेखि हाडजोर्नी, नसासम्बन्धी लगायत विभिन्न रोगहरूको परीक्षण गरी आवश्यक परामर्श र औषधि वितरण गरिएको थियो।
कार्यक्रमका क्रममा करिब ५० जनाको ईसीजी परीक्षण तथा १५० जनाको रक्तचिनी (सुगर) परीक्षण गरिएको आयोजकले जनाएको छ। डा. चन्द्र घिमिरे, डा. सन्तोष भट्टराई र डा. केदार दफालसहितको चिकित्सक टोलीले सेवा प्रदान गरेको थियो।
वडाध्यक्ष कृष्णप्रसाद पौडेलले ग्रामीण क्षेत्रमा यस्ता शिविरले स्वास्थ्य पहुँच सहज बनाउने बताए भने समाजका अध्यक्ष गङ्गा पौडेलले सामाजिक सेवामा निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
त्यस्तै, उपाध्यक्ष हरिप्रसाद घिमिरेले सहयोगी सबैप्रति धन्यवाद ज्ञापन गर्दै स्वास्थ्य सचेतना अभिवृद्धिमा यस्ता कार्यक्रम आवश्यक रहेको उल्लेख गरे। सचिव शंकर पाण्डेले समुदायको सक्रिय सहभागिताले कार्यक्रम सफल बनेको बताए।
क्लिनिकका सञ्चालक कुँवरले गाउँमै विशेषज्ञ सेवा दिन पाउँदा सन्तोष व्यक्त गर्दै ग्रामीण भेगका नागरिकलाई सामान्य उपचारका लागि टाढा धाउनुपर्ने बाध्यता घटाउन यस्ता पहल प्रभावकारी हुने बताए।
शिविरबाट लाभान्वित स्थानीयले गाउँमै गुणस्तरीय सेवा पाउँदा सहज र उपयोगी भएको प्रतिक्रिया दिएका छन्। आयोजकका अनुसार यस्ता कार्यक्रमले ग्रामीण स्वास्थ्य पहुँच विस्तार गर्दै सामाजिक उत्तरदायित्वको सशक्त उदाहरण प्रस्तुत गर्ने गरेका छन्।














