
- अर्घाखाँचीको छत्रदेव गाउँपालिकाको प्रशासकीय भवन ६ वर्षको ढिलाइपछि बल्ल निर्माण सम्पन्न भएको छ।
- ठेकेदारको लापरबाहीका कारण पटक-पटक म्याद थपिए पनि हाल नयाँ भवनबाट औपचारिक सेवा प्रवाह सुरु भएको छ।
- भवन सञ्चालनमा आएसँगै नागरिकलाई छिटो, छरितो र प्रभावकारी सेवा दिने लक्ष्य गाउँपालिकाले राखेको छ।
घनश्याम पौडेल
अर्घाखाँची, ५ भदौ । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकाको प्रशासकिय भवन ६ वर्षमा बनेको छ । सम्झौता गरेको शिवको भुसाल बस्नेत जेवी काठमाडौँले समयमा काम नगरी ६ पटक म्याद थपेर भवन बनाएको छ ।
२०७७ असौँज ३० गते सम्झौता भएको ठेक्का २०७९ जेठ २ गते सम्पन्न गर्नुपर्ने अन्तिम मिती रहेको थियो । तर ठेकेदार कम्पनीको लापारवाहीका कारण भवन निमार्णमा ढिलाई भएको हो । ५ करोड ३० लाख ४६ हजार ४ सय १४ रुपैँयामा सम्झौता गरेको उक्त प्रशासकिय भवनको लागत अनुमान ७ करोड रहेको गाउँपालिकाका प्रवक्ता कमल पौडेलले जानकारी दिए।
भवन निमार्ण सम्पन्न भएपछि नवनिर्मित प्रशासकीय भवनबाट औपचारिक रूपमा सेवा प्रवाह सुरु गरेको छ। आधुनिक तथा व्यवस्थित भवन निर्माण सम्पन्न भएपछि गाउँपालिकाले नयाँ भवनबाट नियमित प्रशासनिक कामकाज सञ्चालनमा ल्याएको हो। गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठले एक समारोहबीच नवनिर्मित प्रशासकीय भवनको विधिवत् समुद्घाटन गर्दै नयाँ भवनबाट सेवा प्रवाहको शुभारम्भ गरे।
आफ्नै प्रशासकीय भवनबाट सेवा सुरु भएसँगै छत्रदेवको स्थानीय शासन प्रणाली थप व्यवस्थित र नागरिकमैत्री बन्ने अपेक्षा गरिएको छ।
अध्यक्ष श्रेष्ठले भन्छन् ‘नयाँ प्रशासकीय भवन गाउँपालिकाको संस्थागत विकाससँगै नागरिकलाई प्रभावकारी सेवा प्रवाह गर्ने महत्वपूर्ण पूर्वाधार भएको बताए ।’ उनले भवन निर्माण हुनु मात्रै उपलब्धि नभएको उल्लेख गर्दै त्यस भवनबाट नागरिकले छिटो, सरल, पारदर्शी र गुणस्तरीय सेवा पाउनु नै वास्तविक उपलब्धि भएको बताए । यसअघि पर्याप्त भौतिक पूर्वाधारको अभावमा सेवा प्रवाहमा देखिने समस्या तथा असहजता कम हुने र सेवाग्राहीले पनि सहज वातावरणमा सेवा लिन पाउने गाउँपालिकाको विश्वास छ।
प्रमुख प्रशासकीय अधिकृत बासुदेव खनालले नयाँ भवनबाट सेवा प्रवाह सुरु भएसँगै कार्यालयका प्रशासनिक गतिविधिलाई थप चुस्त, व्यवस्थित र सेवामुखी बनाउने प्रतिबद्धता व्यक्त गरे।’ सेवाग्राहीलाई अनावश्यक झन्झट नदिई प्रचलित कानुनअनुसार छिटो र प्रभावकारी सेवा उपलब्ध गराउन कर्मचारी जिम्मेवार भएर काम गर्नुपर्ने उनको भनाइ थियो। ४ वर्ष अगाडी नै सम्पन्न हुनुपर्ने भवन ढिला भएर सम्पन्न भएतापनि अब सेवाग्राहीलाई सेवा दिन प्रयाप्त हुनेछ । छत्रदेव गाउँपालिकामा ८ वडा रहेका छन् ।















