
- राष्ट्रिय महिला ज्योतिष संघको १६औँ वार्षिक साधारण सभा सम्पन्न भयो।
- रतिदेवी जोशी श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भयो।
- अधिवेशनले महिला ज्योतिषहरूको क्षमता विकास र ज्योतिष शास्त्रको प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ।
शिवलाल पौडेल, काठमाडौं । राष्ट्रिय महिला ज्योतिष संघको १६औँ वार्षिक साधारण सभा तथा अधिवेशन २०८३ सम्पन्न भएको छ। अधिवेशनले रतिदेवी जोशी श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ।
अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा फुलमाया शर्मा न्यौपाने, उपाध्यक्षमा इन्दिरा गौतम, महासचिवमा सुधा भट्टराई बास्कोटा, सहसचिवमा मेनुका जोशी र कोषाध्यक्षमा सीतादेवी शर्मा निर्वाचित हुनुभएको छ।
त्यसैगरी सदस्यहरूमा सरिता लावती, रश्मी कार्की खड्का, डम्बरकुमारी (माया) काफ्ले र सुष्मा रिजाल रेग्मी निर्वाचित हुनुभएको छ।
कार्यक्रमका प्रमुख अतिथि विश्व ज्योतिष महासंघका अध्यक्ष डा.लोकराज पौडेल रहनुभएको थियो भने सभाको सभापतित्व नवनिर्वाचित अध्यक्ष रतिदेवी जोशी श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन फुलमाया शर्मा न्यौपानेले गर्नुभएको थियो।
महिला ज्योतिषहरूको क्षमता, दक्षता तथा नेतृत्व विकास गर्नुका साथै ज्योतिष शास्त्रको अध्ययन, अनुसन्धान र यसको सकारात्मक प्रचारप्रसारलाई संस्थागत रूपमा अघि बढाउने उद्देश्यले संघले विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ।
अधिवेशनले महिला ज्योतिषहरूको व्यावसायिक दक्षता अभिवृद्धि, आपसी एकता र सहकार्यलाई थप सुदृढ बनाउँदै ज्योतिष विद्याको संरक्षण, अनुसन्धान तथा प्रवर्द्धनमा नयाँ कार्यसमितिले प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेको छ।
कार्यक्रमको उद्घाटन सत्रमा दक्षिण एसियाली ज्योतिष महासंघका अध्यक्ष डा.सहदेव विष्ट, सभापति आचार्य लक्ष्मण पन्थी, उपाध्यक्ष भरतमणि ज्ञवाली, सरस्वती श्रेष्ठ, महासचिव रविन पङ्गेनी, नेपाल ज्योतिष परिषद् केन्द्रीय समितिका सचिव आचार्य लक्ष्मण पन्थी लगायतको उपस्थिति रहेको थियो ।
नवनिर्वाचित कार्यसमितिले संस्थाको गरिमा र पहिचानलाई थप उचाइमा पुर्याउँदै महिला ज्योतिषहरूको क्षमता र नेतृत्वलाई राष्ट्रियस्तरमा स्थापित गर्न योगदान गर्ने अपेक्षा गरिएको छ ।















