काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप पौडेल नेतृत्वको टोलीले भूकम्पबाट प्रभावित जाजरकोटमा अस्थायी आवास निर्माणको कार्य थालनी गरेको छ । पार्टीको निर्णयअनुसार पौडेल नेतृत्वको एक टोली पुगेर नलगाड नगरपालिका वडा नम्बर ५ स्थित रघुनाथ टोलमा मंगलबारदेखि अस्थायी टहरा निर्माणको काम थालेको महासमिति सदस्य सुशिल भट्टले जानकारी दिए ।
उनका अनुसार टोलीले करिब १०० स्थानीयको अस्थायी आवास निर्माणमा सहयोग गर्ने लक्ष्य लिएको छ । १५० जनाको टोलीले क्षतिग्रस्त भएका घरहरुको भग्नावशेष पन्छाउन पनि सहयोग गर्नेछ ।
टोलीमा नेता पौडेलसहित दिल्लीराम सुवेदी, दीपकबाबु कडेल, भागवत् रेग्मी, सुशील भट्टलगायतका नेता कार्यकर्ता रहेका छन् ।
जसअनुसार कांग्रेसले इन्जिनियर, डकर्मीसहित २५ वटा टोली भूकम्प प्रभावित क्षेत्रमा टहरा बनाउन परिचालन गर्ने निर्णय गरेको थियो । उक्त निर्णयलगत्तै पौडेल नेतृत्वको पहिलो टोली भूकम्प प्रभावित क्षेत्रतिर गएको हो ।
पौडेल नेतृत्वको टोली नलगाड नरगपालिका ४ र ५ नम्बर वडामा खटिनेछ । टोलीमा नेपालगन्ज र सुर्खेतबाट ३५ जना सिकर्मी–डकर्मी, ५–६ जना इन्जिनियर समेत लगिएको सुवेधीले जानकारी दिए ।