घनश्याम पौडेल
अर्घाखाँची, १ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सन्धिखर्कमा आएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज अर्घाखाँचीको टुडिखेलमा पर्यटन प्रवर्द्धन कार्यक्रमको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।
नेपाल पत्रकार महासंघ अर्घाखाँचीले आयोजना गरेको कार्यक्रम उद्घाटन गर्नका लागी अर्घाखाँची आएका प्रचण्ड अर्घाखाँचीमा करिब ३ घण्टासम्म रहने पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष अशोक खनालले बताए ।
अर्घाखाँचीको आर्थिक विकास, पर्यटन, प्रवर्द्धन तथा स्थानीय रोजगारीका लागि पर्यटन प्रवर्द्धन कार्यक्रम भन्ने मुल नाराका आयोजना हुन थालेको कार्यक्रम सन्धिखर्क टुडिखेलमा सुरु भएको छ ।
प्रधानमन्त्रीले कार्यक्रमको उद्घाटन पछि सन्धिखर्क टुडिखेलमा हुने कार्यक्रमलाई सम्बोधन गर्नेछन् । त्यसपछी माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले पार्टीको प्रशिक्षणलाई करिब ४५ मिनेट सम्बोधन गर्ने कार्यक्रम रहेको माओवादी केन्द्र अर्घाखाँचीले जनाएको छ । लगत्तै प्रधानमन्त्री प्रचण्ड काठमाडौँ फर्किनेछन् ।
गौतमबुद्धको जन्मस्थल लुम्बिनी क्षेत्रमा आएका पर्यटकलाई सुपादेउराली ल्याउने र सुपादेउराली आएका पर्यटकलाई जिल्लाका अन्य सबै धार्मिक पर्यटकिय गन्तव्यसम्म पु¥याउन कार्यक्रमले सहयोग पुग्न अपेक्षा छ ।
अर्घाखाँचीमा सुपादेउराली मन्दिर, पाकिस्तानबाट आएर पाणीनि ऋषिले तपस्या गरेको तथा व्याकरणको प्रतिपादन गरेको पाणिनि तपोभूमि, बाईसे–चौबिसे राज्यको अर्घा दरबार, एसियाकै सबैभन्दा ठुलो भगवती देवीको मुर्ती, खाँची दरबार, जंगबहादुर राणा जन्मिएको लामपाटी पौवा, जंगबहादुरको न्वारन भएको स्थान बलकोट पौवा, मालारानी मन्दिर यहाँका ऐतिहासिक क्षेत्र हुन्।
भूमिकास्थानको भुमे मन्दिर, सेङलेङ दह, सिद्धगुफा, मालारानी गाउँपालिकाको नृसिंह थान, जालकाँडा लेक, छत्रदेव गाउँपालिकाको छत्रेश्वर महाराजको मन्दिर, आकाशेदेवीको तेह्रतले मन्दिर, पाणीनि गाउँपालिकाको दुर्वासेश्वर गुफा, सिद्वेश्वर गुफा ढुङ्ढुङ्गे धातिवाङ्ग, शीतगंगाको डम्मरु दह, पतञ्जलीको उत्पत्तिस्थल, जिल्लाको एक मात्र गोही पाइने स्थान बराह दह, सन्धिखर्क नगरपालिकाको रक गार्डेन, स्फटिक शिवलिंग रहेको सिद्धेश्वर शिवालय, मथुराको कृष्ण मन्दिरलगायत दर्जनौं धार्मिक पर्यटकिय स्थल छन् ।