बुटवल । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले राष्ट्रियसभा निर्वाचनको समयमा कोशी प्रदेशमा भएको भोट क्रसिङले सिंगो देशको राजनिति नै तरंगित भएको बताउँदै त्यो त्रुटीलाई सच्चाउँदै गठबन्धन बलियो बनाउनुपर्नेमा जोड दिईन ।
रिपोर्टर्स क्लव नेपाल,लुम्बिनी प्रदेशले बुटवलमा सम्पन्न साक्षात्कार कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य डा. संग्रौलाले गठबन्धन ईमान्दारीपूर्वक अगाडि नबढे मूलुकमा ठूलो संकट आउने संकेत गरिन् । गठबन्धन जुन उद्देश्य र भावनाले अगाडी बढेको छ त्यहि अनुरुप व्यवहारमा कार्यान्वयन गर्न समेत उनले दलहरुलाई आग्रह गरिन् ।
‘यतिबेला गठबन्धनको सरकार रहेको छ । गठबन्धनमा ईमान्दारीतापूर्ण काम नगरे संकटको अवस्था आउन सक्नेछ । – ‘उनले भनिन्,कोशी प्रदेशमा भएको क्रस भोटले गठबन्धनमा केही अन्यौलता सिर्जना गरेको छ । यसलाई दोहोरिन नदिने गरि काम गर्न जरुरी छ ।’
सबै वडामा एकैपटक कांग्रेस, समुदायमा जाऔं जनताका कुरा सुनौ अभियानको शिलशिलामा जिल्ला अभियानमा रहनुभएकी डा. संग्रौलाले देशको राजनितिक अवस्थालाई सहि मार्गमा ल्याउन कांग्रेसको बिकल्प नभएको बताउँदै जनतामाझ भएका गुनासो संबोधन गर्न पार्टिले अभियान चलाएको बताईन् ।
गठबन्धनको सरकारले सोचे अनुसारको काम गर्न नसकेको बताउँदै यो अवस्थामा पनि काम गर्न नसके जनताले छुट नदिने चेतावनी दिईन् । गठबन्धन सरकारको नेतृत्वले काम गर्न नसकी आलोचित बनिरहेको अवस्थामा कांग्रेस सरकारमा झुण्डीरहन आवश्यक नरहेको सुझाब दिईन् ।
उनले पार्टीलाई बलियो बनाउनको लागि अभियान प्रभावकारी रहने बताउँदै अब पार्टी गुट उपगुट भन्दापनि एक ढिक्का भएर अगाडि नबढे पार्टी कमजोर बन्ने ठोकुवा गरिन् ।
कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री बिक्रम खनालले कांग्रेसले अहिले सञ्चालन गरेको अभियान समयसापेक्ष रहेको उल्लेख गरे । यो अभियानपछि लुम्बिनी प्रदेश समितिले घरघरमा कांग्रेस अभियान लिएर जाने बताए ।
रिपोर्टर्स क्लव नेपाल,लुम्बिनी प्रदेश अध्यक्ष राम कुमार क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस प्रदेश सदस्य विष्णु पोख्रेल लगायतको सहभागिता रहेको थियो ।