अर्घाखाँची । जिल्लाको छत्रदेव गाउँपालिकाका निवर्तमान गाउँपालिका अध्यक्ष लेखनाथ पोख्रेलको नयाँ प्रशासकीय भवन निर्माण गरी बिदाई हुने चाहना थियो । पोख्रेल गाउँपालिकामा निर्वाचित भएर आउने गाउँपालिका अध्यक्ष, उपाध्यक्षलाई नयाँ प्रशासकीय भवनमा स्वागत गरी बिदाई हुन चाहान्थे । तर उनको सपना अपुरो नै भयो ।
उनको मात्र होइन २०७९ को वैशाखमा निर्वाचित गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठ पनि निर्वाचित भएर आएसँगै प्रशासकीय भवन सम्पन्न गराई नयाँमा प्रवेश गरी जनतालाई सहजता तवरले सेवा दिने चाहना थियो । तर उनीहरूको सोच पूरा हुन पाएको छैन । गाउँपालिकाको प्रशासकीय भवनको ठेक्का लिएका ठेकेदार पदमबहादुर भुसाल हुन् ।
शिवाको/भुसाल/बस्नेत जेभी सिनामंगल काठमाडौं कम्पनीले बिड गरेकोमा काम गर्नेगरी अख्तियारनामा भुसाल निर्माण सेवा, सन्धिखर्क अर्घाखाँचीले पाएको गाउँपालिकाका इन्जिनियर साजन पाण्डेले जानकारी दिए । २०७७ असार २४ गते ठेक्का आह्वान भई छिटो, गुणस्तरीय काम गर्ने भन्दै भुसाल निर्माण सेवा सन्धिखर्कले ठेक्का पाएको थियो ।
गाउँपालिकाले २०७७ साल असोज ३० गते दुई वर्षभित्र अर्थात २०७९ जेठ २५ गतेसम्ममा सम्पन्न गर्नेगरी सम्झौता गरेको थियो । ‘पाँच करोड ३० लाख रुपैयाँमा भ्याटसहित काम सम्पन्न गर्नेगरी ठेक्का लिए पनि भवनको निर्माणकार्य सुस्त गतिमा छ,’ इन्जिनियर साजन पाण्डेले भने । ठेक्का लिएर समयमै काम गर्छु भन्ने ठेकेदार पदम भुसाल अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–९ का वडाध्यक्ष पनि हुन् ।
निर्वाचन अगाडि नै काम सम्पन्न गर्नेगरी ठेक्का लिएका भुसाल वडाध्यक्ष भएको दुई वर्ष पुग्नै लागेको छ । विगत पाँच वर्षदेखि नै उनी काम नगर्ने ठेकेदारको सूचीमा जिल्लाभर परिचित छन् । उनले पाएजतिका ठेक्का आफैं लिने काम अलपत्र पार्ने गरेको गुनासो छ ।
ठेकेदारका कारण जनप्रतिनिधि र कर्मचारीले सजाय भोग्दै
ठेक्का लिएको निर्माण कम्पनीले काम नगर्दा गाउँपालिकाले तेस्रो पटक म्याद थप गरेको छ । ‘गाउँ कार्यपालिकाको बैठकबाट मिति २०८१ जेठ ३० गतेसम्ममा काम सम्पन्न गर्नेगरी म्याद थप गरेका छौं,’ गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठले भने, ‘काम सुस्त गतिमा छ, हामीहरूले दुस्ख पाएका छौं ।’
गल्ती ठेकेदारले गरेको छ, अघिल्ला जनप्रतिनिधि र हामीहरूले सजाय भोगिरहेका छौं, पटकपटक कार्यपालिकाबाट म्याद थप्यौं, तर काममा सन्तुष्ट छैनौं, श्रेष्ठले थपे, ‘कर्मचारीहरूलाई पनि काम गर्न भवन साँघुरो भएका कारण गाह्रो भएको छ, जनतालाई पनि सहजता भएन ।’ ‘प्रशासकीय भवन बनेर नयाँ भवनमा सर्ने लक्ष्य राखेका जनप्रतिनिधिले साँघुरो भवनबाटै सेवा दिएका छौं,’ प्रमुख प्रशासकिय अधिकृत भेषराज घिमिरेले भने, ‘भवन निर्माणको काम सुस्त गतिमा सञ्चालन भइरहेको छ ।’
अहिले अन्तिम पटकका लागि मौका भन्दै म्याद थप गरेका छौं, जेठ मसान्तसम्म काम नगरे एक दिन पनि म्याद थप हुँदैन, ठेक्का तोड्छौँ । काम समयमै सम्पन्न गरेमा रकम भुक्तानी गर्न रोक्दैनौं । ‘समयमै पैसा नपाएका कारण काम गर्न नसकेको गुनासो ठेकेदार पदमबहादुर भुसालको छ । काम गरेको बिलका आधारमा पैसा पाउनुपर्ने हुन्छ, अहिले पनि करिब ४० लाखको बिल बनिसेको छ, गाउँपालिकाले पैसा दिएको छैन,’ भुसालले भने, ‘असारदेखि पैसा पाएको छैन, असारमा नेटले काम नगरेका कारण पैसा पाउन सकिन, अहिले सोध्दा खातामा पैसा छैन भन्नुहुन्छ ।’
उनले भने, ‘बिलका आधारमा फटाफट रकम दिए काम सक्छु, सम्झौता भएको अन्तिम मितिसम्ममा काम सक्छु ।’
उनले छत्रदेवमात्र होइन शीतगंगा नगरपालिकाका योजना पनि पाँच वर्षदेखि अलपत्र पारेका छन् । शीतगंगाको ठाडामा निर्माण हुने अस्पताल, हिलेखोला–रजिया कालोपत्रे सडक, अमराई–सानादह सडक कालोपत्रे, डमरुदह क्षेत्रको सडक अलपत्र पारेका छन् ।
शीतगंगा नगरपालिकाले ठेकेदार भुसाललाई काम सम्पन्न गर्न वा ठेक्का रोक्न भन्दै कार्यालयलाई पत्र काटेको छ । प्रदेशअन्तर्गतका ठेक्का अलपत्र पारेकोले काम गर्ने सम्भावना नरहेको भन्दै ठेक्का रद्द गर्ने तयारी रहेको सहरी विकास तथा भवन कार्यालय भैरहवाले जनाएको छ । महालेखाले समेत जिल्लाका धेरै ठाउँमा ठेक्का लिएर काम नगरेका कारण विभिन्न ठेक्का अलपत्र पार्ने भुसाल निर्माण सेवालाई कालोसूचीमा राख्न सुझाव दिएको छ ।