अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर १ आँखा उपचार केन्द्रमा निःशुल्क आँखा परीक्षण तथा मोतियाबिन्दुको शल्यक्रिया शिविर आयोजना गरिएको छ । सोमबारबाट शुरु भएको शिविरमा पहिलो दिन ४३ जनाको शल्यक्रिया गरिएको छ भने १५० जना आँखाका बिरामीले आँखा जाँच गराएका छन् ।
शिविरमा पहिलो दिन १०८ जनामा मोतियाबिन्दुको समस्या देखापरेको नेत्रज्योति संघ अर्घाखाँचीका प्रमुख सागर घिमिरेले जानकारी दिए । एकै पटक यति धेरैमा मोतियाबिन्दु देखा पर्नाले अर्घाखाँचीमा मोतियाबिन्दुको भयावह स्थिति रहेको बुझिएको उनले बताए । घिमिरेले भने, “आँखा परीक्षण शिविरमा आएका करिब २२ प्रतिशतमा मोतियाबिन्दु देखा परेको छ । बढ्दो उमेर, आँखा स्वास्थ्यको बारेमा कम ज्ञान हुनु, उपचारका लागि आर्थिक अभाव, धुलो र धुवाँसँगै बिताउने जीवनशैली, बिरामीको अस्पतालसम्मको पहुँचमा कमी, वृद्धवृद्धाले उमेरसँगै स्वास्थ्यको ख्याल गर्न नसक्नु यसका प्रमुख कारण हुन् । दिगो विकास केन्द्र काठमाडौंको आर्थिक सहयोग, नेपाल नेत्रज्योति संघ जिल्ला शाखा अर्घाखाँचीको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो ।
शिविरको उद्घाटन गर्दै सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठले नगरपालिकामा शिविर राखेर जिल्लाभर रहेका आँखाका बिरामीलाई अन्यत्र उपचारका लागि जान नपर्ने गरी आँखा उपचार केन्द्रमा आँखा जाँच गर्ने व्यवस्थापन मिलाएकोमा आयोजकलाई धन्यवाद व्यक्त गर्दै यस्ता खालका शिविर वडाहरुमा पनि लैजान आग्रह गरे ।
ग्रामीण भेगमा आँखाको परीक्षण गर्न सर्वसाधारणले आनाकानी गर्दा मोतियाबिन्दुका बिरामी बढेका छन् । अहिले मोतियाबिन्दु देखिएका र उपचार गराउन नपाएका बिरामीलाई अर्को शिविर राखेर निःशुल्क शल्यक्रिया गरिने दिगो विकास केन्द्रका अध्यक्ष डा. जय बहादुर टन्डनले बताए ।
दुई दिनसम्म चल्ने शिविरमा एक सय जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिने तथा तीन सयभन्दा बढीको आखा जाँच गरिने दिगो विकास केन्द्रका उपाध्यक्ष डा. मुक्ति श्रेष्ठले बताए । विगत ३ वर्षदेखि समाजमा रहेका दृष्टीविहीन, असाहय गरिब तथा अशक्त आँखाका बिरामीहरुलाई दिगो विकास केन्द्र अर्घाखाँचीले निस्शुल्करुपमा सेवा प्रदान गर्दै आएको समेत डा. श्रेष्ठले बताए ।
शिविरको उदघाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल, केन्द्रका अध्यक्ष जय बहादुर टन्डन, उपाध्यक्ष डा. मुक्ति राम श्रेष्ठ, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु, जिल्ला समन्वय समितिका सदस्य लक्ष्मण कंडेल, सन्धिखर्क नगरपालिका वडा नं.१ का वडा अध्यक्ष माधव श्रेष्ठ, नेत्रज्योति संघ लुम्बिनी प्रदेश सदस्य नेत्र प्रसाद भुसाल, नेत्र विशेषज्ञ सुचन कुमार पुन, पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष अशोक खनाल तथा सञ्चारकर्मी सागर महतलगायतको उपस्थित रहेको थियो । कार्यक्रममा शिविर सञ्चालनमा सहयोग पुर्याउने व्यक्तित्वहरुलाई कदरपत्रद्वारा सम्मान गरिएको थियो ।
नेपाल नेत्रज्योति संघ जिल्ला शाखाका अध्यक्ष दलबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष लिलाराम गौतमको स्वागत मन्तव्य रहेको थियो भने शाखा प्रमुख सागर घिमिरेले कार्यक्रम सञ्चालन गरेका थिए ।