काठमाडौँ । नेपालमा आज पहिलोपटक ज्योतिष दिवस विविध कार्यक्रमहरु गरी देशैभरी मनाइएको छ ।
काठमाडौँमा नेपाल ज्योतिष परिषद्को आयोजना एवम् नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति, नेपाल संस्कृत विश्वद्यालय वाल्मीकि विद्यापीठ ज्योतिष विभाग, विश्व ज्योतिष महासंघ, दक्षिण एसियाली ज्योतिष महासंघ र राष्ट्रिय महिला ज्योतिष संघको सहआयोजनामा होटल पेन्सन वासनामा ज्योतिष दिवस समारोह सम्पन्न भएको छ । उक्त समारोहमा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा.श्रीकृष्ण अधिकारीले ज्योतिष दिवस र चैत्रशुक्ल प्रतिपदा एक विश्लेषण विषयक अवधारणा पत्र प्रस्तुत गर्दे ज्योतिष दिवसको लक्ष्य, चैत्रशुक्ल प्रतिपदा तिथिमा ज्योतिष दिवस मनाउनुको कारण, चैत्र शुक्ल प्रतिपदामा नै ज्योतिष दिवस मनाउनु पर्ने आधार, ज्योतिष दिवस मनाइनुको औचित्य, समस्या, चुनौती र समाधानका उपाय सहित स्पष्ट पार्नुभएको थियो ।
वाल्मीकि विद्यापीठका प्राचार्य प्राडा भागवत ढकालले ज्योतिषी क्षेत्रमा भित्रिएका विकृतिहरुको अन्त्य गर्नका लागि लाइसेन्सको व्यवस्था एवम् निगरानी हुनुपर्ने बताउँदै ज्योतिष दिवसलाई संयुक्त राष्ट्र संघमा समेत पुर्याई अन्तार्राष्ट्रिय ज्योतिष दिवस मनाउनका लागि भविष्यमा सफलता मिलोस् भन्दै शुभकामना व्यक्त गर्नुभयो ।
वाल्मीकि विद्यापीठ ज्योतिष विभागका अध्यक्ष प्राडा धनेश्वर नेपालले ज्योतिषशास्त्र ज्ञान र विज्ञानको भण्डार भएको भन्दै चैत्र शुक्ल प्रतिपदामा ज्योतिष दिवस मनाउनुको कारण स्पष्ट पार्दै ज्योतिषको प्रचारप्रसारका लागि सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा वाल्मीकि विद्यापीठका विद्यार्थी गणेश लम्साल, राष्ट्रिय महिला ज्योतिष संघका अध्यक्ष रतिदेवी जोशी श्रेष्ठ, नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेल, दक्षिण एसियाली ज्योतिष महासंघका अध्यक्ष डा सहदेव विष्ट, विश्व ज्योतिष महासंघका अध्यक्ष डा.लोकराज पौडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
उक्त कार्यक्रममा नेपाल ज्योतिष परिषद्ले प्राडा धनेश्वर नेपाललाई वरिष्ठ सल्लाहकारमा मनोनयन समेत गरेको थियो ।
कार्यक्रम नेपाल ज्योतिष परिषद्का अध्यक्ष माधवराज पाण्डेको अध्यक्षता, प्राडा धनेश्वर नेपालको स्वागत मन्तव्य एवम् आचार्य लक्ष्मण पन्थीको सन्चालनमा सम्पन्न भएको थियो ।
यस्तै नेपाल ज्योतिष परिषद् कोशी प्रदेश समितिले इटहरीमा, गण्डकी प्रदेश समितिले पोखरामा, लुम्बिनी प्रदेश समितिले बर्दियामा, कर्णाली प्रदेश समितिले सुर्खेतमा, सुदुरपश्चिम समितिले धनगढीमा तथा विभिन्न जिल्ला समितिहरुले विविध समारोह तथा रचनात्मक कार्य गरि भव्य रुपमा कार्यक्रम गरेको परिषद्का केन्द्रीय सदस्य शिवलाल पौडेलले जानकारी दिनुभयो ।
साथै अन्य ज्योतिषीय संस्थाका विभिन्न समितिहरुले समेत देशैभरी कार्यक्रमहरु गरि राष्ट्रिय रुपमा ज्योतिष दिवस मनाएका छन् ।।