बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले एमालेले नेतृत्व गर्न नपाएकाले मुलुक पछाडि परेको बताएका छन् ।नेकपा एमाले रुपन्देहीको १०औ जिल्ला अधिवेशनको बुधबार भैरहवामा उद्घाटन गर्दै पुर्वअर्थमन्त्री समेत रहेका पौडेलले एमालेले नेतृत्व गर्न पाए एक दशकमै मुलुकको कायापलट गर्ने दाबी गरे ।
संविधानले प्रदान गरेका आधारभूत र नैसर्गिक अधिकार समेत नागरिकले उपभोग गर्न नपाइरहेको अवस्था रहेको औंल्याउंदै उनले शिक्षा, स्वास्थ्य, रोजगारी, विभेद र असमानताको अन्त्य जस्ता मुद्दाको समाधान गर्न सके मात्रै राजनैतिक परिवर्तन सार्थक हुने बताए । ‘संविधानले प्रदान गरेको अधिकारलाई व्यवहारिक बनाउन एमालेले सरकारको नेतृत्व गर्ने गरी निर्णायक राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्न जरुरी छ’–पौडेलले भने–‘समाज बदल्ने र उत्पादनका क्षेत्रलाई सक्रिय बनाउने अभियानको नेतृत्व एमालेले मात्रै गर्न सक्छ र गरिरहेको छ ।’
संविधानको कार्यान्वयन गर्दै समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा र लक्ष्यलाई साकार पार्ने गरी अगाडि बढनु नै आजको आवश्यकता रहेको नेता पौडेलको भनाइ थियो । अधिवेशनको उद्घाटन समारोहमा पुर्व मन्त्री एवं पार्टी सचिवद्वय छविललाल विश्वकर्मा र पद्मा अर्याल,प्रदेशका पुर्व मुख्यमन्त्री लिला गिरी लगायतले सम्बोधन गरेका थिए ।अधिवेशन उद्घाटन गर्न पार्टी अध्यक्ष केपी शर्मा ओली आउने प्रचार गरिएपनि आएनन् । यसअघि ओलीको कार्यव्यस्तताको कारण अधिवेशन एक हप्ता पछाडि सारिएको थियो ।
दुई दिनसम्म चल्ने अधिवेशनले नयां नेतृत्व चयन गर्ने छ । अध्यक्ष पदमा हालका अध्यक्ष तेजेन्द्र केसी,सचिव यज्ञ गैरे र उपसचिवहरु चित्र कार्की र हितराज पन्थीको दावी छ ।