१ साउन २०८१, मङ्लबार
१ साउन २०८१, मङ्लबार
spot_img

संस्कृत विश्वविद्यालयलाई राजनीतिक क्रीडास्थल बनाइँदै

काठमाडौँ । विश्वकै संस्कृति अध्यायान केन्द्र बनाउने उद्देश्यकासाथ २०४३ सालमा स्थापना भएको नेपाल संस्कृत विश्वविद्यालयलाई वर्तमान पदाधिकारीबाटै राजनीतिक क्रीडास्थल बनाउन खोजिएको छ । अध्ययन संस्थानका जिम्मेवार व्यक्तिहरु भिसी, रेक्टर,  रजिस्टार र डिनले विश्व विद्यालयलाई संस्थागत गर्नेभन्दा पनि राजनीति अखडा बनाउन खोजेको भन्दै प्राध्यापक र विद्यार्थी संगठनहरुले आपत्ति जनाएका छन् । आवश्यक हुँदा हुँदै पनि करार रहेका कर्मचारी प्राध्यापक हटाउन खोजिएको भन्दै नेविसंघसहित विद्यार्थीहरुले संस्कृत विद्यालय दाङमा ताला लगाएका छन् ।

सेवा आयोगबाट पूर्ति हुनुपर्ने प्राध्यापक तथा कर्मचारीहरु पर्याप्त नभएको अवस्थामा अध्ययन संस्थानमा आवश्यक आंशिक र करारमा कार्यरत कर्मचारी, प्राध्यापक फेरबदलको विषयलाई लिएर विश्वविद्यालयको नेतृत्वबाट पटक पटक राजनीतिकरण गर्न खोजिएको नेविसंघ केन्द्रीय आर्युर्वेव विद्यापीठका सभापति डा वसन्त अधिकारीले बताए । संस्कृत शिक्षा,भाषा, साहित्य र प्रचीन बैदिक वाङ्मयलाई संरक्षण गर्ने प्राज्ञिक थलोमा विश्वविद्यालय नेतृत्वबाटै विकृति भित्र्याउने अभ्यासहरु भइरहेकाले त्यसको अन्त्यका लागी तालाबन्दी गर्नुपरेको उनको भनाई छ ।

दरबन्दी अनुसार आंशिक र करारमा रहेका आयुर्वेद र संकृतका प्राध्यापकहरुले विगत १३ वर्ष देखि काम गरिरहेको अवस्थामा नेतृत्वबाट उनीहरुलाई हटाएर आफ्नो राजनीतिक विचार निकटलाई राख्न खोजेपछि विद्यार्थी संगठनहरुले दाङस्थित संस्कृत विश्वविद्यालयमा ताला लगाएपछि नियमित पठन पाठन अवरुद्ध भएको छ । नेपाल संस्कृत विश्वविद्यालय प्राध्यापक सङ्घका अध्यक्ष प्रा.डा. मुकुन्दप्रसाद लामिछाने  उक्त समस्या समाधान गर्न विश्व विद्यालयका पदाधिकारीहरुले आवश्यक पहल गर्नुपर्ने बताए ।

विभिन्न विद्यापीठमा पठनपाठनका निम्ति आवश्यक आंशिक तथा करार सेवामा राखिएका शिक्षकहरूलाई उनीहरूको पेसा र व्यवसायमा बाधा नपुग्ने गरी स्थायी शिक्षकहरूको पदस्थापना गर्न विश्वविद्यालय नेतृत्वसँग पटक पटक ध्यानाकर्षण गराउँदा समेत नेतृत्वबाट जवरजस्त करार प्राध्यापकहरुलाई हटाउने प्रयास भइरहेको प्रति प्राध्यापक संघले आपत्ति जनाएको अध्यक्ष लामिछानेले हस्ताक्षेर गरेको विज्ञप्तिमा उल्लेख छ  । विश्वविद्यालयमा देखिएको असमझदारीले विद्यार्थीहरुको पठन पाठनमा समस्या आएकाले यो समस्या समाधानका लागी जिम्मेवारी बोकेका पदाधिकारीहरुले आन्दोलनरत पक्षसँग संवाद र वार्ताको माध्यमाबाट अघि बढ्नुपर्ने सङ्घका अध्यक्ष लामिछानेले सुझाव दिए ।

पटक पटक हुने गरेको यस्तो हर्कतले विश्वविद्यालयको गरिमामाथि प्रहार भइरहेको उनको भनाई छ । विश्वविद्यालयमा  सेवा आयोगबाट आएका नयाँ कर्मचारी र उपप्राध्यापक पोष्टीङ हुँदा नै विश्वविद्यालय व्यवस्थापनले विद्यार्थी नभएका विध्यापीठहरुमा बढी र प्राध्यापक नभएका तर विद्यार्थीको संख्या बढी भएकाहरुमा कम पठाउँदा समेत यो समस्या आएको उनको भनाई छ । आवश्यकताका आधारमा करार र आंशिकरुपमा कामको जिम्मेवारीसहित नियुक्त भएका प्राधपकलाई तत्काल फाल्ने र आफू निकटको व्यक्तिलाई पुनः नियुक्त गर्ने नेतृत्वको रणनीति रहेको विद्यार्थीहरुले आरोप लाएका छन् । अहिले आयुर्वेद र संस्कृत विद्यापीठमा ५३ जना जनशक्ति  सेवा मार्फत पदपूर्ति भएपनि करिब ५८ जना खाली छन् ।

सोही ठाउँमा करारमा काम गर्दै आएका व्यक्तिहरुलाई हटाउनुको औचित्य नरहेको नेविसंघ आयुर्वेद क्याम्पसका  पूर्वअध्यक्ष डा. केशव न्यौपानेले बताए । ‘क्याम्पस स्थापनाको १२ औ बर्ष भइसक्दा पनि मापदण्ड नपुराउनु पदाधिकारीको कमजोरी हो’, उनले भने–‘चिकित्सा शिक्षा आयोगको नियमानुसार आफ्नै शिक्षण अस्पताल र ६३ जना विज्ञ शिक्षक हुनुपर्नेमा २० जना मात्रै भएको स्थिति छ । अझै कार्यरत करार शिक्षकलाई हटाउन खोजी क्याम्पसबाट उत्पादन हुने आयुर्वेद जनशक्तिमाथि प्रश्न चिन्ह खडा गराउने र आम जनताको स्वास्थ्य सङ्ग सरोकार राख्ने विषयमा लापरबाही हुनु सामान्य कुरा होइन ।’ विश्व विद्यालयबाट समयमा नतिजा प्रकाशन नहुनु, शैक्षिक क्यालेन्डर नबानाउनु, उत्तरपुस्तिका कोडिङ्ग डिकोडिङ्ग नगरी जाच्न पठाउनु, पाठ्यक्रम परिमार्जन गरी रिसर्च मेथोडोलोजी लगाएत बिषय समावेश नगरिदिनु, छात्राबास नबनाउनु र बर्षौदेखि विद्यार्थीका गुनासा नसुनी आफ्ना स्वार्थका मात्रै काम गरेकाले आक्रोशित बिद्यार्थीले कुलसचिव माधव अधिकारीको कुर्सी जलाउनुका साथै पुत्ला दहन समेत गरेको न्यौपानेले जानकारी दिए ।

नेविसंघ र अखिल क्रान्तिकारीसहित आन्दोलनरत विद्यार्थी संगठनले करार शिक्षकको अवधि थप हुनुपर्ने, चिकित्सा आयोगको न्यूनतम मापदण्डअनुसार तत्काल अस्पताल निर्माण गर्नुपर्ने, ओएन्डएम सर्भे गरी जनशक्ति नियुक्त गर्नुपर्ने लगायतका माग राख्दै गत असार २ मा कुलसचिव माधव अधिकारीको कुर्सी जलाउनुका साथै पुत्ला दहन गरेका थिए । त्यस्तै, छात्रवृत्तिमा अध्ययनरत विद्यार्थीलाई ‘इन्टर्न’ भत्ताको तत्काल व्यवस्था गर्नुपर्ने माग उनीहरूको छ। विभिन्न माग राख्दै आएका आयुर्वेदमा स्नातक (बिएएमएस) का विद्यार्थीले यसअघि राखेका आफूहरूको माग सुनुवाइ गर्न कुनै चासो नदिएको अखिल (क्रान्तिकारी) राष्टिय कमिटीका प्रमुख सचिव अभय प्रताप चौबेले बताए । मागहरु सुनुवाइ नभइर  आन्दोलनका थप कार्यक्रम गर्ने विद्यार्थीहरुले चेतावनी दिएका छन् ।

विश्वविद्यालयका भिसी प्राडा यादव प्रकाश लामिछानेले संस्कृत विश्वविद्यालयमा देखिएको समस्याका विषयमा सेवा आयोगबाट स्थायी नियुक्ति लिएर आएपछि करारलाई  स्वतः बिदा गर्नुपर्ने व्यवस्था अनुसार अघि बढेको बताए । ‘नेपाल सरकारले दरबन्दी दिएर अनुदान आयोगबाट निकासा आउने व्यवस्था भएको खण्डमा हामीले उहाँहरुलाई व्यवस्थापन गर्न सक्छौं’, उनले भने । तर, चिकित्सा शिक्षा आयोगले आयुर्वेद क्याम्पसका लागी ६३ जना विज्ञ शिक्षक आवश्यक रहेको बताएको छ । हाल स्थायी र करार गरी आयुर्वेद क्याम्पसमा १९ जना शिक्षक कार्यरत रहेको डिनको कार्यालयले जानकारी दिएको छ । संस्कृत विश्वविद्यालयका १५ वटा आंगिक विद्यापीठ मध्य ७ वटामा करार तथा आंशिक  शिक्षक सम्बन्धी समस्या रहेको छ । भिसी प्राडा यादव प्रसाद लामिछाने र रजिस्टार प्रा माधव अधिकारी एमाले निकटका विभिन्न संगठनमा सङ्गठित व्यक्ति हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
-Advertisement-spot_img
-Advertisement-spot_img
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img