काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले महामन्त्री एवं प्रवक्ता मुकुल ढकाललाई पदबाट निलम्बन गरेको छ । बुधबार बसेको केन्द्रीय समिति बैठकमा अमर्यादित र अनुशासनहीन व्यवहार प्रदर्शन गरेको भन्दै रास्वपाले उनलाई सात दिनका लागि निलम्बन गरेको हो ।
केन्द्रीय अनुशासन आयोगका प्रमुख भरतमणि देवकोटासँग परामर्श गरेर ढकाललाई सात दिनका लागि निलम्बन गरिएको सहप्रवक्ता मनिष झाले जानकारी दिए ।
झाका अनुसार केन्द्रीय समितिले सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीलाई कार्यवाहक महामन्त्री र सहप्रवक्ता झालाई कार्यवाहक प्रवक्ताको जिम्मेवारी समेत दिएको छ ।
साथै, ढकालको गतिविधिका सम्बन्धमा यथोचित कारबाहीको सिफारिस सहितको प्रतिवेदन केन्द्रीय समितिमा पेस गर्न केन्द्रीय अनुशासन आयोगलाई निर्देशन समेत दिइएको छ ।
पार्टी सभापति रवि लामिछाने, उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्ले, प्रमुख सचेतक सन्तोष परियार, सहप्रवक्ता मनीष झालगायत महामन्त्री ढकाललाई कारबाही गर्न एकमत भएपछि ढकाल कारबाहीमा परेका हुन् । महामन्त्रीको पदबाट एक हप्ताका लागि ढकाललाई निलम्बन गरिएको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । त्यसपछि के गर्ने भन्ने विषयमा अनुशासन आयोगले प्रतिवेदनसहित दिने सिफारिसका आधारमा थप निर्णय लिने केन्द्रीय समितिले तय गरेको छ ।