अविजित पन्थी
अर्घाखाँची, १ भदौ । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकालाई आगामी ३ वर्षमा पोषणमैत्री गाउँपालिका घोषणा गर्ने लक्ष्य लिईएको छ । शारीरिक तथा मानसिक वृद्धि र स्वस्थ जीवनको लागि उपयुक्त मात्रामा पोषणको आवश्यकता पर्दछ।
उपयुक्त मात्रामा पोषण तत्व पाउने हरेक मानिसको आधारभूत र नैसर्गिक हक पनि हो। नेपालका धेरै स्थानीय तहहरूले आफ्नो पालिकालाई पोषणमैत्री बनाउन आचरण र व्यवहारलाई प्रवर्धन गर्नका लागि परिरहेको छन्। त्यस्तै कृषि र पर्यटनमा नमुना भई चिनिएको अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकाले आगामी तीन वर्षभित्रमा गाउँपालिकालाई पूर्ण पोषण मैत्री घोषणा गर्ने नीति लिएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
पूर्ण पोषणमैत्रीका लागि निर्धारण गरिएका सूचकहरू सुनिश्चितता भएको कारण गत असार ३१ गते पाणिनी गाउँपालिकाले सुरुमा वडा नं. ६ मा रहेकोधातिवाङ्ग स्वास्थ्य चौकी अर्घाखाँचीकै पहिलो पूर्ण पोषण मैत्री स्वास्थ्य संस्था घोषणा भईसकेको छ । त्यसै अनुसार पालिकाले सो अभियानलाई तथा लक्ष्यलाई साकार पार्न गाउँपालिकाको चमेना गृहमा पत्रु खानारहित हुने गरी चमेना गृह सञ्चालन गर्न सम्झौता पनि गरिसकेको छ। पोषणसँग सम्बन्धित विद्यामान सकारात्मक व्यवहारको पहिचान र प्रोत्साहन गर्न अभियन्ता आदर्श व्यक्ति समूह तथा सामाजिक एवं सामुदायिक संस्थाहरुलाई समेत यस अभियानमा लाग्न र पूर्ण पोषणमैत्री पालिका बनाउन सबै बीच एक्यबद्धता हुन आवश्यक रहेको पालिकाले बताएको छ।
विभिन्न क्षेत्रहरूमा पोषणमैत्री विषय समावेश गरी तालिमहरू दिइने तथा स्थानीय खाद्य पदार्थमा पाइने पोषक तत्वको सम्बन्धमा सचेतना अभिवृद्धि समेत गरी पाणिनी गाउँपालिकाले आगामी तीन वर्षभित्र लिएको यस लक्ष्य सो समय अवधि अगाडि नै पूरा गर्न सकिने पनि गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रोमनाथ न्यौपानेले बताउँनुभयो ।
पाणिनी गाउँपालिकाले क्रमश विभिन्न पालिका भित्रका कार्यालय स्वास्थ्य संस्थाहरू विद्यालयहरूमा पत्रुखाना निरुत्साहित गरी पोषणयुक्त खाजा खान निर्देशन समेत गरेको छ। पालिकाले सञ्चालन गर्न लागेको चमेना गृहमा सर्वसुलभ दर रेटमा खाजाका परिकारहरू तयार पारिने भएको छ।