काठमाडौं । नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक संजाल टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको छ। बुधबार मन्त्री पृथ्वीसुब्बा गुरुङले टिकटकमा लगाइएको प्रतिबन्ध हटाउने निर्णय गरेका हुन्।
मन्त्रीस्तरमा भएको सो निर्णयलाई अब भोलि बिहीबार नियमित बस्ने मन्त्रपरिषद् बैठकमा पेस गर्ने सञ्चार मन्त्रालय स्रोतले जानकारी दिएको छ।
‘टिकट प्लेटफर्ममाथिको रोक हटाउन स्वीकृति दिने निर्णयमा आज मन्त्री गुरुङले हस्ताक्षर गरेर मन्त्रीपरिषद् बैठकका लागि पठाउनु भएको छ,’ स्रोतले भन्यो, ‘अब भोलिको बैठकले पारित गर्नेछ।’
बिहीबार निर्णय गरेसँगै देशभर प्रतिबन्धित भएको एप टिकटक सहज रुपमा चल्नेछ। क्याबिनेट निर्णयसँगै मन्त्रालयले दूरसञ्चार प्राधिकरणलाई टिकटकमाथिको प्रतिबन्ध हटाउन पत्र लेख्नेछ। लगत्तै, बिहीबारबाटै टिकटक चल्ने सञ्चार मन्त्रालय निकट स्रोतले जानकारी दियो।
गत असोज २७ गते नेपाली समाजको सामाजिक सद्भाव बिगारेको भन्दै पुस्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।