काठमाडौँ — सत्तारुढ कांग्रेसका महामन्त्री गगनकुमार थापाले चीनसँग विगतमा गरिएका सम्झौताहरू कार्यान्वयन गर्नुपर्ने कुरामा कांग्रेसले जोड दिँदै आएको बताएका छन् । उनले एमालेसँग साझा धारणा बनाएर नै नेपालमा बीआरआई परियोजना अघि बढाउने विषयमा समेत कांग्रेस सकारात्मक रहेको बताए । तर बीआरआई सम्झौता कार्यान्वयनअघि चीनसँग विगतमा गरिएका सम्झौताहरू कार्यान्वयन गर्नुपर्ने कुरामा आफूहरूको जोड रहेको उनको भनाइ छ ।
बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले चीनसँग सम्झौता गरिएको बीआरआई कार्यान्वयन सम्झौता गर्नुअघि विगतमा भएका सहमतिअनुसारका कार्यक्रम र योजनाहरू सम्पन्न हुनुपर्ने आफूहरूको अडान रहेको बताए । उनले सो सम्बन्धमा एमालेसँग मतभिन्नता भएको उल्लेख गर्दै त्यसलाई सम्हालेर अघि बढन आफूहरू सक्षम रहेको बताए ।
उनले भने,‘अहिले हामी बाहिर व्यापक चर्चा सुनिरहेका छौँ । केही समयपछि प्रधानमन्त्रीको चीन भ्रमण हुँदैछ । यो विषयलाई लिएर कांग्रेस, नेकपा एमाले बीचमा व्यापक रुपमा असहमति छ, व्यापक रुपमा मतभिन्नता छ । साथीहरू हुनुहुन्छ, ए ढल्यो, ढल्यो भनेर लेखिदिनुहुन्छ । सरकारमा बसिरहेको मान्छेलाई पनि ढल्ने हो कि भन्ने लागेको पाउँछु म । तर मलाई लाग्छ–हामीले यो क्षमता राख्न सक्नुपर्छ । हामीले संविधान बनाउने क्षमता राख्न सक्यौँ भने यस्ता विषयहरूमा पनि हाम्रा कतिपय विषयहरूमा भिन्न एप्रोचहरू छन् भने पनि यसलाई साझा बनाउने क्षमता हामीले राख्नुपर्दछ । हाम्रा केही कुराहरू साझा छन् । नेपालले अर्को देशसँग कस्तो सम्बन्ध राख्ने भन्नेकुरा संविधानले नै व्यवस्था गरेको छ । हाम्रा पार्टीका नीतिहरूले हामीलाई बाँधेको छ । राष्ट्रिय हितका विषयमा हामी लामो विरासत बोकेर आएका दलहरू हौं । हाम्रा आफ्ना सीमाहरू छन् । तर हामी यो पनि मान्दछौं कि हाम्रा प्राथमिकताहरू फरक हुन सक्दछन् ।’
उनले कांग्रेसले सबै देशसँग समान सम्बन्ध राख्न चाहेको भन्दै चीनसँगको हकमा पनि समान कुरा लागु गर्नेमा आफूहरू प्रतिबद्ध रहेको बताए । ‘कुनै पनि देशको सैन्य गठबन्धन नेपालको हितमा हुदैन । त्यसकारणले कुनै पनि देशको न छिमकी न परेको । हामी नेपालमा अपार पुँजी लिएर आउन चाहन्छौँ । हाम्रो विकासका लागि हाम्रो यति धेर आकांक्षा छ कि धेरै स्रोत, साधन चाहिएको छ । हामी ल्याउन चाहन्छौँ । तर आजको हाम्रो राष्ट्रिय क्षमतासँग म्याच गर्नुपर्दछ भन्ने हामी ठान्दछौं । हामीसँग आज कति पुँजी परिचालन गर्ने क्षमता छ ? त्यसअनुसार हामी सबै छिमेकीहरूसँग यो बेलामा सहकार्य गर्न चाहन्छौँ,’ उनले भने ।