काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मृत्युपछि मानवअंग दान गर्न चाहने दाताका परिवारलाई २ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेका छन्।
यसअघि मानवअंग दान गर्न चाहने त्यस्ता परिवारलाई एक लाख रुपैयाँ दिने गरिएको थियो। भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमार्फत एक लाख रुपैयाँ दिने गरिएकोमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दाताका परिवारलाई थप एक लाख दिने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्याले जनाएको छ ।
मन्त्री पौडेलको निर्णय कार्यान्वयनमा अर्थ मन्त्रालयले आन्तरिक स्रोतबाट व्यवस्थापन गर्ने गरी सहमति दिएको छ। मन्त्रालयको आन्तरिक स्रोतबाटै आवश्यक रकम व्यवस्थापन गर्ने गरी निर्णय गरिएको मन्त्री पौडेलले बताए। अंग दानमा सघाउने अस्पताललाई यसअघि दिने गरिएको ५० हजार रुपैयाँमा मन्त्रालयले २५ हजार रुपैयाँ थप गरेर ७५ हजार रुपैयाँ पुर्याएको छ।
मन्त्री पौडेल स्वयंलेसमेत यसअघि नै अंगदान गर्ने घोषणा गरिसकेका छन्। देशभर हरेक वर्ष मृगौला प्राप्तिका लागि एक हजार र कलेजो प्राप्तिका लागि ५५ जनाले मानव अंग प्रत्यारोपण केन्द्रमा नाम लेखाउने गरेका छन्।
विद्यमान कानूनी व्यवस्थाअनुसार जीवित रगतको नाता पर्ने बाहेकले अंगदान गर्न पाउँदैनन्। तर मृत्युपश्चात दान दिने गरी अंगदान गर्न पाउने व्यवस्था छ। मृत्यु भएको २४ घण्टाभित्र दिन सकिने अंग अरू जिवितलाई प्रत्यारोपण गर्न सकिन्छ।