गोपाल प्रसाद भट्टराई
अर्घाखाँची, २१ पुस । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा स्थापना भएको साथी बहुउद्देश्यीय सहकारी संस्था लि. ले चौथो वार्षिक साधारणसभा मनाएको छ । साधारणसभाको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरेले आर्थिक समृद्धि र उत्पादनसंग जोडिएका हरेक क्षेत्रलाई राज्यले सहयोग गर्नुपर्ने बताउनुभएको छ ।
वौद्धिक र जुझारु युवा उद्यमिको संयोजनले बनेको साथी साकोस अर्घाखाँचीको मात्र नभई लुम्बिनीकै एक अब्बल सहकारी भएको उहाँको तर्क छ । दर्जनौंलाई रोजगार दिंदै व्यवसायिक कृषि र उद्यमको विकासमा साथी बहुउद्देश्यीय सहकारीको भूमिका अहम रहेको भौतिक पूर्वाधार विकास समितिका सभापति समेत रहनुभएका लुम्बिनीका प्रदेश सांसद घिमिरेको भनाई छ ।
साथी बहुउदेश्यिय सहकारीको उद्योग र बिक्रि केन्द्र स्थापनामा आफ्नो पनि भूमिका रहेको भन्दै उहाँले आगामी दिनमा पनि यो सहकारी र उद्यम विकासको निम्ती सहयोग गर्ने प्रतिवद्वता जाहेर गर्नुभयो ।
कार्यक्रममा कृषि ज्ञान केन्द्र अर्घाखाँचीका प्रमुख बुद्धिराज घिमिरे, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख दुर्गा न्यौपाने, सन्धिखर्क–७ का वडाध्यक्ष चुरा बहादुर केसी, जिल्ला सहकारी संघका अध्यक्ष प्रकाश भुसाल, जिल्ला वचत तथा ऋण सहकारी संघका अध्यक्ष दोर्ण प्रसाद भुसाल, जिल्ला कृषि सहकारी संघका अध्यक्ष लक्ष्मण कंडेल, पत्रकार महासंघका अध्यक्ष गणेश खनाल र पत्रकार वीरेन्द्र केसी लगायतले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा बोल्दै उहाँहरुले कृषि तथा उद्यममा सफलता हाँसिल गर्न साथी सहकारीबाट सिक्नुपर्नेमा जोड दिनुभएको छ । कुनै समय व्यवसायमा सफलता हात पार्न सुचना र लगानी बलियो माध्यम भएको स्मरण गर्दै समय बदलिंदै जादा अहिले सहकार्य र समन्वय नै सफलताको पहिलो शुुत्र बनेको उहाँहरुको दाबी छ । सामुहिक उत्पादन र बजारीकरणले बाँझो जमिनको उपयोग, बसाइसराई नियन्त्रण र रोजगारसंगै आर्थिक समृद्धिको यात्रामा टेवा पुग्ने भन्दै उहाँहरुले प्रत्येक सहकारीले उत्पादनमा लगानी बढाउनुपर्नेमा जोड दिनुभएको छ । साथीले साधारणसभाको अवसरमा असल साथी सदस्य २ जना, असल साथी उद्यमी २ जना र असल साथी पत्रकार १ जना गरि ५ जनालाई सम्मान समेत गरेको छ । सोहि अवसरमा साथी बचत तथा रिण सहकारीमा स्थापित भोजपवित्रा अक्षयकोष मार्फत २ जना विद्यार्थिलाई समेत छात्रवृतिले सम्मान गरिएको साथी बहुउद्देश्यीय सहकारीका सचिव धर्मराज भुसालले जानकारी दिनुभएको छ ।
कार्यक्रममा सहकारीका अध्यक्ष कृष्ण प्रसाद भुसालले बार्षिक प्रगति प्रतिवेदन, प्रबन्धक रामु केसीले प्रगति प्रतिवेदन र लेखा सुपरिवेक्षण संयोजक लक्ष्मीनारायण चुँदालीले लेखा सुपरिवेक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको उपाध्यक्ष गोमा सापकोटा रेग्मीले बताउनुभएको छ ।
आर्थिक, सामाजिक र सांस्कृतिक उन्नतीको माधयमबाट आत्मनिर्भर र समृद्ध समुदाय निर्माण गर्ने परिकल्पनाको साथ २०७७ साल भाद्र १० गते स्थापना भएको यो सहकारीमा हाल ३ सय २७ जना शेयर सदस्य रहेका छन् । जिल्लामै पहिलोपटक बहुखाद्य वस्तुको खरिद,प्रशोधन,प्याकेजिङ्ग र बजारीकरण गर्न साथी उद्योग र विक्रि केन्द्र संचालनमा ल्याएको यो सहकारीले उत्पादनमा जोडिन चाहने शेयर सदस्यहरुलाई रोजगार प्रदान गर्ने अभियान चलाइरहेको छ ।
जिल्लाका विभिन्न क्षेत्रमा रहेका रैथाने खाद्यबालीको प्रबद्र्धन र उपयोग अन्तरगत अहिले सहकारीले कोदो, फापर, गहत, मह, घ्यू, चामल,तोरीको तेल जस्ता सामाग्रीको लभलिङ्ग गरि बजारिकरण गर्दै आइरहेको बताइएको छ ।