बुटवल । बुटवलमा प्रधान कार्यालय रहेको शाइन रेसुंगा डेभलपमेन्ट बैंकको अध्यक्षमा पुनः थानेश्वर पौडेल निर्वाचित हुनुभएको छ । बैंकको शुक्रबार सम्पन्न १६ औं वार्षिक साधारणसभाले संस्थापक सेयरधनीबाट थानेश्वर पौडेल, इन्जिनियर सुरज उप्रेती, व्यवसायी वीरेन्द्र भुसाल तथा सर्वसाधारण सेयरधनीबाट वीरेन्द्र विष्ट, नम्रता भण्डारी र डा. हिमाल भट्टराईलाई सञ्चालकमा निर्वाचित गरेको हो । स्वतन्त्र सञ्चालकमा प्राध्यापक गोपाल पाण्डे यसअघि नै निर्वाचित भएका थिए ।
सभापश्चात् बसेको सञ्चालक समितिको बैठकले बैंकको अध्यक्षमा पुनः थानेश्वर पौडेललाई निर्वाचित गरेको कम्पनी सचिव एवं प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले बताउँनुभयो ।
बैंकको सञ्चालक समितिमा डा. हिमाल भट्टराई र वीरेन्द्र भुसाल नयाँ र अन्य पुरानै अनुहार हुन् । नवनिर्वाचित अध्यक्ष पौडेलले बैंकले सहरी क्षेत्रसँगै ग्रामीण क्षेत्रमा समेत बैंकिङ पहुँच बढाउने उद्देश्यले पहाडी जिल्लामा प्राथमिकताका साथ शाखाहरू विस्तार गरेको र डिजिटल बैंकिङलाई थप प्राथमिकता दिएर अघि बढ्ने बताउँनुभयो ।
‘हामीले दुर्गम क्षेत्रको सेवालाई पहिलो प्राथमिकतामा राखेका छौं,’ प्रमुख कार्यकारी अधिकृत पौडेलले भन्नुभयो, ‘अबको सेवा डिजिटल बैंकिङ हो, भएकाले त्यसलाई बैंकले सदैव आत्मसात् गर्दै अघि बढिरहेको छ, आगामी दिनमा अझै उच्च महत्त्वका साथ आधुनिक र सुरक्षित प्रविधिमा ध्यान दिनेछौं ।’ बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुंगा लुम्बिनी प्रदेशको एक मात्र राष्ट्रियस्तरको विकास बैंक भएको बैंकको दावी रहेको छ ।