अर्घाखाँची । अर्घाखाँचीको पाणिनि गाउँपालिकामा सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ।
पाणिनि गाउँपालिकाको आयोजनामा गाउँपालिकास्तरीय सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो । पाणिनि गाउँपालिका वडा नं। ३ स्थित बरका रूख खेल मैदान, दुर्गाफाँटमा बिहिबारदेखि प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिताको उद्घाटन पाणिनि गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपानेले गरेका हुन । कार्यक्रम उद्घाटन गर्दै अध्यक्ष न्यौपानेले स्थानीय खेलाडीहरूको क्षमता अभिवृद्धि गर्न यस्ता प्रतियोगिताहरू आवश्यक रहेको बताए । उनले खेलकुदले शारीरिक तथा मानसिक विकाससँगै अनुशासन र एकताको भावना विकास गराउने उल्लेख गरे ।
कार्यक्रममा पालिकाको शिक्षा शाखा प्रमुख तेजबहादुर खनालले पालिकाका माध्यमिक स्तरका विद्यार्थीहरूले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने बताए । उनले तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिताका उत्कृष्ट खेलाडीले जिल्लास्तरीय प्रतियोगितामा भाग लिने बताए ।
प्रतियोगितामा गाउँपालिकाभित्रका सबै वडाका विद्यालयहरूले भाग लिएका छन् । विद्यालयस्तरीय खेलकुद प्रतियोगिताअन्तर्गत एथलेटिक्स, भलिबल लगायतका १२ विधाका २४ स्वर्णका लागि प्रतिस्पर्धा हुने छ । प्रतियोगिताका विजेताहरूलाई सम्मानपत्र, ट्रफी र अन्य पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा पालिकाभित्रका १३ विद्यालयका करिब ३ सय ५० विद्यार्थीले प्रतिस्पर्धा गर्ने खेल शिक्षक गोविन्द पौडेलले जानकारी दिए ।
प्रतियोगिता आगामी तीन दिनसम्म सञ्चालन हुनेछ। यस कार्यक्रमलाई खेलकुदमा स्थानीय प्रतिभाहरूको पहिचान र उनीहरूलाई प्रोत्साहन गर्ने उत्कृष्ट अवसरका रूपमा हेरिएको छ ।
उद्घाटन समारोहमा गाउँपालिका उपाध्यक्ष नर्मदा पौडेल, पुर्व गाउँपालिका अध्यक्ष अच्युत गौतम, पुर्वउपाध्यक्ष लक्ष्मी गौतम, निमित्त प्रमुख प्रशासकिय अधिकृत शेषकान्त घिमिरे जिल्ला समन्वय समिती सदस्य कमल घिमिरे, जिल्ला खेलकुद विकास समितीका अध्यक्ष विष्णु क्षेत्री, ३ नं. वडाका अध्यक्ष युवराज ज्ञवाली, सामुदायिक विद्यालय महासंघ पाणिनीका अध्यक्ष तुल्सी पौडेल, दुर्वावेश्वर माविका प्रअ रोकाकान्त बेल्वासे लगाएतले मन्तव्य राखेका थिए ।
पाणिनि गाउँपालिकाबाट एथलेटिक्स र खेलकुदको उज्ज्वल भविष्यको सम्भावना
स्थानीयस्तरमा यस्ता प्रतियोगिताहरू सञ्चालन गर्दा राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्न सकिने सम्भावना रहेको भन्दै सहभागीहरू उत्साहित देखिन्छन्। ग्रामीण भेगमा खेलकुद गतिविधि अभाव भएको परिस्थितिमा राष्ट्रपति रनिङ शिल्ड जस्तो पहलले नयाँ उर्जा थप्ने विश्वास गरिएको छ।