काठमाडौं । आज राजधानी काठमाडौंका विभिन्न स्थानमा गणतन्त्रवादी दल र राजावादी समर्थकहरुको छुट्टाछुट्टै प्रदर्शन हुँदैछ । गणतन्त्रवादीहरुले प्रदर्शनीमार्गमा र राजावादीहरुले तिनकुनेमा प्रदर्शन गर्दै छन् ।
गणतन्त्रवादीको नेतृत्व समाजवादी मोर्चा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपाले गरेका छन् । राजावादीहरुको नेतृत्व पूर्वपञ्च ८६ वर्षीय नवराज सुवेदीले गरेका छन् । तर आजको प्रदर्शनको ‘कमाण्डर’ भने मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तोकिएको छ ।

प्रदर्शनमा अप्रिय घटना हुन नदिन प्रहरीले विशेष सुरक्षा सतर्कता अपनाएको बताएको छ । आजको जुलुस र सभालाई दुवै पक्षले शक्ति प्रदर्शनको रुपमा लिएका छन् । त्यसैले सकेसम्म धेरै मानिस काठमाडौंमा उतार्ने उनीहरुको तयारी छ । त्यसैले उनीहरुले विभिन्न जिल्लाबाट बसमार्फत् आ–आफ्ना समर्थकहरु ओसारेका छन् । उनीहरु काठमाडौं आइसकेका छन् भने केही आउनेक्रममा छन् ।
गणतन्त्रवादी र राजावादीले प्रदर्शन गर्ने क्षेत्रमा बिहानैदेखि सवारी आवागमतमा समस्या देखिएको छ। सवारी सञ्चालन हुने कतिपय रुटहरु बन्द गरिएका छन्। जसका कारण सवारी आवागमनमा बिहानैदेखि समस्या सिर्जना हुँदा यात्रुले सास्ती पाएका छन्।














