वैशाख ६, काठमाडौँ । नेपाली कांग्रेस अर्घाखाँची काठमाडौँ सम्पर्क समितिको आयोजनामा नयाँबर्ष २०८२ को पावन अवसरमा शुभकामना आदानप्रदान एवम् भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेसका पुर्व महामन्त्री माननीय डा.शसांक कोइरालालेसबैले नकारात्मक कुरा मात्रै गरेको बताउँदै धर्म कहिल्यै निरपेक्षता नहुने बताउँदै धर्म सापेक्ष हुने बताउनुभयो । संविधानको रक्षासँगै कार्यान्वयनको निम्ति परिवर्तनकारी शक्तिहरू एकीकृत हुँदै अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याएका हुन् । कोइरालाले लामो सङ्घर्षबाट प्राप्त उपलब्धिको रक्षाको निम्ति राजनीतिक दलहरू एकजुट हुनुपर्नेमा जोड दिए । उनले भने, ‘अहिले गाउँ रित्तो भएको छ, युवाहरू विदेश पलायन भएका छन्, नेपालमा पनि धेरै सम्भावना छ, ऊर्जा, पर्यटन र कृषिमा पर्याप्त सम्भावना छ, त्यो सम्भावनालाई रोजगारीमा परिवर्तन गर्न सबै लाग्नुपर्छ ।’
कांग्रेस केन्द्रीय सदस्य मानबहादुर विश्वकर्माले पछिल्लो समयमा दलहरूप्रति आमजनताको निराशा बढ्दै गएको उल्लेख गर्दै दलहरू सच्चिने वेला आएको बताए । उनले भने, ‘चैत १५ गते राजावादी भन्नेहरूले तीनकुनेमा अशान्ति मच्चाए, गणतन्त्रलाई संस्थागत गर्नका लागि पूर्वराजाको सुविधा कटौती गर्दै लैजानुपर्छ, उनको सम्पत्ति छानबिन गर्नुपर्छ ।’ उनले लोकतन्त्रमा शान्तीपुर्ण आन्दोलनको मात्रै औचित्यता रहेको बताउँदै राजावादीहरुले गरेको आन्दोलन हिंसापुर्ण गरेकोले त्यो अक्षम्य भएको बताउनुभयो । उनले नेपालमा गणतन्त्रको रक्षाको लागि पुर्वराजा ज्ञानेन्द्रलाई नजरबन्द गरि राहदानी रद्द गरि गिरफ्तार समेत गर्नुपर्ने बताए ।
कांग्रेस केन्द्रीय सदस्य पुष्पा भुसाल गौतमले अरू शक्तिसँग भिड्नका लागि सबैभन्दा कांग्रेस पार्टी आफैँ साङ्गठानिक रुपमा बलियो हुनुपर्नेमा जोड दिइन् । ‘कांग्रेसले आफूलाई कमजोर बनाउन हुँदैन, वादविवाद गरेर होइन, एकीकृत हुँदै पार्टी सङ्गठनलाई बलियो बनाउनुपर्ने वेला आएको छ, कांग्रेसभित्रको एकता बलियो भएको खण्डमा मात्रै अरूसँग भिड्न सकिन्छ’, महिला विभाग प्रमुख भुसालले भनिन् ।
पुर्व केन्द्रीय सदस्य एवम् पुर्वमन्त्री रेवतीप्रसाद भुसालले राष्ट्र समृद्धि मात्र नभई आर्थिक, सामाजिक तथा आध्यात्मिक विकास पनि जरुरी रहेको बताउनुभयो । उहाँले देश सुधार्न पहिला आफै सुध्रन आवश्यक रहेको बताउँदै उद्यमशीलतामा जोडीदै सबैलाई आत्मनिर्भर भएर अघि बढ्न सुझाव दिनुभयो ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य लक्ष्मण पन्थीले नेपाली कांग्रेसलाई बलियो बनाउन सबैतहका नेता कार्यकर्ताहरू सक्रिय भएर लाग्नुपर्ने बताउँदै अधिवेशननको बेला पद पाउन मात्रै लाग्ने अघिपछि कांग्रेस नै बिर्सने कुराको अन्त्य हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा महासमिति सदस्य तथा स्थानीय तह समन्वय विभाग सचिव लेखनाथ पोखरेल, महाधिवेशन प्रतिनिधि सुर्यप्रसाद अधिकारी, ताराप्रसाद श्रेष्ठ, नेपाल विद्यार्थी संघ अर्घाखाँची काठमाडौँ सम्पर्क समितिका संस्थापक अध्यक्ष गोपाल पाण्डे, नेपाली काँग्रेस छत्रदेव काठमाडौँ सम्पर्क समितिका सभापति नारायण भट्टराई, नेपाल तरुण दलका केन्द्रीय सदस्य निराजन थापा, नेपाल महिला संघ अर्घाखाँची काठमाडौँ सम्पर्क समितिका सभापति शान्ता अर्याल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रम सम्पर्क समितिका सभापति डा मुक्तिराम श्रेष्ठको अध्यक्षता, उपसभापति सोभाखर पोखरेलको स्वागत मन्तव्य एवम् सचिव किरण पोखरेलको सहजीकरणमा सम्पन्न भएको हो ।