काठमाडौं, ९ बैशाख । तीन हप्तादेखि काठमाडौंमा जारी आन्दाेलनमा समर्थन जनाउन शितगंगाका नगरप्रमुख छविलाल पाैडेल काठमाडौंमा पुगेका छन् । आमशिक्षककाे माग र आन्दोलनप्रति समर्थन र ऐक्यबद्धता जाहेर गर्दै नगरप्रमुख पाैडेलले शिक्षकहरुकाे हकअधिकारबारे संघिय सरकारकाे ध्यानाकर्षण गराउँदै शिक्षकका माग सम्बाेधन गराउँन सरकारसमक्ष माग गरेका छन् ।
२०२८ सालको शिक्षा ऐन हालसम्म पनि कायम छ, गणतन्त्र प्राप्त भएको १५ वर्षसम्म शिक्षा ऐन बन्न नसक्नु दुर्भाग्य हाे, शिक्षकले उठाएको माग जायज छन्, सम्बाेधन सरकारले गर्नुपर्छ । यस्ताे अवस्थामा शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिनु दुर्भाग्य हाे, राजीनामाले समस्या समाधान हुँदैन । शिक्षककाे मागप्रति एमाले-काँग्रेस गठबन्धनको सरकारले अविलम्ब ध्यान दिएर पूरा गर्नेतिर काम गर्नुपर्छ ।
शिक्षकलाई न्याय दिएर यथाशीघ्र विद्यालय पठाउन सरकारले ढिला गर्नुहुँदैन, विद्यार्थी भर्ना, नतिजा प्रकाशन, कक्षा १२ काे परिक्षामा समस्या देखिएकाे छ, पाैडेलले आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै सरकारलाई ध्यानाकर्षण मन्त्रालयमा पुगेर पनि गराएका छन् ।