प्रेमनारायण आचार्य
अर्घाखाँची ३ जेठ । अर्घाखाँचीको सन्धिखर्क ६ नरपानीमा विशेषज्ञ सेवा सहितको निशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ ।
अर्घाखाँची नरपानी रुपन्देही सम्पर्क समाजको आयोजनामा सञ्चालन भएको निशुल्क स्वास्थ्य शिविरमा हाडजोर्नी तथा नशा रोग, विशेषज्ञ सेवा, महिला तथा प्रसुति रोग, मुटु रोग, तथा अन्य विभिन्न रोगको निुशल्क चेकजाँच र उपचार गरिएको थियो ।
साझा हस्पिटल प्रालि बुटवलको प्राविधिक सहयोग र साना किसान सहकारी सस्था लिमिटेडको सहआयोजनामा सञ्चालन भएको शिविरको सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले समुद्धाटन गर्नु भएको थियो । स्वास्थ्यनै प्रमुख सम्पत्ति भएकोले विशेषज्ञ सेवा सहितको शिविरमा उपचार गरेर फाइदा लिन सबैलाई आग्रह गर्नुभयोे ।
शिविरमा बरिस्ठ चिकित्सकहरु हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर लक्ष्मण शर्मा, फिजिसियन डाक्टर कृष्ण खनाल, नशा तथा मनोरोग विशेषज्ञ डा. अन्जील क्षेत्री, महिला तथा प्रसुति रोग विशेषज्ञ डाक्टर उमेश जैसवाल तथा डाक्टरहरु कुन्दन मरासिनी, जीवन थापा, हिमाल पन्थी, विष्णु गुरुंग लगायतको टिमले उपचार गरेको समाजका सचिव कृष्ण न्यौपानेले बताउनुभयो ।
शिविरको उद्घाटन समारोहमा सहायक प्रमुख जिल्ला अधिकारी झविलाल भट्टराई, सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसाल, साझा हस्पिटलका अध्यक्ष गोविन्द खनाल, बरिस्ठ डाक्टर लक्ष्मण शर्मा, वडा अध्यक्ष श्रीधर महत्रा, निवर्तमान अध्यक्ष कृष्णबहादुर आचार्य, समाजका उपाध्यक्ष शालिकराम रायमाझी, स्वास्थ्य शिविरका संयोजक महेश न्यौपाने लगायतले मन्तव्य राखेका थिए ।
शिविरमा सन्धिखर्क ६ नरपानी, ७ खाँचीकोट, पाणिनि गाउँपालिकाको अड्गुरी लगायतका झण्डै ४ सय बढी स्थानीयहरुले सेवा लिएका छन् । कार्यक्रम अर्घाखाँची नरपानी रुपन्देही सम्पर्क समाजका अध्यक्ष गोविन्द प्रसाद लम्सालको अध्यक्षता, सचिव कृष्णप्रसाद न्यौपानेको सञ्चालन र साना किसान कृषि सहकारी नरपानीका ब्यवस्थापक सरस्वती न्यौपानेको स्वागत मन्तव्य सम्पन्न भएको थियो ।
कार्यक्रममा ज्ञानराज न्यौपाने, लिलाराम गौतम, शेरबहादुर बिसी, साना किसानका अध्यक्ष सुमित्रा बिक, सन्धिखर्क नगरपालिकाका प्रमोद केसी, दिलिप केसी लगायतको उपस्थिति रहेको थियोे ।













